Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: धनुषा जिल्ला अदालतले कैलाश सिरोहियालाई तीन वर्षको सजाय दिने फैसला गरेको र कान्तिपुर दैनिकमा आफ्नै अध्यक्षविरुद्धको समाचार प्रकाशित भएको दाबी ।
तथ्य: २१ मार्च २०१८ मा प्रकाशित कान्तिपुर दैनिकको इपेपरमा छेडखानी गरी भ्रामक सामग्री उत्पादन गरिएको पाइयो । सिरोहियाको नागरिकता दुरुपयोग मुद्दामा धनुषा जिल्ला अदालतले अहिलेसम्म अन्तिम फैसला गरेको छैन ।
नागरिकता दुरुपयोग गरेको आरोपमा जेठ ९ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ परेका छन् । सिरोहिया पक्राउ परेको यही सन्दर्भमा सामाजिक संजालमा केही दाबीसहितका पोस्टहरू फैलाइएको छ ।
तातो खबर नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा कैलाश सिरोहिया देखिने ग्राफिक्स थमनेल जोडिएको छ । साथै सिरोहियालाई धनुषा जिल्ला अदालतले तीन वर्षको कैद सजाय दिने फैसला गरेको दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- कैलाश सिरोहियालाई तीन वर्षको सजाय फैसला गरियो । नेपाली कांग्रेसले कैलासलाई जसरी भएपनि छाड्नुपर्ने माग ।
त्यस्तै Gautam Lamichhane नामक टिकटक आइडीमा कैलाश सिरोहियासँग सम्बन्धित अर्को दाबी पोस्ट गरिएको छ । भिडियोमा कान्तिपुर दैनिकको इपेपर जोडिएको देखिन्छ । उक्त इपेपरमा लेखिएको छ-‘Breaking News मेरा मालिक गद्दार निकला, बहुत दुखद् समाचार ।’
धनुषा जिल्ला अदालतले कैलाश सिरोहियालाई तीन वर्षको सजाय दिने फैसला गरेको एवं कान्तिपुर दैनिकमा आफ्नै अध्यक्षविरुद्धको समाचार प्रकाशित भएको दाबी महत्वपूर्ण छन् । त्यसैले प्रस्तुत दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
धनुषा जिल्ला अदालतको अनुमतिपछि पक्राउ परेका कैलाश सिरोहियालाई प्रहरीले धनुषा नै लगेको थियो । उनलाई जेठ ११ गते दोस्रो पटक म्याद थपका लागि जिल्ला अदालतमा पेस गरिएको थियो । त्यस्तै यो जाँच गरिरहँदा सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ ।
घटनाक्रमको यही सन्दर्भमा धनुषा जिल्ला अदालतले सिरोहियालाई तीन वर्षको सजाय दिने फैसला गरेको दाबी गरिएको छ । तर, सिरोहियाको नागरिकता दुरुपयोग मुद्दामा धनुषा जिल्ला अदालतले अहिलेसम्म अन्तिम फैसला गरिसकेको छैन ।
अर्कोतर्फ कान्तिपुर दैनिकमा अध्यक्ष सिरोहियाविरुद्ध समाचार प्रकाशित भएको दाबीबारे हामीले जाँच गर्यौँ । उक्त सामग्रीमा कान्तिपुर दैनिकको इपेपर जोडिएको छ । उक्त इपेपरमा सिरोहियाको तस्बिरसँगै ‘मेरा मालिक गद्दार निकला, बहुत दुखद् समाचार’ लेखिएको छ ।
जाँचका क्रममा हामीले कान्तिपुरको मूल इपेपर खोजी गर्यौँ । जसका लागि सामाजिक संजालमा फैलाइएको इपेपरको एक छेउमा छापिएको समाचारलाई हामीले आधार बनायौँ । ‘महान्यायाधिवक्ता कार्यालय पनि प्रधानमन्त्री मातहत’ समाचार शिर्षकलाई गुगलमा सर्च गर्दा २१ मार्च २०१८ मा प्रकाशित (इकान्तिपुर डटकममा) समाचार फेला पर्यो ।
त्यसैगरी हामीले २१ मार्च २०१८ मा प्रकाशित कान्तिपुर दैनिकको इपेपर खोजी गर्यौँ । जाँचको नतिजास्वरुप सोही मितिमा प्रकाशित इपेपर फेला पर्यो । तर, उक्त इपेपरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे कुनै समाचार प्रकाशित भएको पाइएन ।
फेला परेको इपेपरमा ‘कर्मचारीका लागि केन्द्रीय सरकार गुहार्दै सभामुखहरू’ शिर्षकको मुख्य समाचार प्रकाशित भएको देखिन्छ । यही समाचार छापिएको छाउँमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको तस्बिरसँगै दाबीसहितको शिर्षक जोडिएको पाइयो ।
फेला परेको तथ्यबाट के पुष्टि हुन्छ भने कैलाश सिरोहिया पक्राउ परेको सन्दर्भमा कान्तिपुर दैनिकको पूरानो इपेपरलाई इडिट गर्दै भ्रामक शिर्षक जोडेर सामाजिक संजालमा फैलाइएको छ ।
कान्तिपुर दैनिकले कैलाश सिरोहियाको तस्बिरसँगै ‘मेरा मालिक गद्दार निकला, बहुत दुखद् समाचार’ शिर्षकको इपेपर प्रकाशित गरेको छैन । २१ मार्च २०१८ मा प्रकाशित कान्तिपुर दैनिकको इपेपरमा छेडखानी गरी भ्रामक सामग्री उत्पादन गरिएको पाइयो ।
इपेपर, epaper.ekantipur.com
समाचार, bbc.com/nepali
समाचार, ekantipur.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]