दाबी: कान्तिपुर दैनिक पत्रिकाले श्रृंखला खतिवडा र सम्भव सिरोहियाको प्रेम सम्बन्धबारे कभरस्टोरी प्रकाशित गरेको तस्बिर र दाबी ।
तथ्य: कान्तिपुर दैनिकको पूरानो अंशलाई इडिट गरी विवरणलाई तोडमोड गरिएको र भ्रामक सन्देश दिन खोजिएको पाइयो ।
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले केही दिनअघि सञ्चार उद्यमी सम्भव सिरोहियासँगको प्रेम सम्बन्ध सार्वजनिक गरिन् । अक्टोबर १५ (२०२३) मा इन्स्टाग्राममा सम्भव आफ्ना तस्बिर पोस्ट गर्दै श्रृंखलाले प्रेम सम्बन्ध स्वीकार गरेकी हुन् । केही समय अघिबाट श्रृंखलाको प्रेम सम्बन्ध सम्भव सिरोहियासँग रहेको चर्चा हुन थालेको थियो ।
पूर्वमिस नेपाल श्रृंखला खतिवडाका प्रेमी सम्भव सिरोहिया कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा हुन् । यही सन्दर्भमा कान्तिपुर दैनिकको मास्टहेड, डेटलाइन र बाइलाइन देखिने एउटा इपेपर सामाजिक संजाल प्रयोगकर्तामाझ फैलिएको छ ।
यही क्रममा हाम्रा केही पाठकले प्रलाद यात्री, राेयल गाउँ लगायतका फेसबुक आइडीमा पोस्ट गरिएका इपेपरको तथ्यजाँच गर्न अनुराेध गरेका थिए । पाठकले हामीलाई पठाएका पोस्टमा कान्तिपुर दैनिकको मास्टहेड, डेटलाइन र बाइलाइन देखिने एउटा इपेपरमा श्रृंखला खतिवडा र सम्भव सिरोहियाको तस्बिर देख्न सकिन्छ । तस्बिरसँगै एउटा शिर्षक र उपशिर्षक राखिएको छ ।


सामाजिक संजालमा पोस्ट गरिएको इपेपरमा लेखिएको छ- ‘शृंखलाले सार्वजनिक गरिन् नयाँ प्रेमी, युवाहरुमा आयो ठूलो भूइँचालो !’ साथै पोस्टको क्याप्सनमा लेखिएको छ- ‘आजको कान्तिपुरमा, हे भगवान् केही समाचार नपाएर नै हाे याे १२ भाइ काे जेठा दाजुले उफ्, तेराे खाेज पत्रुकारिता ।’
कान्तिपुर दैनिक पत्रिकाले श्रृंखला खतिवडा र सम्भव सिरोहियाको प्रेम सम्बन्धबारे कभरस्टोरी नै प्रकाशित गरेको हो ? हाम्रा पाठकको अनुरोध बमोजिम हामीले प्रस्तुत पोस्टमाथि तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लेखित सामाजिक संजालमा पोस्ट गरिएको इपेपरमा कान्तिपुर दैनिकको मास्टहेड, डेटलाइन र बाइलाइन देख्न सकिन्छ । यही आधारमा हामीले तथ्यजाँचको सुरुवात गर्यौँ । सबैभन्दा पहिले हामीले धमिलोगरी देखिने इपेपरमा रहेका विवरणलाई झिक्यौँ ।
इपेपरमा रहेको विवरण अनुसार उक्त पत्रिका ३० अक्टोबर २०२१ मा प्रकाशित भएको देखिन्छ । साथै उक्त पत्रिकाको कभर स्टोरीमा तुफान न्यौपाने नामक पत्रकारको बाइलाइन देख्न सकिन्छ । उक्त नाम अंकित पत्रकार कान्तिपुर दैनिकमै कार्यरत छन् ।
सोही विवरण अनुसार हामीले ३० अक्टोबर २०२१ मा प्रकाशित कान्तिपुर दैनिकको इपेपर खोज्नतिर लाग्यौँ । यही क्रममा हामीले कान्तिपुर दैनिकको डिजिटल संस्करण ekantipur.com मा गएर इपेपर खोज्यौँ । ३० अक्टोबर २०२१ मितिमा प्रकाशित इपेपर हेर्दा हामीले मूल संस्करण फेला पार्यौँ ।
epaper.ekantipur.com मा फेला परेको इपेपरमा श्रृंखला खतिवडा र सम्भव सिरोहियाको प्रेम सम्बन्धबारे कुनै कभरस्टोरी छापिएको पाइएन । तुफान न्यौपानेको बाइलाइन प्रकाशित उक्त समाचारमा ठग र अदालतको मुद्दाबारे जानकारी दिइएको छ । उक्त समाचारको शिर्षक राखिएको छ- जो ठगको फन्दामा परेर जेल पुगे ।

फेला परेका तथ्यहरुबाट के प्रष्ट हुन्छ भने कान्तिपुर दैनिक पत्रिकाले श्रृंखला खतिवडा र सम्भव सिरोहियाको प्रेम सम्बन्धबारे कभर स्टोरी प्रकाशित गरेको छैन । दुई वर्ष पूरानो कान्तिपुर दैनिकको इपेपरमा प्रकाशित विवरण छेडखानी गर्दै भ्रामक सन्देश फैलाउन खोजिएको देखिन्छ ।
निष्कर्ष
कान्तिपुर दैनिक पत्रिकाले श्रृंखला खतिवडा र सम्भव सिरोहियाको प्रेम सम्बन्धबारे कभर स्टोरी प्रकाशित गरेको सन्देश भ्रामक छ । कान्तिपुर दैनिकको पूरानो अंशलाई इडिट गरी विवरणलाई तोडमोड गरिएको र भ्रामक सन्देश दिन खोजिएको पाइयो ।
नतिजा : भ्रामक/इडिटेड
हाम्रा स्रोतहरू
इपेपर, epaper.ekantipur.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]