Sunday, September 7, 2025

Fact Check

 एक व्यक्ति रक्ताम्य भएको भिडियो भेटियो, के ‘मेयर हर्क साम्पाङको टीम’माथि आक्रमण भएको हो ? 

Written By Aakash Chhetri
Jul 12, 2022
banner_image

स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्क साम्पाङ चर्चामा छन् । चुनाव जितेसँगै मुलुकभर चर्चामा रहेका साम्पाङ पछिल्लो समय पानीको समस्या हल गर्न गम्भीर भएर लागेको देखिन्छ । पछिल्लो समय उनी उपमहानगरवासीसँगै श्रमदान गर्न जाने गरेका छन् ।

यही सन्दर्भमा मेयर हर्क साम्पाङसँग सम्बन्धित एउटा दाबी सामाजिक संजालमा फेला परेको छ । chandranathyogi11 नामक टिकटक आइडीमा पोस्ट गरिएको एउटा सामग्रीमा मेयर हर्क साम्पाङको टीमलाई अपरिचित समूहले आक्रमण गरेको दाबी गरिएको छ । 

दाबीसहितको भिडियो सामग्रीमा एक व्यक्ति रक्ताम्य देखिएका छन्। सोही भिडियोको थमनेलमा हर्क साम्पाङको समूहमाथि आक्रमण गरिएको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ- ‘मेयर हर्क साम्पाङको टीमलाई अपरिचित समूहको ग्रुपले सामुहिक कुटपिट ।’  

एक साताअघि पोस्ट गरिएको उक्त दाबीसहितको सामग्रीमा करिब साढे ३ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने सयभन्दा बढी टिकटक प्रयोगकर्ताले उक्त सामग्रीमा कमेन्ट गरिसकेका छन्। त्यस्तै भिडियोलाई सेयर गर्ने प्रयोगकर्ताको संख्या ३० भन्दा बढी रहेको छ । 

पछिल्लो समय श्रमदानका लागि आम उपमहानगरवासीलाई प्रोत्साहन गरिरहेका हर्क साम्पाङको समूहलाई कसैले आक्रमण गरेकै हो त ? यो दाबीसहितको सूचना गम्भीर प्रकृतिको भएकाले उक्त सामग्रीमाथि न्युजचेकरले तथ्यजाँच गर्ने जमर्को गरेको छ । 

तथ्यजाँच/प्रमाणीकरण

दाबीसहितको सामग्रीमा ‘मेयर हर्क साम्पाङको टीम’ भन्ने वाक्यांश प्रयोग गरिएको छ । त्यस्तैले हामीले हर्क साम्पाङ मेयर बनिसकेपछि उनीमाथि कुनै आक्रमण भएको छ कि छैन भन्ने जानकारी लिन चाह्यौँ । जसका लागि हामीले विभिन्न किवर्ड सर्च गरेर मेयर माथि आक्रमणका समाचारको खोजी गर्‍यौँ । तर, हर्क साम्पाङमाथि भौतिक आक्रमणका कुनै समाचार भेटिएनन् । 

हर्क साम्पाङमाथि भौतिक आक्रमणको कुनै समाचार नभेटिएपछि हामी पुन: दाबीसहितको सामग्रीमा प्रयोग गरिएको भिडियो अंशमै केन्द्रीत भयौँ । धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएसँगै राष्ट्रिय संचार माध्यमहरूमा हर्क साम्पाङका विषयमा अनेक सामग्रीहरू छापिएका थिए । himalkhabar ले पनि ‘धरानवासीले किन पत्याए हर्क साम्पाङलाई?’ शीर्षकको सामग्री तयार पारेको थियो । उक्त सामग्रीमा अभियानकै क्रममा हर्क साम्पाङले आफू र आफ्नो समूहमाथि भौतिक आक्रमण व्यहोरेको उल्लेख छ । 

हिमालले ५ जेठ २०७९ मा प्रकाशित गरेको उक्त सामग्रीको अंश यस्तो छ –

धरानका खोलानालाबाट ढुङ्गा–गिटीको अनियन्त्रित उत्खनन रोक्न साम्पाङको समूह खोलामा गएको थियो । त्यस क्रममा टिपर चालकहरूले आक्रमण गर्दा उनको समूहका राजेश खिम्दुङ राई घाइते समेत भएका थिए । ढुङ्गा–गिटी उत्खनन रोक्न माग गर्दै २३ असारमा गएका साम्पाङ, कुमारबहादुर कटुवाल, दानबहादुर घिमिरे लगायतको समूह विरुद्ध मुद्दा लाग्यो । उक्त मुद्दा खेपेका कटुवाल सुनाउँछन्,‘गलत कामको विरुद्ध आन्दोलन गर्दा उल्टै हामीमाथि नै मुद्दा लाग्यो। पछि सफाइ पाइयो ।’

प्रस्तुत तथ्यलाई आधार बनाउँदै हामी पुन: थप स्रोतको खोजीमा लाग्यौँ । ‘धरानमा झडप’ ‘हर्क साम्पाङ समूह’ लगायतका किवर्ड सर्च गर्दा केही समाचार लिंक भेटिए । जसमध्ये एउटा समाचार इटहरीबाट संचालित pradeshportal नामक अनलाइन छापिएको भेटिन्छ । २६ जेठ २०७८ मा प्रकाशित उक्त समाचारको शीर्षक छ- ‘सर्दु खोला उत्खनन रोक्न गएको टोलीमाथि आक्रमण, उत्खनन रोक्न निर्देशन दिने सामाजिक अभियन्ता हर्क साम्पाङ फरार ।’

प्रस्तुत समाचार स्रोत फेला पारेपछि हामी माथिको दाबीसहितको सामग्रीमा जोडिएको भिडियोको मूल अंश पत्ता लगाउने काममा जुट्यौँ । जसका लागि हामीले समाचारमै राखिएका सूचनालाई प्रयोग गर्‍यौँ ।  ‘सर्दु खोला उत्खनन’ ‘टोलीमाथि आक्रमण’ ‘हर्क साम्पाङ’ लगायतका किवर्ड सर्च गर्दा एउटा युट्युब भिडियो फेला पार्‍यौँ ।

 Click Dharan नामक युट्युब च्यानलमा ९ जुन २०२१ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक राखिएको छ – ‘सर्दु खोला उत्खनन रोक्न गएका हर्क साम्पाङको टोली कुटिए, ठेकेदार पक्षले गुण्डागर्दी गरेको आरोप’ ।

प्रस्तुत भिडियो एउटा अंशलाई छाँटकाट गरेर थनमेलसहित सामाजिक संजालमा फैलाइएको पाइयो । तर, यो घटना हर्क साम्पाङ धरान उपमहानगरको मेयर निर्वाचित हुनुअघिको हो । हर्क साम्पाङको बारेमा मुलुकभर चर्चा परिचर्चा चलिरहेकै सन्दर्भमा उक्त दाबीसहितको सामग्री सामाजिक संजालमा फैलाइएको पाइयो ।  

 निष्कर्ष :

‘मेयर हर्क साम्पाङको टीमलाई अपरिचित समूहको ग्रुपले सामुहिक कुटपिट’ भन्ने दाबी भ्रामक छ । हर्क साम्पाङ धरान उपमहानगरको मेयर बन्नुअघिको भिडियो राखेर ‘मेयर हर्क साम्पाङको टीम’ भन्ने वाक्यांश भन्दै सामाजिक संजालमा फैलाइएको छ । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

 Himalkhabar

Pradeshportal

 Click Dharan 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

909

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage