दाबी: काठमाडौँको सुकुम्बासी बस्ती बगायो (घर र मान्छे बगेको भिडियो)
तथ्य: इन्डोनेशियाको सुम्बावा रिजेन्सी क्षेत्रमा आएको बाढीको भिडियोलाई काठमाडौँको सुकुम्बासी बस्तीसँग जोडेर भ्रामक दाबी गरिएको पाइयो ।
बाढी र डुबानजन्य विपत्तीको एउटा भिडियो सामाजिक संजालमा फैलाइएको छ । उक्त भिडियोलाई काठमाडौँको सुकुम्बासी बस्तीतर्फ संकेत गरिएको छ ।
Joshi Anupama नामक फेसबुक आइडीमा पोस्ट गरिएको भिडियोमा ठूलो बाढी आएको दृश्य जोडिएको छ । उक्त बाढीले एउटा घरसँगै एकजना व्यक्तिलाई नै बगाएको दृश्य देख्न सकिन्छ । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘खोलामा घर बनाउनुको नतिजा, सुकुम्बासी बस्ती काठमाडौँ ।’

६ जुलाई २०२४ मा पोस्ट गरिएको दाबीसहितको भिडियोलाई फेसबुक प्रयोगकर्ताले ४० लाख पटक हेरिसकेका छन् । त्यस्तै ३४ हजारभन्दा बढी कमेन्ट गरिएको भिडियोलाई करिब २ हजार फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ ।
दाबीसहितको सोही भिडियो टिकटकमा पनि व्यापक फैलिएको छ । Joshi Anupama नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोको थमनेलमा लेखिएको छ- ‘बगायो काठमाडौँको सुकुम्बासी बस्ती ।’
एक दिनअघि मात्रै पोस्ट गरिएको भिडियोलाई करिब ४० हजार पटक टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।

के भिडियोमा देखिएको दृश्य काठमाडौँको सुकुम्बासी बस्तीसँग सम्बन्धित छ त? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
लगातारको भइरहेको वर्षाका कारण केही दिनदेखि काठमाडौँमा बाढीजन्य विपत्ति निम्तिएको छ । यही सन्दर्भमा काठमाडौँको सुकुम्बासी बस्ती भन्दै एउटा भिडियो सामाजिक संजालमा फैलाइएको पाइयो । जाँचका क्रममा हामीले भिडियोबाट केही स्क्रिनसट लियौँ र गुगल लेन्समा सर्च गर्यौँ ।
रिभर्स इमेज सर्चको नतिजास्वरुप युट्युबमा फैलिएका थुप्रै भिडियोहरु फेला परे, जसमध्ये अधिकांश नतिजाहरु काठमाडौँको सुकुम्बासी बस्तीसँग जोडिएको पाइयो ।

तर, पटकपटकको जाँचबाट सोही दृश्य जोडिएको अर्को भिडियो भेटियो । Disaster Hub नामक युट्युब च्यानलमा पोस्ट गरिएको रिलमा उक्त भिडियो चीनको बाढीसँग सम्बन्धित रहेको दाबी गरिएको छ । यो भिडियो सुरुको भिडियोभन्दा अलि प्रष्ट देखिन्छ तर हामीलाई विश्वसनीय लागेन । यही भिडियोबाट केही स्क्रिनसट लिएर हामी पुन: गुगल लेन्समा जाँच गर्यौँ ।
जाँचको नतिजास्वरुप दुईवटा समाचार लिंकहरु फेला परे । suara.com र ashevilleglass.com नामक वेबसाइटमा पोस्ट गरिएका तस्बिर र दाबीसहितको भिडियोमा केही समानता देख्न सकिन्छ । तर, यी बेवसाइटको भाषा भने हामीले बुझ्न सकेनौँ ।

भाषाको जाँचका क्रममा फेला परेका समाचारहरु इन्डोनेशियन भाषामा लेखिएको पत्ता लाग्यो । हामीले गुगल अनुवाद (ट्रान्सलेट)को सहयोगमा suara.com मा प्रकाशित समाचारलाई बुझ्ने कोशिस गर्यौँ ।
अनुदित समाचार अनुसार २०२४ फेब्रुअरीमा इन्डोनेशियाको सुम्बावा रिजेन्सी (Sumbawa) क्षेत्रमा बाढी आएको थियो । उक्त बाढीबाट घरहरु डुबानमा परेको र मानिसहरु विस्तापित भएका थिए । यही क्रममा सुम्बावा रिजेन्सीको एउटा घर र घरधनीलाई बाढीले बगाएको भिडियो सामाजिक संजालमा फैलिएको थियो ।
वास्तविक भिडियोको जाँचका लागि हामीले समाचारमा उल्लेख गरिएको तस्बिरको क्याप्सनलाई युट्युब लगायतका सामाजिक संजालमा सर्च गर्यौँ । जाँचको नतिजास्वरुप KOMPASTV नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो रिपोर्ट फेला पर्यो । १० फेब्रुअरी २०२४ मा पोस्ट गरिएको भिडियो र काठमाडौँको सुकुम्बासी बस्ती भन्दै सामाजिक संजालमा फैलाइएको भिडियोमा समानता देख्न सकिन्छ ।
इन्डोनेशियास्थित सुम्बावा रिजेन्सी बाढीसँग सम्बन्धित सोही भिडियोलाई Buletin iNews, Liputan6, Tribun Jateng लगायतका थुप्रै युट्युब च्यानलमा पोस्ट गरिएको पाइयो ।
निष्कर्ष
काठमाडौँको सुकुम्बासी बस्तीमा बाढी आएको भन्दै सामाजिक संजालमा फैलाइएको भिडियो नेपालको होइन । २०२४ फेब्रुअरीमा इन्डोनेशियाको सुम्बावा रिजेन्सी क्षेत्रमा आएको बाढीजन्य विपत्तिको भिडियोलाई काठमाडौँको सुकुम्बासी बस्तीसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, ashevilleglass.com
समाचार, suara.com
भिडियो, KOMPASTV
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]