स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भइसकेको छ । विभिन्न दलका शीर्ष नेताले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । शीर्ष नेताहरूले गरेको मतदानको फोटो-भिडियोसमेत सार्वजनिक गरिएको छ । यही क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेको दृश्यसमेत संचार माध्यमले सार्वजनिक गरे ।
पछिल्लो समय केपी शर्मा ओलीले मतदान गरेको दृश्य सामाजिक फैलिरहेको छ । official_baskar नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा केपी शर्मा ओलीले मतदान गरिरहेको दृश्य देखिएको छ । उक्त भिडियोमा ओलीले मतपेटिकामा मतपत्र खसाल्दै गर्दा अर्को हातले कोटको खल्तीमा केही राखेजस्तो देखिन्छ । उक्त सामग्रीमा केपी शर्मा ओलीले एउटा मतपत्र खल्तीमा लुकाएको दाबी गरिएको छ ।
टिकटकमा पोस्ट गरिएको उक्त भिडियोको थमनेलमा लेखिएको छ,‘ओलीले एउटा मत गोजिमा एउटा मत मतपेटिकामा मतदान गर्नुभयो ।’ तर, न्युजचेकरको तथ्यजाँचबाट यो दाबी असत्य र भ्रामक रहेको पुष्टि हुन्छ ।

तीन दिनअघि पोस्ट गरिएको उक्त सामग्रीको फैलावट द्रुत देखिन्छ । दाबीसहितको उक्त भिडियोमा ७ हजार ८ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने १५५ प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेको देखिन्छ । त्यस्तै उक्त दाबीसहितको सामग्रीबाट चारवटा टिकटक भिडियो पुन:निर्माणसमेत गरिएको देखिन्छ ।
तथ्यजाँच/प्रमाणीकरण
स्थानीय तह निर्वाचन २०७९ को मतगणना जारी छ । केपी शर्मा ओलीले मतदान गरेको दृश्य र दाबीसहितको भिडियो मतदानकै दिन टिकटकमा पोस्ट भएको भएपनि उक्त भिडियो सामाजिक संजालमा फैलिनेक्रम जारी छ । अर्कोतर्फ मतगणना जारी नै रहेका बेला केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले)ले मतदान र मतगणनामा धाँधली भएको प्रष्टोक्ति दिएको छ ।
मतदान भएको पर्सीपल्ट एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले मतदान र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेको आरोप लगाएका छन् । यही समयमा केपी शर्मा ओलीले दुईवटा मतपत्र बोकेको शंज्ञा दिने दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिएको छ ।
प्रस्तुत दाबीमाथि जाँच गर्दा सबैभन्दा पहिले केपी शर्मा ओलीले गोजीमा राखेको चिज के हो भन्ने प्रश्नको जवाफ पत्ता लगाउनुपर्छ । यसका लागि केपी शर्मा ओलीले गरेको मतदानको मूल भिडियो खोज्नुपर्ने देखियो । ओलीले स्थानीय तह निर्वाचनमा भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गरेका थिए ।
केपी शर्मा ओलीले मतदान गरेको मूल भिडियो पत्ता लगाउँन हामीले युट्युब लगायतमा ‘केपी शर्मा ओली मतदान’ ‘स्थानीय तह निर्माचन’ लगायतका किवर्ड सर्च गर्यौँ । परिणामस्वरुप हामीले मतदानकै दिन Galaxy 4K पोस्ट गरिएको भिडियो भेट्टायौँ ।
मूल भिडियो सरसर्ती हेर्दा नै प्रष्ट हुन्छ केपी शर्मा ओलीले गोजीमा राखेको चिज मतपत्र होइन, मास्क हो । यो तथ्यबाट के पुष्टि हुन्छ भने ओलीले मतदान गरिरहेको भिडियोलाई छाँटकाट गरेर टिकटकमा राखिएको छ र उक्त भिडियो अपूर्ण भएकाले भ्रामक बनेको छ ।
निष्कर्ष :
दाबीसहितको प्रस्तुत टिकटक भिडियो असत्य छ । केपी शर्मा ओलीले मतदान गर्दा एउटा मतपत्र गोजीमा लुकाएका होइनन्, उनले आफूले प्रयोग गरिरहेको मास्क झिकेर गोजीमा राखेका हुन् ।
नतिजा : असत्य\भ्रामक
हाम्रा स्रोतहरू :
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]