Fact Check
प्रधानमन्त्री बालेनले मुसलमान विरोधी अभिव्यक्ति दिएका छैनन्, मुस्लिम कर्मचारीबारे फैलाइएको दाबी गलत

दाबी: प्रधानमन्त्री बालेन शाहले ‘नेपाल पूर्णरूपमा हिन्दुराष्ट्र भएकाले मुसलमान सरकारी कर्मचारी हुन नहुने र भएका कर्मचारीलाई बर्खास्त गर्नुपर्ने’ अभिव्यक्ति दिएको दाबी ।
तथ्य: प्रधानमन्त्री बालेन शाहले साम्प्रदायिक तनावका बेला शान्ति, संयम, सामाजिक सद्भाव र पारस्परिक सम्मान कायम राख्न आग्रह गरेका छन् ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई उदृत् गरिएका केही पोस्टहरु साााजिक संजालमा फैलिरहेका छन् । यस्ता पोस्टहरुमा प्रधानमन्त्री बालेन शाहले ‘नेपाल पूर्णरूपमा हिन्दुराष्ट्र भएकाले मुसलमान सरकारी कर्मचारी हुन नहुने र भएका कर्मचारीलाई बर्खास्त गर्नुपर्ने’ अभिव्यक्ति दिएको दाबी गरिएको छ ।
Ramram772481 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री बालेन शाहसहितको तस्बिर जोडिएको छ । यस दाबीसहितको भिडियोको थमनेलमा ‘नेपाल में मुस्लिम कर्मचारी का छुट्टी !’ लेखिएको छ ।

भिडियोमा एक कन्टेन्ट क्रियटरले बालेनको अभिव्यक्तिबारे चर्चा पनि गरिरहेका छन् । ३१ जुलाई २०२६ मा पोस्ट गरिएको भिडियोमा देखिने कन्टेन्ट क्रियटरले हिन्दी भाषामा यस्तो बोलिरहेका छन्-
‘नेपालका प्रधानमन्त्रीले भनिरहेका छन् कि नेपाल हिन्दुराष्ट्र हो, त्यसैले यहाँ एकजना पनि सरकारी कर्मचारी मुसलमान हुनुहुँदैन । यदि मुसलमान कर्मचारी छन् भने त्यसलाई बाहिर निकाल, किनकि नेपाल पूर्णरुपमा हिन्दुराष्ट्र हो । त्यसैले मुसलमानलाई कुनैपनि कर्मचारीको रुपमा देख्न सकिँदैन । बालेन शाहको यो निर्णय कस्तो लाग्यो कमेन्टमा भन्नुहोला ।’
सोही भिडियोमा बालेन शाहको तस्बिर जोडिएको एउटा पोस्टर पनि देख्न सकिन्छ । उक्त पोस्टरमा हिन्दी भाषामा लेखिएको छ- ‘नेपाल हिन्दुराष्ट्र है इसलिए नेपाल मे एक भी सरकारी कर्मचारी मुस्लिम नहीं होना चाहिए नेता अपने अपने राज्य मे देखें और जाँच करे जो मुस्लिम सरकारी सुबिधा भी ले रहा हो उसे बंद करें । -बालेन शाह, प्रधानमंत्री, नेपाल’

प्रस्तुत दाबीसँग मिल्दोजुल्दो पोस्टर cricket book by naveen prajapati फेसबुक पेजमा पनि पोस्ट गरिएको देखिन्छ । ३१ जुलाई २०२६ मा पोस्ट गरिएको सामग्रीको क्याप्सनमा यस्तो लेखिएको छ-
‘Balen Shah said, Once again I want to tell all the troublemakers of Nepal that if any attempt is made to spoil the atmosphere of Nepal again then the consequences will be very bad. Also, till now all the people from the Muslim community who were holding any government post in Nepal have been dismissed. Also, all the Muslims of Nepal will not get any kind of government facilities because Nepal belongs only to Hindus and not to Muslims.’
प्रस्तुत पोस्टरमा हिन्दी भाषामा यस्तो लेखिएको छ-
‘कांवड़ यात्रा विवाद से भड़की आग । हिंदू-मुस्लिम तनाव से नेपाल में लगा कर्फ्यू ! बालेन शाह ने कहा, एक बार मैं फिर नेपाल के उन सभी उपद्रवियों से बता देना चाहता हूं कि अगर नेपाल का माहौल फिर से खराब करने की कोशिश किया गया तो इसका अंजाम बेहद बुरा होगा साथ में अब तक जितने भी नेपाल में किसी सरकारी पोस्ट पर मुस्लिम समाज का व्यक्ति बैठा है उसे बर्खास्त कर दिया गया है साथ में नेपाल की जितने भी मुसलमान हैं उनको अब किसी भी प्रकार की सरकारी सुख सुविधा नहीं मिलेंगी क्योंकि नेपाल सिर्फ हिंदुओं का है मुसलमान का नहीं ।’

के नेपालका प्रधानमन्त्री बालेन शाहले ‘नेपाल पूर्णरूपमा हिन्दुराष्ट्र भएकाले मुसलमान सरकारी कर्मचारी हुन नहुने र भएका कर्मचारीलाई बर्खास्त गर्नुपर्ने’ अभिव्यक्ति दिएको हुन् त? दाबीको वास्तविकता पत्ता लगाउन यो तथ्यजाँच गरिएको छ ।
तथ्यजाँच/प्रमाणीकरण
पछिल्लो समय नेपालमा सम्प्रदायिक तनाव बढेको छ । सुनसरी जिल्लास्थित देवानगंजमा धार्मिक झण्डा र लाउडस्पीकरको निहुँमा सुरु भएको समूहगत विवादले पछि उग्ररुप लियो । सोही विवाद मधेश प्रदेशका जिल्लाहरुमा हिंसात्मक सम्प्रदायिक तनावका रुपमा फैलिएको हो ।
यही सन्दर्भमा प्रधानमन्त्री बालेन शाहले ‘नेपाल पूर्णरूपमा हिन्दुराष्ट्र भएकाले मुसलमान सरकारी कर्मचारी हुन नहुने र भएका कर्मचारीलाई बर्खास्त गर्नुपर्ने’ अभिव्यक्ति दिएको दाबीहरु सामाजिक संजालमा फैलिरहेका छन् ।
सुनसरीबाट सुरु भएको तनाव देशभर फैलिन थालेपछि प्रधानमन्त्री बालेनले आफ्ना अभिव्यक्तिहरु र धारणाहरु लगातार सार्वजनिक गरिरहेको देखियो ।

२८ जुलाई २०२६ मा प्रधानमन्त्रीले आधिकारिक फेसबुक पेज Balen मार्फत् सुनसरी घटनाबारे अपील जारी गरेका थिए । बालेनले सुनसरी घटनाबारे दुख व्यक्त गर्दै संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका थिए ।
प्रस्तुत अपीलमा प्रधानमन्त्रीले ‘नेपाल पूर्णरूपमा हिन्दुराष्ट्र भएकाले मुसलमान सरकारी कर्मचारी हुन नहुने र भएका कर्मचारीलाई बर्खास्त गर्नुपर्ने’ अभिव्यक्ति दिएका थिएनन् । यस्तो कुनै आशयको अभिव्यक्ति पनि दिएको देखिएन ।
प्रधानमन्त्री बालेनले फेसबुक स्ट्याटसमा लेखेका छन्- ‘फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमीत भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सदभाव कायम राखौँ ।’
मधेश प्रदेशमा बढ्दो साम्प्रदायिक तनावका बीच प्रधानमन्त्री बालेन शाहले ३० जुलाई २०२६ मा देशवासीका नाममा भिडियो सन्देश जारी गरेका थिए। उक्त भिडियोमा बालेनले शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न अपील गरेका थिए ।

साथै बालेनले सुनसरीसहित केही जिल्लामा देखिएको साम्प्रदायिक तनाव अन्त्य गर्न सबै पक्षले आआफ्नो स्थानबाट पहल गर्न आह्वान पनि गरेका थिए । तर उनले ‘नेपाल पूर्णरूपमा हिन्दुराष्ट्र भएकाले मुसलमान सरकारी कर्मचारी हुन नहुने र भएका कर्मचारीलाई बर्खास्त गर्नुपर्ने’ अभिव्यक्ति दिएको कुनैपनि प्रमाण फेला परेन ।
वास्तवमा प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रुपमा कुनै धर्मविरोधी अधिव्यक्ति सार्वजनिक गरेका छैनन् । अर्कोतर्फ ‘नेपाल पूर्णरूपमा हिन्दुराष्ट्र भएको’ भन्ने आशय पनि व्यक्त गरेका छैनन् । त्यस्तै बालेनले नेपालको संविधान अन्तर्गत पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सोही संविधानले नेपाललाई देशलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको छ ।

नेपालको संविधान धारा २६ मा धार्मिक स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ । जसमा प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता दिइएको छ ।
निष्कर्ष
प्रधानमन्त्री बालेन शाहले ‘नेपाल पूर्णरूपमा हिन्दुराष्ट्र भएकाले मुसलमान सरकारी कर्मचारी हुन नहुने र भएका कर्मचारीलाई बर्खास्त गर्नुपर्ने’ अभिव्यक्ति दिएको दाबी गलत छ । प्रधानमन्त्री बालेनले यस्तो अभिव्यक्ति दिएको दाबी पुष्टि हुने कुनै प्रमाण फेला परेन । जाँचका क्रममा प्रधानमन्त्रीका आधिकारिक फेसबुक पोस्ट, देशवासीका नाममा जारी भिडियो सन्देश तथा सार्वजनिक अभिव्यक्तिहरू समीक्षा गर्दा उनले यस्तो कुनै भनाइ व्यक्त गरेको देखिएन । बरु उनले साम्प्रदायिक तनावका बेला शान्ति, संयम, सामाजिक सद्भाव र पारस्परिक सम्मान कायम राख्न आग्रह गरेका छन् । त्यसैले प्रधानमन्त्री बालेन शाहको नाममा फैलाइएको उक्त दाबी गलत हो ।
नतिजा: गलत
हाम्रा स्रोतहरू
प्रधानमन्त्रीको फेसबुक स्ट्याटस, Balen
देशवासीका नाममा सम्बोधन, Gorkhapatra Online TV
नेपालको संविधान, election.gov.np
समाचार, bbc.com/nepali
समाचार, kathmandupost.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]


