पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित एउटा सामाजिक संजालमा भेटिएको छ । उक्त भिडियो सामग्रीमा पूर्वप्रधानमन्त्री ओलीको आँखाबाट आँशु झरेको बताइएको छ । ओली भावुक भएको दृश्यसँगै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई पनि जोडिएको छ ।
#RonaldoCR7 नामक टिकटक आइडीमा पोस्ट भएको उक्त भिडियोमा एमसिसी पाए गरिएका कारण पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आँखाभरी आँशु भरिएको दाबी गरिएको छ । प्रस्तुत दाबी भिडियोको थमनेलमा लेखिएको छ,‘कांग्रेस नेता शेरबहादुर देउवा, गगन थापा लगायत अन्य कार्यकर्ताले एमसिसी पास गरेपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूको आँखाभरी आँशु भएको छ ।’

एमसिसी पास भएकै कारण केपी शर्मा ओलीले आँशु झारेको दाबी गर्ने यो सामग्री ६ दिनअघि टिकटकमा पोस्ट गरिएको थियो । पोस्ट भएको ६ दिनमै उक्त भिडियोमाथि करिब १६ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट रिसकेका छन् भने करिब ६ सय प्रयोगकर्ताले भिडियोमा कमेन्ट गरेको देखिन्छ । त्यस्तै उक्त भिडियोलाई सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या १ सय २६ रहेको छ ।
नेपाल पछिल्लो समय स्थानीय तह निर्वाचनमा जुटेको छ । निर्वाचनको समयमा राजनीतिक दल र राजनीतिक नेताहरूसँग सम्बन्धित हरेक सामग्री अर्थपूर्ण हुन्छन् । सामाजिक संजालमा फैलाइएका यस्ता सामग्री भ्रामक भए त्यसले आम मतदातालाई पनि प्रभावित पार्ने गर्दछ । सोही कारण न्युजचेकरले प्रस्तुत दाबीमाथि तथ्यजाँच गरेको छ ।
तथ्यजाँच/प्रमाणीकरण
भिडियोमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आँशु पुछेको दृश्य देखिन्छ । यही दृश्यलाई आधार बनाउँदै थमनेलमा एमसिसी भए गरिएको कारण ओली रोएको दाबी गरिएको छ । उक्त दाबीको जाँच गर्ने क्रममा सबैभन्दा पहिले भिडियो अहिलेको हो भन्ने तथ्य पत्ता लगाउनुपर्ने देखियो । यसका लागि हामीले भिडियोको मूल स्रोत पत्ता लगाउन तिर लाग्यौँ ।
हामीले ‘केपी शर्मा ओली रोए’, ‘केपी शर्मा ओली भावुक’ लगायतका वाक्यांश विभिन्न सामाजिक संजालमा सर्च गर्यौँ । फलस्वरुप हामीले युट्युबमा मूल भिडियो फेला पार्यौँ । Canada Nepal नामक युट्युब च्यानलमा पोस्ट गरिएको उक्त भिडियो नै पछिल्लो समय टिकटकमा पोस्ट गरिएको पाइयो । ५ फेब्रअरी २०२१ मा पोस्ट गरिएको उक्त भिडियोको हेडलाइन राखिएको छ,‘बोल्दा बोल्दै रोए केपी ओली, लाखौँ जनताको साथ देखेर भावुक भएका ओली हात हाल्लाउदै हिन्दूराज्यबारे’ ।
मूल भिडियो जाँच गरेपछि केपी शर्मा ओली भाबुक भएको भनिएको उक्त कार्यक्रमबारे थप जानकारी खोज्नतिर लाग्यौँ । २०७७ माघमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आँखामा आँशु आएको रहेछ । आँशु आएको सन्दर्भमा त्यो बेला संचार माध्यमले समाचार नै तयार पारेको देखिन्छ । अनलाइनखबरका अनुसार नारायणहिटी अगाडि आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दैगर्दा केपी ओलीले मञ्चबाटै आँशु पुछेका थिए ।
अनलाइनखबरले उक्त प्रशंगबारे तयार पारेको सामग्री :
प्रधानमन्त्री केपी शर्मा ओली कठोर एवं दह्रो मुटु भएका राजनीतिज्ञ मानिन्छन् । तर, शुक्रबार नारायणहिटी अगाडि आयोजना गरिएको आमसभामा बोल्दै गर्दा ओलीले मञ्चबाटै आँशु पुछे । प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाका अनुसार जनसागर देखेर भावुक बनेपछि प्रधानमन्त्रीले आँशु खसालेका हुन् । तर, स्वयं ओलीले चाहिँ ‘चिसोले गर्दा आँशु आएको’ बताएका छन् । प्रधानमन्त्रीले भाषण गर्दैगर्दा उनको समर्थनमा सहभागीहरुले केहीबेर हुटिङ गरेका थिए । हुटिङलाई हात हल्लाएर समर्थन जनाएका प्रधानमन्त्रीले पानी पिए । त्यसपछि कालो चश्मा खोलेर आँशु पुछे । प्रधानमन्त्री ओलीले चिसोका कारण आँशु आएको बताएका छन् । आँशु पुछ्नुअघि उनले माइकबाट सुनिने गरी भनेका थिए, ‘चिसोले आँखामा नि आँशु आयो ।’ तर प्रधानमन्त्रीकै प्रेस सल्लाहकार थापाले टि्वटरमा लेखेका छन्, ‘नारायणहिटी संग्रहालय गेट अगाडिको जनसागर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको साथमा भावुक बन्दै आँसु नै खसाल्नुभयो । जनता साथमा भएपछि कोही दुष्टहरूको पनि केही चल्दैन । चेतना भया !’
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने एमसिसी पास भएका कारण पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आँखामा आँशु आएको थिएन । ओली प्रधानमन्त्री नै रहेका बेला आयोजित आम सभालाई सम्बोधन गर्ने क्रममा उनको आँखामा आशु आएको थियो । पुनश्च: केपी शर्मा ओलीले उक्त आमसभालाई सम्बोधन गरिरहँदा एमसिसी पास भएको थिएन ।
केपी शर्मा ओलीले २०७७ माघमा आयोजित कार्यक्रममा आँशु झारेका थिए तर त्यसको एक वर्षपछि २०७८ फागुनमा एमसिसी पास भएको थियो । प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने केपी शर्मा ओलीको आँशु झर्नु र एमसिसी पास हुनुसँग कुनै सम्बन्ध छैन । त्यसैले भिडियोमा एमसिसी पास गरिएको कारण केपी शर्मा ओलीले आँशु झारेको भन्ने दाबी भ्रामक छ ।
निष्कर्ष :
सामाजिक संजाल टिकटकमा पोस्ट गरिएको सामग्रीमा दाबी गरिएजस्तो केपी शर्मा ओलीले एमसिसी पास भएपछि आँशु झारेका होइनन् । ओलीको आँखाबाट आँशु झर्नु र एमसिसी पास हुनु फरक-फरक सन्दर्भका घटनाक्रम हुन् । यही तथ्यका आधारमा प्रस्तुत भिडियोलाई भ्रामक मान्न सकिन्छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co