Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: एनसेल प्रकरणको आलोचनापछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको दाबी ।
तथ्य: गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको र एनसेल प्रकारणको आलोचना भएको घटना फरक-फरक सन्दर्भसँग सम्बन्धित छन् ।
सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त भिडियोमा एनसेल प्रकरणको आलोचनापछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको दाबी गरिएको छ ।
Jhapali_mind नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उनकी छोरी गंगा दाहाल लगायत देखिने तस्बिर जोडिएको छ । साथै उक्त तस्बिरमा छेउकै बेडमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पल्टिरहेको देख्न सकिन्छ ।
प्रस्तुत भिडियो र तस्बिरको थमनेलमा एनसेल प्रकरणलाई जोडिएको छ । थमनेलमा लेखिएको छ- ‘एनसेल कान्डको आलोचनापछि गृहमन्त्री अस्पताल भर्ना ।’
केही दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिरहेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनु र एनसेल प्रकरणको आलोचना हुनुको सन्दर्भ एक आपसमा मेल खाएको छ कि छैन ? गृहमन्त्री श्रेष्ठ के कारणले अस्पताल भर्ना भएका हुन् त ? यही सन्दर्भको वास्तविकता पत्ता लगाउन हामीले जाँच गरेका छौँ ।
पछिल्लो समय नेपालमा एनसेल प्रकरणले चर्चा पाएको छ । कानुनी रूपमा पूर्वस्वीकृति नलिई एनसेलको सेयर स्वामित्व खरिद–बिक्री गरिएको प्रकरणमा ‘सेटिङ’ भएको केही उच्च पदस्थ व्यक्तिहरुले गरिरहेका छन् । अर्कोतर्फ नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियटालाई यस विषयमा स्पष्टीकरण सोधिसकेको छ र कागजपत्र मागेको छ ।
कान्तिपुर दैनिक संचार माध्यमका अनुसार नेपालको दूरसञ्चार नियामक र प्रत्यक्ष विदेशी लगानीसम्बन्धी सरोकार राख्ने कुनै पनि निकायलाई खबरै नगरी मंसिर १५ मा बेलायतको स्पेक्ट्रलाइट यूकेलाई आफ्नो हिस्सामा रहेको ८० प्रतिशत सेयर बेचेको घोषणा गरेको थियो ।
यस प्रकरणको छानविनका लागि मन्त्रिपरिषद् बैठकबाट यही मंसिर २१ (२०८०) गते एउटा समिति गठन गरिएको छ । टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठन भएको एनसेल प्रकरण छानविन समितिले आफ्नो काम समेत अघि बढाइसकेको छ । एनसेल प्रकरणसँग सम्बन्धित घटनाक्रमको यही सन्दर्भमा उल्लेखित दाबीसहितको सामग्री सामाजिक संजालमा फैलाइएको पाइयो ।
उक्त सामग्रीमा एनसेल प्रकरणको आलोचनापछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको दाबी गरिएको छ । तर, गृहमन्त्री श्रेष्ठ एनसेल प्रकरणका कारण अस्पताल भर्ना भएका होइनन् ।
यही मंसिर १९ (२०८०) गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ काठमाडौँको बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र भर्ना भएका थिए । सोही दिन गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको मुटुको धमनीको एन्जिओप्लास्टी गरिएको जानकारी दिइको थियो । गृहमन्त्रीलाई डा.अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरेका थिए ।
डेढ महिनाअघि अर्थात् असोज ३० मा चीन भ्रमणमा रहेका बेला छातीमा असहज महसुस भएपछि उनी त्यही अस्पताल भर्ना भएका थिए । त्यस क्रममा उनको मुटुको धमनीमा अवरोध पाइएपछि त्यसको शल्यक्रिया गरिएको थियो । पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा उनको ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्स’को शल्यक्रिया भएको थियो ।
मंसिर २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । यही क्रममा एउटा फोटो पनि सार्वजनिक गरिएको थियो ।
प्रस्तुत तस्बिरलाई जोडेर सामाजिक संजालमा एनसेल प्रकरणको आलोचनापछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको दाबी गरिएको छ । तर, यो दाबी कुनैपनि तथ्य प्रमाणहरुबाट पुष्टि हुन सकेन । अर्कोतर्फ हिमालखबरमा प्रकाशित सामग्री अनुसार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा जटिल समस्या देखिएको र एन्जियोप्लास्टी गरिएको जानकारी दिइएको छ ।
प्रस्तुत तथ्यहरुबाट के प्रष्ट हुन्छ भने एनसेल प्रकरणको आलोचनापछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको दाबी भ्रामक छ । किनकि दाबीसहितको सामग्रीमा जोडिएको तस्बिर र दाबी एक आपसमा मेल खाँदैनन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको र एनसेल प्रकारणको आलोचना भएको घटना फरक-फरक सन्दर्भसँग सम्बन्धित छन् । यसमा एनसेल प्रकरणको आलोचनापछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको दाबी भ्रामक छ ।
समाचार, ekantipur.com
समाचार, nepaltvonline
समाचार, nepaltvonline
समाचार, healthaawaj
समाचार, himalkhabar
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]