Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: एमाले पार्टीको र्यालीमा गएको भन्दै सिमरामा घर जलाइयो, भिडियो ।
तथ्य: भिडियो सिमराको होइन, विराटनगरस्थित कोइराला निवासमा २४ भदौ २०८२ मा भएको आगजनीको हो ।
आगलागीको एउटा दृश्य सामाजिक संजालमा फैलिरहेको छ । उक्त दृश्यसँगै नेकपा (एमाले)को र्यालीमा गएको भन्दै सिमरामा घर जलाइएको दाबी गरिएको छ ।
Genznepalipan नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा घरमा आगलागी भइरहेको दृश्य देख्न सकिन्छ । २० नोभेम्बर २०२५ मा पोस्ट गरिएको भिडियोको थमनेलमा लेखिएको छ- ‘एमाले पार्टीको र्यालीमा गएको भन्दै सिमरामा घर जलाइयो ।’
पोस्ट भएको चार दिनमै दाबीसहितको भिडियोमा १६ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा साढे तीन सयभन्दा बढी सेयर भएको सामग्रीलाई साढे चार लाखभन्दा बढी टिकटक प्रयोगर्ताले हेरिसकेका छन् ।

त्यसैगरी NNTAWelfare नामक युट्युब च्यानलमा पनि सोही दृश्य दाबी पोस्ट गरिएको छ । २० नोभेम्बरमा पोस्ट गरिएको दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिँदोक्रममा छ ।
के एमाले पार्टीको र्यालीमा गएको भन्दै सिमरामा घर जलाइयो सत्य हो त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
भिडियो र दाबीको जाँचका क्रममा हामीले सबैभन्दा पहिले बारा जिल्लास्थित सिमरा घटनाबारे जानकारी संकलन गर्यौँ । ३ मंसिर २०८२ मा आफ्ना नेताहरुलाई स्वागत गर्न भेला भएका एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द भएको थियो । झडपपछि स्थिति झनै तनावपूर्ण भयो ।
जेनजी युवाहरूको प्रदर्शन उग्र बन्दा उनीहरू र प्रहरीबीच झडपसमेत भयो । प्रदर्शनस्थलमा प्रहरी बस्न नसक्ने अवस्था उत्पन्न भएपछि बारा जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । त्यसको भोलिपल्ट (४ मंसिर २०८२) स्थिति नियन्त्रणबाहिर जाँदा प्रदर्शनकारीले प्रहरीलाई समेत आक्रमण गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै दुई राउन्ड हवाई फायर गरेर भीड नियन्त्रणमा ल्याउने प्रयास गर्यो ।
यही सन्दर्भमा घरमा आगलागी भइरहेको दृश्यसँगै ‘एमाले र्यालीमा गएको भन्दै सिमरामा घर जलाइएको’ दाबी सामाजिक संजालमा पोस्ट गरिएको देखियो । यही क्रममा हामीले ‘सिमरा घटना’ ‘घरमा आगलागी’ जस्ता वाक्यांशलाई जाँच गर्यौँ । प्रदर्शनका क्रममा जेनजी समूहले सिमरा विमानस्थलको गेट तोडफोड गरेका थिए त्यसपछिको प्रदर्शन उग्र बनेको सत्य हो तर कुनै पनि विश्वसनीय तथ्यले घर जलाइएको वा आगलागी भएको प्रमाणित गर्दैन ।
यसपछि हामीले दाबीसहित पोस्ट गरिएको भिडियोको जाँच सुरु गर्यौँ । यसका लागि विभिन्न वाक्यांश र भिडियोका विभिन्न फ्रेमहरुलाई गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ ।

जाँचको नतिजास्वरुप OnlineKhabar मा पोस्ट गरिएको भिडियो रिपोर्ट फेला पर्यो । १५ सेप्टेम्बर २०२५ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘ढल्यो राजनीतिक चेतनाको धरोहर कोइराला निवास ।’
यस भिडियो रिपोर्टको सुरुमै देखिने क्लिप र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको दृश्यबीच समानता देख्न सकिन्छ । वास्तवमा, २४ भदौ २०८२ मा जेनजी आन्दोलनको दोस्रो दिन विराटनगरस्थित कोइराला निवासमा पनि आगजनी गरिएको थियो ।
विराटनगरको अस्पतालचोकमा रहेको यस घरमा डा. शेखर कोइराला रहँदै आएका थिए । यस घरबाट मातृकाप्रसाद कोइराला, नेपालको प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक नेतृत्व गरेका नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमेत बसेको थिए ।
सोही कोइराला निवासमा आगलागी भएको दृश्य Barah Online Tv र KapuriNews लगायतका फेसबुक पेज, logsewa युट्युब च्यानलमा पोस्ट गरिएको देखिन्छ । फेला परेका भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको दृश्यमा समानता छ ।
फेला परेका तथ्यहरुले के प्रमाणित गर्छन् भने ‘एमाले पार्टीको र्यालीमा गएको भन्दै सिमरामा घर जलाइयो’ भन्दै पोस्ट गरिएको दाबी र दृश्यले भ्रामक सन्देश दिएको छ । पुरानो र फरक स्थानको दृश्यलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको देखियो ।
भिडियोसहित पोस्ट गरिएको ‘एमाले र्यालीमा गएको भन्दै सिमरामा घर जलाइयो’ भन्ने दाबीले भ्रामक सन्देश दिएको छ । दाबीसहित पोस्ट गरिएको भिडियो सिमराको होइन, विराटनगरस्थित कोइराला निवासमा २४ भदौ २०८२ मा भएको आगजनीसँग सम्बन्धित छ । उक्त दृश्यलाई विभिन्न संचार माध्यमले पोस्ट गरेका छन् । अर्कोतर्फ सिमरामा एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप, कर्फ्यु आदेश तथा प्रहरीद्वारा बल प्रयोग भएको तथ्य सही भए पनि घर जलाइएको सम्बन्धमा कुनै विश्वसनीय प्रमाण भेटिँदैन ।फरक स्थान र पुरानो घटनाको भिडियो प्रयोग गरी सिमराको वर्तमान घटनासँग जोडेर भ्रामक दाबी सामाजिक संजालमा फैलाइएको देखियो ।
भिडियो, OnlineKhabar
भिडियो, Barah Online Tv
भिडियो, KapuriNews
भिडियो, logsewa
कुनै शंकास्पद खबर वा सूचना प्रकाशित, खोज्नुहोस् वा अन्य सुझावको लागि सम्पर्क इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
December 22, 2025

Aakash Chhetri
October 12, 2025
Aakash Chhetri
September 16, 2025