Fact Check
इन्डोनेसियामा गएको पहिरोको दृश्य नेपालमा फैलियो, थमनेलमा लेखियो- ‘नगरकाेट जाने बाटो’

सामाजिक संजालमा पहिरो गएको एउटा दृश्य जोडिएको दाबीसहितको सामग्री फेला परेको छ । उक्त दृश्यमा सडक देखिएको छ र सडक छेवैको पहाड उक्त सडकमा झरेको छ । सडकमा गुडिरहको सवारीसाधन समेत उक्त पहिरोमा च्यापिएको पनि दाबीसहितको सामग्रीमा देखिन्छ ।
Ishworkafle नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा एउटा दाबीसहितको थमनेल पनि राखिएको छ । उक्त थमनेलमा साे पहिरोको दृश्य नेपालकै हो भन्ने तरिकाले चित्रित गरिएको देखिन्छ । उक्त थमनेलमा लेखिएको छ- ‘नगरकाेट जाने बाटो, आफ्नो दिन बलियो छ भने मृत्युको मुखबाट पनि बचिने रैछ, वर्षाको समय छ ख्याल गरेर हिडौँ ।’

अहिले पनि रियाक्ट, कमेन्ट र सेयर भइरहेकाे प्रस्तुत दाबीसहितको सामग्री २ महिना पहिले पोस्ट गरिएकाे हाे । तर, सो सामग्री सामाजिक संजालमा फैलिनेक्रम जारी छ । उक्त दाबीसहितको सामग्रीमा करिब १६ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेकाे देखिन्छ भने करिब ५० टिकटक प्रयोगकर्ताले सामग्रीलाई सेयर गरिसकेका छन् ।
सडकमा पहिरो गएको दृश्य देखिने प्रस्तुत दाबीसहितको सामग्री आगामी दिनमा पनि सामाजिक संजालमा फैलिनसक्ने सम्भावना अधिक छ । साेही कारण न्युजचेकरले उक्त दाबीसहितको सामग्रीको वास्तविकता पत्ता लगाउन तथ्यजाँच गरेको छ ।
तथ्यजाँच/प्रमाणीकरण
सबैभन्दा पहिले हामीले प्रस्तुत दाबीसहितको दृश्य सामाजिक संजालसँगै इन्टरनेटमा राखिएका भेटिन्छ कि भेटिदैन भनेर सर्च गर्याै । यसका लागि हामीले पहिरो गएकाे दृश्यको स्क्रिनसट लिएर गुगल लेन्समा सर्च गर्यौँ । जसको नतिजास्वरुप हामीले थुप्रै स्रोतहरु फेला पार्यौँ
पहिरो गएकाे उक्त भिडियो भारतसँगै थुप्रै देशमा फैलिएको पाइयो । भारतीय चर्चित संचार माध्यम ndtv ले उक्त भिडियोबारे एउटा समाचार नै तयार पारेको पाइयो । उक्त रिपोर्टमा एउटा पूरानाे भिडियो फेरि सामाजिक संजालमा फैलिएको बताइएको छ । भारतकाे गाेवामा घटेको पहिलो भन्दै सामाजिक संजालमा फैलाइएको उक्त भिडियो भारतकै नरहेको निष्कर्षसमेत उक्त समाचारले निकालेको छ ।
जुलाइ २१, २०२० मा प्रकाशित समाचारको सुरुमै लेखिएको छ –
एउटा पुरानो भिडियो सामाजिक सञ्जालमा पुन: देखा परेको छ । मानिसहरूको ध्यान खिचिएको उक्त भिडियोले स्कुटर चालक ठूलो पहिरोमा फसेको क्षण देखाउँछ । उक्त भिडियो यस वर्षको अप्रिलमा इन्डोनेसियामा गएकाे पहिरोकाे थियो । स्तब्ध पार्ने उक्त भिडियो सोसल मिडियामा विभिन्न दाबीका साथ धेरै पटक भाइरल भइसकेको छ ।

प्रस्तुत समाचारमा राखिएको तथ्यबाट के प्रष्ट हुन्छ भने ‘नगरकाेट जाने बाटो ‘ भन्दै नेपालमा फैलाइएको भिडियोको भारतमा पनि भ्रामक दाबीका साथ पटक-पटक फैलिएको थियो । तर उक्त भिडियो इन्डोनेसियामा गएकाे पहिरोकाे दृश्य हाे ।
प्रस्तुत स्रोतसँगै हामीले अर्को भिडियो स्रोतबाट पनि दाबीसहितको सामग्रीलाई पुष्टि गर्न खोज्यौँ । जसकाे हामी माथि उल्लेखित समाचारलाई आधार बनाएर युट्युबमा किवर्ड सर्च गर्दा अर्को भिडियो रिपोर्ट फेला पर्यो । इन्डोनेसियाको चर्चित टेलिभिजन tvOneNews ले उक्त दृश्यसहितको रिपोर्ट तयार पारेको भेटियो ।
tvOneNews नामक युट्युब च्यानलमा उक्त भिडियो रिपोर्ट ९ अप्रिल २०२० मा पोस्ट गरिएको देखिन्छ । उक्त भिडियोबारे जानकारी दिँदै उक्त युट्युबमा लेखिएको छ- ‘बिहीबार (९/४/२०२०) पश्चिम जाभाको सियानजुर रिजेन्सी, सुकानगरा जिल्लामा सडक पार गर्ने एक मोटरसाइकल चालकमाथि पहिरो खसेको केही सेकेन्डको भिडियो सोशल मिडियामा भाइरल भयो।’
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने दाबीसहित सामाजिक संजालमा फैलिएको भिडियो नगरकोट जाने बाटोको होइन । उक्त भिडियो दुई वर्ष पहिलो इन्डोनेसियामा घटेको घटनामा आधारित छ ।
निष्कर्ष
दाबीसहितको सामग्रीमा भनिएजस्तो उक्त भिडियो नगरकोट जाने बाटोको नभएर इन्डोनेसियाको हो । दुई वर्ष पूरानो भिडियोलाई नेपालको सन्दर्भ बनाउँदै भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

