Fact Check
Fact Check: गगन थापाको पुरानो तस्बिरमा जोडियो भ्रामक दाबी, पढ्नुहोस् वास्तविकता

Claim
Fact
दाबी: कीर्तिपुर उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरुले मतपेटिका चोर्न कोशिस गरेपछि रामधुलाई खाएको दाबी, कांग्रेस महामन्त्री गगन थापाको तस्बिर ।
तथ्य: मंसिर २०७४ मा गगन थापाको निर्वाचन अभियानलाई लक्षित गरी बम विस्फोट गराइएको थियो, सोही सन्दर्भको तस्बिरलाई स्थानीय तह उपनिर्वाचन २०८१ सँग जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
स्थानीय तह उपनिर्वाचन २०८१ सँग सम्बन्धित दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीमा ‘कीर्तिपुर उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरुले मतपेटिका चोर्न कोशिस गरेपछि रामधुलाई खाएको’ दाबी गरिएको छ ।
It’s News Time नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा केही अस्पष्ट दृश्यहरु जोडिएको छ । साथै उक्त सामग्रीमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा घाइते भएको तस्बिर पनि देख्न सकिन्छ । प्रस्तुत सामग्रीको सुरुवाति अडियोमा भनिएको छ- ‘एकाएक भर्खरै कीर्तिपुरमा एमाले र कांग्रेसका नेताहरुले मतपेटिका चोर्न कोशिस गरेपछि खाए रामधुलाई ।’
त्यसैगरी भिडियोको थमनेलमा ‘कीर्तिपुरमा एमाले र कांग्रेसका नेताहरुले मतपेटिका चोर्न खोजेपछि झडप’ भन्ने वाक्यांश लेखिएको छ ।

१ डिसेम्बर २०२४ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा १४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै ३ सयभन्दा बढी प्रतिक्रिया आएको सामग्री ४ सयभन्दा बढी पटक सेयर भइसकेको देखिन्छ । यो तथ्यांकले दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखाउँछ ।
के कीर्तिपुर उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरुले मतपेटिका चोर्न कोशिस गरेका थिए त? दाबीसहितको सामग्रीमा जोडिएको तस्बिरको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
१६ मंसिर २०८१ मा पछिल्लो स्थानीय तह उपनिर्वाचन सम्पन्न भयो । यही उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकामा रिक्त रहेको प्रमुख पदमा मतदान भएको थियो । कीर्तिपुरको यो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् । डंगोल ५ हजार ३३४ मत ल्याएर विजयी भएका हुन् ।

उपनिर्वाचनको सोही सन्दर्भमा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरुले मतपेटिका चोर्न कोशिस गरेपछि झडप भएको दाबीसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । तर, संचार माध्यमहरुले भने उपनिर्वाचनका सबै स्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको जानकारी दिएका छन् ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्याललाई उदृत गर्दै Kantipur TV मा प्रकाशित/प्रसारित समाचारमा सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिइएको छ । १६ मंसिर २०८१ मा प्रकाशित/प्रसारित समाचारको शिर्षक छ- ‘स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न : निर्वाचन आयोग’ । यही समाचार Kantipur TV HD युट्युब च्यानलमा पनि पोस्ट गरिएको छ ।
अर्कोतर्फ कीर्तिपुर नागरपालिकामा भएको उपनिर्वाचनबारे बुझ्न हामीले निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालसँग फोन सम्पर्क गर्यौँ । उनले निर्वाचन र मतपेटिका प्रभावित हुनेगरी कीर्तिपुरमा कुनैपनि झडप नभएको प्रष्ट पारिन् ।
दाबीसहितको भिडियोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा घाइते भएको तस्बिर पनि देख्न सकिन्छ । उक्त तस्बिरको जाँचका लागि हामीले ‘गगन थापा घाइते’ ‘काठमाडौँ निर्वाचन’ ‘Gagan Thapa’ लगायतका वाक्यांश सर्च गर्यौँ । जाँचको नतिजास्वरुप Nagarik Network युट्युबमा प्रकाशित भिडियो फेला पर्यो ।
४ डिसेम्बर २०१७ मा पोस्ट गरिएको उक्त भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको गगन थापाको तस्बिरबीच समानता देख्न सकिन्छ । उक्त भिडियोको शिर्षकमा लेखिएको छ- ‘Unidentified group hurled a bomb, targeting Gagan Thapa’
भिडियोमा गगन थापाको निर्वाचन अभियानलाई लक्षित गरी बम विस्फोट गराइएको जानकारी दिइएको छ । यही जानकारीलाई आधार बनाएर हामीले थप जाँच गर्यौँ ।
जाँचको नतिजास्वरुप मंसिर २०७४ मा काठमाडौँको नारायणस्थानस्थित चपली हाइटमा नेपाली कांग्रेसका तत्कालीन प्रतिनिधि सभाका उम्मेदवार थापालाई लक्षित गरेर बम विस्फोटन भएको थियो । १८ मंसिर २०७४ इकान्तिपुर डटकममा प्रकाशित समाचार अनुसार उक्त विस्फोटमा गगन थापासहित १२ जना घाइते भएका थिए । घाइते थापा केही समयमै अस्पतालबाट डिस्चार्ज भएका थिए ।
सोही पुरानो घटनाको तस्बिरलाई स्थानीय तह उपनिर्वाचन २०८१ सँग जोड्दै भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको देखियो ।
निष्कर्ष
कीर्तिपुर उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरुले मतपेटिका चोर्न कोशिस गरेपछि झडप भएको दाबी भ्रमक छ । मंसिर २०७४ मा गगन थापाको निर्वाचन अभियानलाई लक्षित गरी बम विस्फोट गराइएको थियो । सोही सन्दर्भको तस्बिरलाई स्थानीय तह उपनिर्वाचन २०८१ सँग जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
निर्वाचन आयोग, election.gov.np/np
समाचार, Kantipur TV HD
भिडियो, Nagarik Network
समाचार, gorkhapatraonline
समाचार, ekantipur.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।