दाबी: धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले भारत विरोधी नारा लगाएको र उनलाई प्रहरीले पक्राउ गरेको ।
तथ्य: तीन वर्ष पूरानो र फरक सन्दर्भको भिडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
सुनसरीस्थित धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङसँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । केही दिनअघि पोस्ट गरिएको उक्त सामग्रीमा हर्क साम्पाङले भारत विरोधी नारा लगाएको र उनलाई प्रहरीले पक्राउ गरेको सन्देश दिन खोजिएको देखिन्छ ।
BITISHA QUEEN नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो सामग्रीमा हर्क साम्पाङ सडकमा ‘भारतीय दलाल होसियार’, ‘सीमा मिच्न पाइँदैन’, ‘अतिक्रमित भूमि फिर्ता गर’, ‘सीमा बेच्न पाइँदैन’ लगायतका नारा लगाइरहेका छन् । त्यतिकैमा हर्क साम्पाङलाई प्रहरीले नियमन्त्रमा लिई प्रहरी भ्यानमा राखेको दृश्य उक्त भिडियोमा देख्न सकिन्छ ।
प्रस्तुत भिडियोको थमनेलमा प्रहरीले हर्क साम्पाङलाई नछाेडेको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ- ‘हर्क साम्पाङलाई पनि छाडेन त पुलिसले, इन्डियाबारे बोल्दा, नेपाल पुलिस चाहिँ कडा हो के ।’
चार दिनअघि पोस्ट गरिएको प्रस्तुत सामग्रीमा साढे पाँच हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै करिब तीन सय प्रतिक्रिया आइसकेको उक्त दाबीसहितको सामग्रीलाई एक सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यबाट के प्रष्ट हुन्छ भने सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको उक्त सामग्री अगामी दिनमा झनै व्यापक रुपमा फैलिन सक्नेछ ।

नेपालकै सर्वाधिक चर्चित मेयर मध्यका एक हर्क साम्पाङसँग सम्बन्धित उक्त भिडियो संवेदनशील देखिन्छ । किनकि उक्त सामग्रीमार्फत् हर्क साम्पाङले भारत विरोधी नारा लगाएको र उनलाई प्रहरीले पक्राउ गरेको सन्देश दिन खोजिएको छ । सोहि संवेदनशीलतालाई मध्यनजर गर्दै हामीले उक्त भिडियोको वास्तविकता पत्ता लगाउने तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लेखित भिडियो सामग्रीमा धरान उपमहानगरपालिका चर्चित मेयर हर्क साम्पाङले भारत विरोधी नारा लगाएको र उनलाई प्रहरीले पक्राउ गरेको सन्देश दिन खोजिएको छ । उक्त भिडियोको वास्तविकता पत्ता लगाउन हामीले सबैभन्दा पहिले केही किवर्ड तयार पार्यौँ र युट्युबमा सर्च गर्यौँ ।
‘भारत विरुद्ध प्रदर्शन’ ‘धरान’ ‘पक्राउ’ लगायतका तयार पारिएका किवर्डहरूलाई युट्युबमा सर्च गर्दा थुप्रै भिडियोहरू फेला परे । जसमध्ये एउटा भिडियो हाम्रो नजरमा पर्यो, जो दाबीसहितको सामग्रीमा जोडिएको भिडियोसँग मिल्दोजुल्दो देखिन्छ ।
Radio Dharan 88.8 नामक नामक युट्युब च्यानलमा फेला परेको उक्त भिडियोमा भारतीय सीमा अतिक्रमण र नेपाल सरकारको बेपरवाह नीतिविरुद्ध सामाजिक अभियान्ता सडकमा उत्रिएको र उनीहरुलाई प्रहरीले पक्राउ परेकाे जानकारी दिइएको छ । तीन वर्षअघि अर्थात् १३ मे २०२० मा पोस्ट गरिएको उक्त भिडियोमा तत्कालीन सामाजिक अभियान्ता हर्क साम्पाङ पक्राउ गरिएको छ ।
प्रस्तुत भिडियो हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयर हुनुअघिको हो । तीन वर्षअघि नै भएको प्रदर्शनका क्रममा तत्कालीन सामाजिक अभियान्ता हर्क साम्पाङले धरानमा विरोध प्रदर्शन गरेको थिए । सोही प्रदर्शनका क्रममा साम्पाङलाई नियन्त्रणमा लिइएको थियो । सोही भिडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
फेला परेको प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने तीन वर्ष पूरानो भिडियो, जतिबेला हर्क साम्पाङ धरान उपमहानगरपालिको मेयरमा निर्वाचित भइसकेका थिएनन् । पूरानो र फरक सन्दर्भको भिडियोलाई वर्तमान सन्दर्भमा सामाजिक संजालमा फैलाइनुले भ्रामक सन्देश प्रवाह गरेकाे छ ।
निष्कर्ष
वर्तमान सन्दर्भमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले भारत विरोधी नारा लगाएको र उनलाई प्रहरीले पक्राउ सामग्री भ्रामक छ । तीन वर्ष पूरानो र फरक सन्दर्भको भिडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
Dharan.gov.np
Radio Dharan 88.8
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]