दाबी: आइएमइ लुटेर भाग्दैगर्दा एमाले नेता पक्राउ परेको, पार्टी नेताको आदेशमा लुटपाट गरिएको र महेश बस्नेत, गोकुल बास्कोटा लगायतका नेताले आरोपीलाई हिरा गर्न माग गरेको दाबी ।
तथ्य: जेठ २०८१ मा सुनसरीमा भएको पक्राउको घटनालाई भ्रामक तरिकाले प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टीसँग जोड्दै सामाजिक संजालमा फैलाइएको छ ।
सत्तारुढ दल नेकपा (एमाले) र नेताहरुसँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फैलाइएको छ । उक्त सामग्रीमा आइएमइ लुटेर भाग्दैगर्दा एमाले नेता पक्राउ परेको, पार्टी नेताको आदेशमा लुटपाट गरिएको र महेश बस्नेत, गोकुल बास्कोटा लगायतका नेताले आरोपीलाई हिरा गर्न माग गरेको दाबी गरिएको छ ।
subedi sun 9999 नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्बिर जोडिएको छ । साथै उक्त सामग्रीमा प्रहरीको गिरफ्तमा रहेका एक अभियुक्तलाई देख्न सकिन्छ ।

प्रस्तुत तस्बिरको क्याप्सनमा लेखिएको छ- ‘मोरङ बिराटनगरमा आज दिउँसो IME बैँक लुटेर भाग्दै गर्दा एक एमाले नेतालाई प्रहरीले पैसासहित पक्राउ गरेको छ, पक्राउ पर्ने बिराटनगर महानगर सेक्रेटरी रहेको प्रहरीले जनाएको । उनको बयान अनुसार केपीको आदेसमा पार्टीको खर्चको लागि यो काम गरेको हुँ भनेर बयान दिएका छन् । निज छुटाउन महेश बस्नेत, गोकुल बास्कोटा लगायतका नेताले प्रहरीलाई रिहाई गर्न माग गरेको छन्, यदि रिहाइ नभए प्रहरिलाई कुट्ने धम्की दिएका छन् ।’
प्रस्तुत दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । एक साताअघि मात्रै पोस्ट गरिएको सामग्रीलाई साढे ५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने यही समयमा दाबीसहितको सामग्रीलाई १ हजारभन्दा बढी पटक सेयर भइसकेको छ ।
त्यस्तै सोही दाबीलाई Shakti Man Thing नामक फेसबुक आइडीबाट विभिन्न ग्रुपहरुमा पोस्ट गरिएको पाइयो । दाबीसहिको सामग्रीलाई केही दिनमै साढे २ सयभन्दा बढी पटक सेयर गरिएको देखिन्छ ।

के आइएमइ लुटेर भाग्दैगर्दा एमाले नेता पक्राउ परेको भन्दै पोस्ट गरिएको तस्बिर सत्य हो त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर र दाबीसँग जोडिएको दृश्य महत्वपूर्ण छ । त्यसैले हामीले उक्त तस्बिरको स्क्रिनसटलाई गुगल लेन्समा इभर्स इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप himalkhabar.com मा प्रकाशित एक वर्ष पुरानो समाचार फेला पर्यो ।
२० जेठ २०८१ मा प्रकाशित समाचारमा सुनसरीको हरिनगर गाउँपालिका-५, दुर्गा मन्दिर नजिकबाट स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँसहित प्रहरीले ३७ वर्षीय इसा अन्सारीलाई पक्राउ गरेको जानकारी उल्लेख गरिएको छ । समाचार अनुसार सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोस्ट वसन्तपुरको चेकपोइन्ट टोलीले घुस्की नाकामा सुरक्षा जाँचका क्रममा हरिनगर-५ का ३७ वर्षीय अन्सारीलाई पक्राउ गरेको थियो ।

प्रस्तुत समाचारसँगै उल्लेख गरिएको तस्बिरलाई सत्तारुढ नेकपा एमाले र एमालेका नेताहरुसँग जोडिएको छ । तर, घटनामा नेकपा एमाले र एमालेका नेताहरुको नाम जोडिएको प्रमाण फेला परेन ।
अर्कोतर्फ english.khabarhub.com मा पनि सोही तस्बिर र समाचार प्रकाशित गरिएको देखियो । २ जुन २०२४ मा प्रकाशित समाचारमा एमाले र एमालेका कुनैपनि नेताको नाम जोडिएको छैन ।

अर्कोतर्फ जाँचका क्रममा बिराटनगरको आइएमइ लुटेर भाग्दैगर्दा एमाले नेता पक्राउ परेको, पार्टी नेताको आदेशमा लुटपाट गरिएको र महेश बस्नेत, गोकुल बास्कोटा लगायतका नेताले आरोपीलाई हिरा गर्न माग गरेको दाबीलाई प्रमाणित गर्ने कुनैपनि तथ्यप्रमाण फेला परेनन् ।
निष्कर्ष
आइएमइ लुटेर भाग्दैगर्दा एमाले नेता पक्राउ परेको र पार्टी नेताको आदेशमा लुटपाट गरिएको भन्दै पोस्ट गरिएको सामग्री भ्रामक छ । जेठ २०८१ मा सुनसरीमा भएको पक्राउको घटनालाई भ्रामक तरिकाले प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टीसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, himalkhabar.com
तस्बिर र समाचार, english.khabarhub.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई checkthis@newschecker.in मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।