Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

     दाबी: जाजरकोट भूकम्पसँग सम्बन्धित भिडियोहरु ।  
     तथ्य: केही फरक सन्दर्भ र केही सन्दर्भ नखुलेका पूराना भिडियोहरुलाई भ्रामक तरिकाले जाजरकोट भूकम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।  
कर्णाली प्रदेशस्थित जाजरकोट जिल्लालाई केन्द्रबिन्दू बनाएर (३ नोभेम्बर २०२३) ५.७ म्याग्निच्युडको भूकम्प भएको छ । उक्त भूकम्पका कारण जाजरकोट जिल्लामा १०५ र पश्चिम रुकुम जिल्लामा ५२ जनाको ज्यान गइसकेको छ भने कम्तिमा ३७५ जना घाइते भएका छन् ।
नेपालले अर्को प्राकृतिक विपत्ति ब्यहोरेको यही सन्दर्भमा सामाजिक संजालमा केही भिडियो सामग्री फेला परेका छन् । छोटो समयमै सामाजिक संजालमा द्रुत गति फैलिएका कारण यी भिडियोहरु जाजरकोट भूकम्पलाई चिनाउने दृश्य बनेका छन् । तर, ती भिडियोहरुको वास्तविकता भने फरक छ ।
जाजरकोटमा केन्द्रबिन्दू बनाएर भूकम्प भएकै भोलिपल्ट suraj_oficee नामक टिकटक आइडीमा एउटा भिडियो पोस्ट गरियो । उक्त भिडियोमा एउटा घर भत्किएको दृश्य देख्न सकिन्छ । साथै भिडियोमा मानिसहरु चिच्याइरहेको आजाव पनि सुन्न सकिन्छ ।

पोस्ट गरिएको केही समयमै प्रस्तुत भिडियोलाई टिकटक, फेसबुक, युट्युबमा पोस्ट गर्न थालियो । जाजरकोट र रुकुम पश्चिममा भूकम्प भन्दै उक्त भिडियोलाई सामाजिक संजालमा फैलाउन थालियो । यही क्रममा सामाजिक संजाल प्रयोगकर्ताहरु उक्त भिडियो जाजरकोट भूकम्पसँग सम्बन्धित हो कि भनेर झुक्किएको देखिन्छ ।

अर्कोतर्फ सामाजिक संजालमा अर्को भिडियो पनि फेला परेको छ । Dipeshxettri नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा पनि एउटा घर भत्किएको दृश्य देख्न सकिन्छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘भूकम्पमा परी जाजरकोट र रुकुममा ज्यान गुमाउने ८० जनाप्रति हार्दिक श्रद्धान्जली ।’
जाजरकोटमा भूकम्प गएको भोलिपल्ट अर्थात् ३ दिनअघि पोस्ट गरिएको भिडियोमा २८ हजारभन्दा बढी टिपकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने भिडियोलाई ८ सयभन्दा बढी प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यतिमात्र होइन, उक्त भिडियोबाट अन्य थप करिब १०० भिडियोहरु पुनर्उत्पादन समेत गरिएको देखिन्छ ।

माथि उल्लेखित भिडियोहरू जाजरकोट-रुकुम भूकम्पसँग सम्बन्धित छन् त ? यही विषयमा केन्द्रीत रहेर हामीले तथ्यजाँचको सुरुवात गर्यौँ । यसका लागि सबैभन्दा पहिले हामीले पहिलो भिडियोलाई गुगल लेन्समा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Rising Nepal Daily मा प्रकाशित एउटा समाचार फेला पर्यो ।

एक वर्षअघि अर्थात् २८ अगस्ट २०२२ मा प्रकाशित उक्त समाचारको तस्बिर र माथि उल्लेखित दाबीसहितको भिडियोमा केही समानता देखिन्छ । फेला परेको समाचारका आधारमा हामीले ‘पहिरो’ ‘रुकुम’ ‘घर’ लगायतका किवर्ड सर्च गर्दा युट्युबमा एउटा भिडियो फेला पर्यो ।
Bibekpathakofficial नामक युट्युब च्यानलमा पोस्ट गरिएको सर्ट भिडियोको शिर्षक राखिएको छ- ‘Landslide at Sanibheri gaupalika, West Rukum | हेर्दाहेर्दै रुकुममा पहिरोले घर लडायो !’
फेला परेका तथ्यबाट के प्रष्ट हुन्छ भने जाजरकोटको भूकम्पसँग सम्बन्धित भन्दै सामाजिक संजालमा पोस्ट गरिएको भिडियो भ्रामक छ । एक वर्षअघि रुकुममा पहिरो गएको र घर भत्किएको भिडियोलाई भ्रामक तरिकाले भूकम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
अब प्रवेश गरौँ, दोस्रो भिडियोमा । ‘भूकम्पमा परी जाजरकोट र रुकुममा ज्यान गुमाउने ८० जनाप्रति हार्दिक श्रद्धान्जली’ भन्दै सामाजिक संजालमा एउटा भिडियो पोस्ट गरिएको छ । उक्त भिडियोको मूल सन्दर्भ जाँच गर्ने क्रममा ‘बझाङमा घर भत्किएको भिडियो’ ‘भूकम्प’ वाक्यांशलाई इन्टरनेटमा सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप करिब एक महिनाअघि फेसबुकमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । एक महिनाअघि अर्थात् असाेज १६ (२०८०) गते बझाङ जिल्लास्थित चैनपुर वरिपरि केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही सन्दर्भमा उल्लेखित भिडियो पोस्ट गरिएको देखिन्छ ।

४ दिनअघि गएको भूकम्पलाई सन्दर्भ बनाएर यही भिडियो पोस्ट गरिएको छ । तर, जाजरकोट भूकम्पको सन्दर्भसँग जोड्दै पोस्ट गरिएको यो भिडियो एक महिनाअघि नै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । यस तथ्यबाट के प्रस्ट हुन्छ भने पूरानो र सन्दर्भ नखुलेको भिडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।
जाजरकोट भूकम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइएका भिडियोहरुले भ्रामक सन्देश दिएका छन् । केही फरक सन्दर्भ र केही सन्दर्भ नखुलेका पूराना भिडियोहरुलाई भ्रामक तरिकाले जाजरकोट भूकम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
   समाचार,  Rising Nepal Daily 
   भिडियो, Bibekpathakofficial 
   समाचार, ekantipur
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Aakash Chhetri
February 25, 2025

Aakash Chhetri
January 7, 2025

Aakash Chhetri
January 1, 2025