Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: बाढी-पहिरोका भिडियोहरु काठमाडौँसँग सम्बन्धित छन् ।
तथ्य: जापान र फिलिपिन्समा घटेका पुराना घटनाका भिडियोहरुलाई काठमाडौँसँग जोडिएको छ ।
बाढी पहिरोजन्य घटनाका केही भिडियोहरु सामाजिक संजालमा पोस्ट गरिएको छ । भिडियोमा देखिएका दृश्यहरु नेपालको प्राकृतिक प्रकोपसँग सम्बन्धित रहेको दाबीसमेत गरिएको छ ।
श्री पाँच सरकार (Vista Kaji) नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पहिरो गएको र सडक लगायतका पूर्वाधारहरु बगाएको दृश्य देख्न सकिन्छ । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘काठमाडौँको हालत, बनाउ अझ भीर पाखामा घर । Heavy Rainfall Kathmandu Nepal’ ।
२९ सेप्टेम्बर २०२४ मा पोस्ट गरिएको भिडियो सामग्री संजालमा व्यापक फैलिएको छ । पोस्ट गरिएको एक दिनमै दाबीसहितको भिडियोमा साढे १५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै दाबीसहितको भिडियो २ हजार ३ सयभन्दा बढी पटक सेयर भइसकेको छ ।
त्यस्तै बाढीको प्रकोपसँग सम्बन्धित अर्को भिडियो पनि सामाजिक संजालमा फेला परेको छ । tahirkhantahirkh20 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नदीको बाढीले नौकाहरु बगाएको दृश्य जोडिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘काठमाडौँको सुकुम्बासी बस्तीमा प्रधानमन्त्रीले चलाए पानीजहाज ।’
२९ सेप्टेम्बर २०२४ मा पोस्ट गरिएको दाबीसहितको भिडियो पनि सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । एक दिनअघि पोस्ट गरिएको भिडियोमा १३ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै दाबीसहितको भिडियो १६ सयभन्दा बढी पटक सेयर भइसकेको देखिन्छ ।
के सामाजिक संजालमा हालसालै पोस्ट गरिएका भिडियोहरु नेपालकै हुन् त? भिडियोको वास्तविकता पत्ता लगाउँन हामीले तथ्यजाँच गरेका छौँ ।
केही दिनदेखि नेपालमा बाढी पहिरोजन्य घटनाहरु घटिरहेका छन् । मनसुनी वर्षाका कारण नेपालका विभिन्न क्षेत्रमा बाढी-पहिरो र डुबानका समस्याहरु देखा परेका हुन् । यही सन्दर्भमा बाढी पहिरोका केही भिडियोहरुलाई नेपालसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
दाबीसहितको पहिलो भिडियोमा पहिरोले सडक लगायतका पूर्वाधारहरु बगाएको दृश्य देख्न सकिन्छ ।यो भिडियोको जाँचका क्रममा हामीले सबैभन्दा पहिले केही स्क्रिनसट लियौँ र गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप CBS Evening News मा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
३ जुलाई २०२१ मा पोस्ट गरिएको यो भिडियो र दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो एकआपसमा मिल्दोजुल्दा छन् । तर, जाँचका क्रममा भेटिएको भिडियो नेपालको नभई जापानस्थित अटामीको पहिरोसँग सम्बन्धि छ ।
फेला परेको भिडियो र जानकारीका आधारमा हामीले ‘Atami Japan Landslide 2021’ वाक्यांशलाई जाँच गर्यौँ । जाँचको नतिजास्वरुप जापानको english.kyodonews.net मा प्रकाशित समाचार फेला पर्यो । ३ जुलाई २०२१ मा प्रकाशित समाचारमा जापानको अटामीमा वर्षाका कारण आवासीय क्षेत्रमा पहिरो खसेको थियो ।
फेला परेको समाचारमा एउटा भिडियो पनि उल्लेख गरिएको छ । KYODO NEWS नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोमा देखिने दृश्य र दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो उस्तै देखिन्छन् ।
फेला परेका तथ्यहरुका आधारमा के प्रष्ट हुन्छ भने जुलाई २०२१ मा जापानस्थित अटामी शहरमा गएको पहिरोसँग सम्बन्धित भिडियोलाई नेपालसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
अर्कोतर्फ दाबीसहितको दोस्रो भिडियोमा भिडियोमा नदीको बाढीले नौकाहरु बगाएको दृश्य जोडिएको छ र उक्त दृश्यलाई काठमाडौँसँग जोडिएको छ । सोही भिडियोमाथि न्युजचेकर नेपालले यसअघि पनि तथ्यजाँच गरिसको थियो ।
यसअघि हामीले The Weather Channel, INQUIRER.net, Manila Bulletin Online लगायतका माध्यममा पोस्ट गरिएका भिडियो र जानकारीका आधारमा तथ्यजाँच गरेका थियौँ । युट्युब च्यानलमा समेत पोस्ट गरिएको देखिन्छ ।
फेला परेका जानकारी अनुसार टाइफुन क्यारिना (Typhoon Gaemi/Carina) ले फिलिपिन्सलाई आफ्नो चपेटामा लिएका बेला २४ जुलाई २०२४ मा राजधानी मनिला क्षेत्रको मारिकिना नदीमा पानीको सतह बढेको थियो ।
फिलिपिन्सको मारिकिना नदीमा बाढी आएका कारण क्युजोन शहरमा रहेको कारुन्चो पुलमा नौकाहरु (Barges) ठोक्किन पुगेका थिए । सोही दृश्यलाई काठमाडौँको बाढीसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।
अत्याधिक वर्षाका कारण नेपालमा बाढी-पहिरोजन्य प्रकोप निम्तिएका बेला राजधानी काठमाडौँसँग जोड्दै पोस्ट गरिएका भिडियोहरु नेपालसँग सम्बन्धित छैनन् । जापान र फिलिपिन्समा घटेका पुराना घटनाका भिडियोहरुलाई भ्रामक तरिकाले नेपालसँग जोडिएको पाइयो ।
भिडियो, KYODO NEWS
भिडियो, CBS Evening News
समाचार, english.kyodonews.net
भिडियो, The Weather Channel
भिडियो, INQUIRER.net
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।