मंगलबार बिहान टिकटकमा पोस्ट भएको एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ । सडकमा पहिरो गएको र गुडिरहका गाडी च्यापिएको दृश्य भिडियोमा देखिन्छ । आशिक कुमार नामक टिकटक आइडीबाट पोस्ट भएको उक्त भिडियोमा यो घटना बिहिबार घटेको दाबी गरिएको छ ।
भिडियोमा सडकमा पहिरो गएको देखिन्छ । त्यहाँ सडकमा गुडिरहेको गाडी पनि पहिरोमा च्यापिएको छ । भिडियोको माथितिरको थमनेलमा ‘नारायणगढ-मुग्लिन’ सडक लेखिएको छ । तलतिर ‘समय बिहान ७ बजे’ लेखिएको छ र बिच भागमा यस्तो लेखिएको छ,‘आज बिहान कुहिरोले गर्दा प्रकृतिबाट भएको घटना नारायणगढ-मुग्लिन सडकमा ।’

२४ घण्टामै उक्त भिडियोमाथि १ हजार ९ सय २७ जना टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै ३२ भन्दा बढी टिकटक प्रयोगकर्ताले उक्त भिडियोलाई सेयर गरेका छन् । यसबाट के प्रष्ट हुन् छ भने यो भिडियो द्रुत गतिमा फैलिरहेको देखिन्छ । भिडियोमा कमेन्ट गर्दै केही प्रयोगकर्ताले घटनामाथि दु:ख प्रकट गरेका छन् भने केहीले भिडियोको वास्तविकता जान्न खाेजेका छन् । यही कारण हामीले भिडियोमाथि तथ्यजाँच गरेका छौँ ।
तथ्य जाँच/प्रमाणीकरण
मंगलबार बिहान पोस्ट गरिएको उक्त भिडियोमा देखाइएको दृश्य र भिडियोमा राखिएको थमलेनमार्फत् दुईवटा दाबी गरिएको छ । पहिलो उक्त घटना ‘आजै’ अर्थात् मंगलबार घटेको दाबी गरिएको छ भने अर्को कुहिरोका कारण उक्त घटना घटेको दाबी गरिएको छ ।
माथिको दाबी सही छ कि छैन भनेर जाँच गर्दा सुरुमा भिडियोमा देखाइएका दृश्यहरूको सक्कल फेला पार्नुपर्ने हुन्छ । उक्त भिडियोमा देखाइएको दृश्यको मुल भिडियो रातोपाटी मिडिया लगायतका युट्यूब च्यालनमा भेटिएका छन् ।
रातोपाटी मिडियाले उक्त भिडियो ६ महिनाअघि युट्यूबमा पोस्ट गरेको थियो । जुलाई ७, २०२१ मा पोस्ट भएको भिडियोको एउटा सानाे अंशलाई नै टिकटकमा थमनेलसहित पोस्ट गरिएको हो । त्यस्तै पहिरोको उक्त भिडियो राजु चौधरी नामक युट्यूब च्यालनमा पनि भेटिन्छ । उक्त च्यानलले यो भिडियो जुलाई ६ मा पोस्ट गरेको थियो ।
भिडियो यसबारे सानो जानकारीसमेत लेखिएको छ । जहाँ दिउँसो केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जानकारी दिइएको छ । उक्त भिडियोमा पहिरो कतिबजे खसेको हो खुलाइएको छैन । यसबाट के प्रष्ट हुन्छ भने उक्त भिडियोमा देखाइएको दृष्य ६ महिनाअघि घटेको घटना रहेको पाइएको छ ।
त्यसैले भिडियोमा ‘आजै’ (मंगलबार) भन्ने दाबी गलत छ । अर्कोतर्फ यो कुहिरोका कारण उक्त घटना घटेकोसमेत भिडियोको थमनेलमा दाबी गरिएको यो दाबी पनि गलत छ । किनभने गत जुलाई महिनामा भएको भारी वर्षाका कारण उक्त पहिरो गएको थियो ।
युट्यूबमा राखिएको भिडियो सम्बन्धी जानकारीसँग मिल्दोजुल्दो समाचार पनि फेला परेको छ । १७ असारमा पोस्ट भएको समाचार र भिडियोमा राखिएको जानकारी एउटै छ ।
निष्कर्ष :
भिडियोमा देखिएको दृश्य बिहीबारको होइन र यो कुहिरोका कारण घटेको घटना पनि होइन । ६ महिना अघिको अविरल वर्षाका कारण यो घटना घटेको थियो । त्यसैले यो समाचारले सामाजिक संजानमा भ्रम सृजना गरेको छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]