दाबी: केपी शर्मा ओलीले ‘मान्छे मारेको स्वीकारोक्ति’ गरेको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ ।
तथ्य: करिब दुई वर्ष पूरानो र फरक सन्दर्भको भिडियोको अपब्याख्या गर्दै भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा केपी शर्मा ओलीले ‘मान्छे मारेको स्वीकारोक्ति’ गरेको दाबी गरिएको छ ।
सामाजिक संजालमा फैलाइएका भिडियोहरुमा केपी शर्मा ओलीले भनेका छन्- ‘१४ वर्ष ज्यान मुद्दा, डाँका मुद्दामा जेल बसेर आएको मान्छे हुँ, सबै अदालतका फैसला मैले देख्या छु, न्याय मैले देख्या छु, न्याय चिन्या छु ।’
Crouch Jumper नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा केपी शर्मा ओली बोलिरहेको अवस्थामा देखिएका छन् । उक्त भिडियोसँगै रहेको क्याप्सनमा लेखिएको छ- ‘म चानचुने नेता होइन, मान्छे मारेर १४ वर्ष जेल बसेर आएको हुँ-ओली’ ।

फरक-फरक सामाजिक संजालमा पनि सोही किसिमका पोस्टहरु फेला परेका छन् । samdenXyomgel97 नामक टिकटक आइडीमा केपी शर्मा ओलीको उल्लेखित भिडियो पोस्ट गरिएको छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘मान्छे मारेर १४ वर्ष जेल बसेर आएको केपी ओलीको स्वीकारोक्ति ।’

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ‘मान्छे मारेर जेल बसेर आएको स्वीकारोक्ति’ गरेको दाबी अत्यन्तै संवेदनशील देखिन्छ । विभिन्न सामाजिक संजालमा फैलिएको उक्त भिडियो आगामी दिनमा झनै फैलिनसक्ने देखिन्छ । त्यसैले उक्त दाबसहितको सामग्रीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लेखित दाबीसहितका सामग्रीमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मान्छे मारेर १४ बर्ष जेल बसेर आएको स्वीकारोक्ति’ सहितको अभिव्यक्ति दिएको दाबी गरिएको छ । त्यसैले हामीले सबैभन्दा पहिले दाबीसहितको भिडियोको वास्तविकता जाँच गर्यौँ ।
जाँचका क्रममा सबैभन्दा पहिले हामीले ‘ज्यान मुद्दा’ ‘डाका मुद्दा’ ‘१४ वर्ष जेल’ ‘केपी शर्मा ओली’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Makalu Khabar नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
करिब २ वर्षअघि अर्थात् ७ डिसेम्बर २०२१ मा पोस्ट गरिएको उक्त भिडियोमा केपी शर्मा ओलीको अभिव्यक्ति रेकर्ड गरिएको छ । उक्त भिडियोमा केपी शर्मा ओलीले ‘न्याय क्षेत्र ध्वस्त भएको’ अभिव्यक्ति दिएका छन् । फेला परेको मूल भिडियोको अंश यस्तो छ:
‘न्याय क्षेत्र भनेको एक ढंगले भन्ने हो भने ध्वस्त भएको छ । क्यान्सर भएको छ भने कुखुरा मन्साएर, अन्डा मन्साएर, धरो चढाएर त्यसको उपचार हुँदैन । न्यायाधीशको अवकास भनेको प्रस्थानविन्दू होइन, अन्य हो । त्यसबाट न्यायिक सुधारको यात्रा अगाडी जान्छ भन्ने हैन, त्यो त्यहीँ पुर्णबिराम लाग्छ । पुर्णबिराम लगाउँने नै कुरा हो त्यो । म त स्वतन्त्र न्यालयका लागि, विनासित्ति, एउटा झिंगो-लाम्खुट्टे नमारेर १४ वर्ष ज्यान मुद्दा, डाँका मुद्दामा जेल बसेर आएको मान्छे हुँ, सबै अदालतका फैसला मैले देख्या छु, न्याय मैले देख्या छु, न्याय चिन्या छु । संविधानमै नभएको परमादेशबाट प्रधानमन्त्री नियुक्त, यति समयभित्र सपथ गराउ, सर्वोच्च अदालतको काम हो त्यो ? कति गते, कति बजे, कति समयभित्र, कति घण्टा, सेकेन्डभित्र सपथ ग्रहण गराउने ? ह्याकुलाले मिच्ने भन्छ नि ह्याकुलाले मिच्ने कुरा पनि हद हुन्छ नि । न्यालयलाई तत्काल सच्याएर लग्ने सम्भावना म देखिँरहेको छैन । किन भने तपाईं हामी कतिको तयार छै त ? साचिँकै न्यायलयलाई सच्याएर लान कति तयार छौँ भन्ने कुरा हो…’
करिब दुई वर्षअघि पोस्ट गरिएको मूल भिडियोबाट के प्रष्ट हुन्छ भने केपी शर्मा ओलीले ‘मान्छे मारेको स्वीकारोक्ति’ गरेका छैनन् । उक्त भिडियोमा उनले स्वतन्त्र न्यायलय सुध्रिनै नसक्नेगरी बिग्रिएको दाबी गरेका छन् ।
भिडियोमा ओलीले आफूलाई विनासित्ति १४ वर्ष जेल हालिएको पनि जानकारी दिएका छन् । उनले भनेका छन्- ‘म त स्वतन्त्र न्यालयका लागि, विनासित्ति, एउटा झिंगो-लाम्खुट्टे नमारेर १४ वर्ष ज्यान मुद्दा, डाँका मुद्दामा जेल बसेर आएको मान्छे हुँ ।’
निष्कर्ष
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ‘मान्छे मारेर जेल गएको स्वीकारोक्ति’ भन्ने दाबी भ्रामक छ । करिब दुई वर्ष पूरानो र फरक सन्दर्भको भिडियोको अपब्याख्या गर्दै भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, Makalu Khabar, ७ डिसेम्बर २०२१
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]