दाबी: प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एक-एक अर्ब रुपैयाँ घुस लिएको दाबी ।
तथ्य: एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एक-एक अर्ब रुपैयाँ घुस लिएको दाबी प्रमाणित भएको छैन ।
एनसेल प्रकरणका विषयमा सामाजिक संजालमा चर्चा परिचर्चा भइरहेकै छ । नेपालको दूरसञ्चार नियामक एवं प्रत्यक्ष विदेशी लगानीसम्बन्धी सरोकार राख्ने कुनै पनि निकायलाई जानकारी नै नदिई एनसेल आजियटाले मंसिर १५ मा ८० प्रतिशत सेयर बेचेको थियो । कानुनी रूपमा पूर्वस्वीकृति नलिई एनसेलको सेयर स्वामित्व खरिद–बिक्री गरिएको प्रकरणमा ‘सेटिङ’ भएको दाबी केही उच्च पदस्थ व्यक्तिहरुले गरिरहेका छन् ।
यही सन्दर्भमा एनसेल प्रकरणसँग सम्बन्धित केही दाबीसहितका सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एक-एक अर्ब रुपैयाँ घुस लिएको दाबी गरिएको एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ ।
Saru Magar 1010 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो सामग्रीमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको तस्बिर देख्न सकिन्छ । भिडियोमा पूर्वनायब महालेखापरीक्षक सुकदेव भट्टराई खत्रीको तस्बिरसमेत देख्न सकिन्छ । साथै भिडियोमा दाबीसहितको एउटा अडियो पनि सुन्न सकिन्छ ।

यही भिडियोको थमनेलमा लेखिएको छ- ‘NCELL काण्डमा भष्ट्रचार भएको खुलासा, प्रचण्ड १ अर्ब, केपी ओली १ अर्ब, सेरे देउबा १ अर्ब घुस खाएको खुलासा ।’
एक साता अघि पोस्ट गरिएको दाबीसहितको भिडियोमा करिब ५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ३ सयभन्दा बढी प्रतिक्रिया आइसकेको दाबीसहितको सामग्रीलाई करिब २ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकबाट के पुष्टि हुन्छ भने दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।

के एनसेल प्रकरणमा नेपालका वर्तमान प्रधानमन्त्री र दुईजना पूर्वप्रधानमन्त्रीले एक-एक अर्ब रुपैयाँ घुस लिएको खुलासा भएको हो ? यही प्रश्नको उत्तर खोज्दै हामीले प्रस्तुत तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लेखित दाबीसहितको भिडिमा एउटा थमनेल जस्तो देखिने ग्राफिक तस्बिर जोडिएको छ । उक्त तस्बिरको थमनेलमा एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एक-एक अर्ब रुपैयाँ घुस लिएको खुलासा भएको दाबी गरिएको छ ।
प्रस्तुत थमनेलमा पूर्वनायब महालेखापरीक्षक सुकदेव भट्टराई खत्रीको तस्बिरसमेत देख्न सकिन्छ । त्यसैले जाँचका क्रममा हामीले सबैभन्दा पहिले सोही थमनेल जस्तो देखिने तस्बिरको वास्तविकता पत्ता लगाउने कोशिस गर्यौँ । जसको लागि सबैभन्दा पहिले ‘NCELL’ ‘शुकदेवको खुलासा’ वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप Yoho Television HD मा प्रसारित पूर्वनायब महालेखापरीक्षक सुकदेव भट्टराई खत्रीसँगको एउटा अन्तर्वार्ता फेला पर्यो । ६ डिसेम्बर २०२३ मा पोस्ट गरिएको उक्त अन्तर्वार्ताको शीर्षक छ- ‘NCELL को नालीबेली,प्रचण्डले केही गर्न सक्दैनन्, सरकारले नै भ्रष्टाचारी पालेको छ, शुकदेवको खुलासा’ ।

प्रस्तुत अन्तर्वार्ताको थमनेलमा ‘प्रधानमन्त्रीहरु फस्दैछन’ मात्र लेखिएको छ । मात्र लेखिएको छ तर ‘NCELL काण्डमा भष्ट्रचार भएको खुलासा, प्रचण्ड १ अर्ब, केपी ओली १ अर्ब, सेरे देउबा १ अर्ब घुस खाएको खुलासा’ लेखिएको छैन ।
एउटा अन्तर्वार्ताजन्य सामग्रीको थमनेलसँगै दाबीसहितका वाक्यांशहरु लेखिएको पाइयो । तर, एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एक-एक अर्ब रुपैयाँ घुस लिएको दाबी प्रमाणित भएको छैन ।
अर्कोतर्फ एनसेल प्रकरण छानविनका लागि मन्त्रिपरिषद् बैठकबाट यही मंसिर २१ (२०८०) गते एउटा समिति गठन गरिएको छ । टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठन भएको एनसेल प्रकरण छानविन समितिले आफ्नो काम समेत अघि बढाइसकेको छ । समितिले आफ्नै अन्तिम रिपोर्ट तयार पारिरहेको सन्दर्भमा प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एक-एक अर्ब रुपैयाँ घुस लिएको दाबी गरिएको देखियो ।
निष्कर्ष
एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एक-एक अर्ब रुपैयाँ घुस लिएको दाबी प्रमाणित भएको छैन । एउटा अन्तर्वार्ताजन्य सामग्रीको थमनेलसँगै दाबीसहितका वाक्यांशहरु लेखिएको र भ्रामक दाबीसहितको अडियो जोडिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
भिडियो अन्तर्वार्ता, Yoho Television HD
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]