Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: ‘सिमानामा काँडेतार लाग्ने पक्का एक लाखले गरे हस्ताक्षर’ ।
तथ्य: ‘काँडेतार’ चलचित्र टिमले देशव्यापी हस्ताक्षर अभियान चलाएर एक लाखभन्दा बढी हस्ताक्षर संकलन गरेको दाबी पनि पुराना समाचारबाट पुष्टि हुन्छ । तर, नेपाल सरकारले हालसम्म नेपाल–भारत सीमामा काँडेतार लगाउने कुनै आधिकारिक निर्णय गरेको प्रमाण फेला परेन ।
नेपाल-भारत सिमानासँग सम्बन्धित केही पोस्टहरु हालासालै सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता पोस्टहरुमा नेपाल-भारत सिमानामा काँडेतार लाग्ने पक्का भएको र एक लाखले हस्ताक्षर गरेको दाबी गरिएको छ ।
Juntara Khabar नामक फेसकुब पेजमा पोस्ट गरिएको पोस्टरमा नेपाल-भारत सिमानामा काँडेतार लगाइएको सांकेतिक दृश्य जोडिएको छ । साथै उक्त पोस्टरमा लेखिएको छ- ‘सिमानामा काँडेतार लाग्ने पक्का एक लाखले गरे हस्ताक्षर’ ।

१८ मे २०२६ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीलाई १३ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । पोस्ट भएको दुई दिनमै करिब एक हजार पटक सेयर भइसकेको पोस्टमा दुई हजारभन्दा बढी प्रतिक्रिया आएको छ ।
त्यस्तै padambudhathokie नामक टिकटक आइडीमा पनि उस्तै दाबीसहितको पोस्टर पोस्ट गरिएको छ । सिमानामा नेपालतर्फबाट काँडेतार लगाइएको सांकेतिक तस्बिर जोडिएको पोस्टरमा लेखिएको छ- ‘BIG NEWS नेपाल-भारत

सिमानामा काँडेतार लाग्ने पक्का’ १४ मे २०२६ मा पोस्ट गरिएको दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।
अर्कोतर्फ Sampal195 नामक टिकटक आइडीमा पनि सोही दाबीसहितको पोस्टर जोडिएको छ । १९ मे २०२६ मा पोस्ट गरिएको सामग्रीलाई दुई हजार तीन सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । उक्त पोस्टरमा लेखिएको छ- ‘सिमानामा काँडेतार लाग्ने पक्का एक लाखले गरे हस्ताक्षर’ ।

के नेपाल-भारत सिमानामा काँडेतार लाग्ने पक्का भएको हो त? एक लाख नेपालीले हस्ताक्षर गरेको दाबीको वास्तविकता पत्ता लगाउन यो तथ्यजाँच गरिएको छ ।
नेपाल–भारत सिमानामा काँडेतार लगाउने विषयले पुन: चर्चा पाउन थालेको छ । बानेल शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन गरेसँगै काँडेतारको विषय सामाजिक संजालमा फैलिन थालेको देखिन्छ । यसै सन्दर्भमा नेपालका प्रधानमन्त्री बालेन शाह र भरतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिने एआई जेनेरेटेड आकृति जोडेर केही पोस्टरहरु फेसबुक र टिकटकमा पोस्ट गरिएको छ ।
यद्यपी, उपलब्ध आधिकारिक तथ्यहरुले ‘नेपाल-भारत सिमानामा काँडेतार लाग्ने पक्का’ भएको भन्ने दाबीलाई पुष्टि गर्दैनन् । जाँचका क्रममा नेपालको कुनैपनि सरकारी निकायले नेपाल-भारत सीमामा काँडेतार गराउने आधिकारिक निर्णय गरेको पाइएन । अर्कोतर्फ ‘एक लाखले हस्ताक्षर’ गरेको भन्ने दाबी आंशिकरुपमा सत्य छ । तर, पुरानो जानकारीलाई फरक सन्दर्भमा अतिरंजित तरिकाले सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।
नेपाल–भारत सिमानामा काँडेतार लगाउने विषयले नेपालभित्र विभिन्न समय चर्चा पाउने गरेको छ । यसै सन्दर्भकाबीच फागुन २०८० मा ‘काँडेतार’ नामक नेपाली भाषाको चलचित्र प्रदर्शनमा आएको थियो । उक्त चलचित्र प्रदर्शनअघि निर्माण पक्षले राष्ट्रव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको थियो । नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्ने माग गर्दै देशभरबाट एकलाखभन्दा बढी हस्ताक्षर संकलन गरिएको ‘काँडेतार’का निर्देशक तथा निर्माता नवल खड्काले नेपाली संचार माध्यमलाई जानकारी दिएका थिए ।

यद्यपी, नेपाल-भारत सीमामा काँडेतार लगाउने कुरा यति सजिलै टुंगिने विषय भने होइन । नेपाल-भारत खुला सीमा दुवै देशका लागि परम्परागत र भावनात्मक सम्बन्धमा मात्र होइन, इतिहासिक सम्झौतामा समेत आधारित छ । १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धि (Treaty of Peace and Friendship) अनुसार दुवै देशका नागरिकलाई भिसा बिना आवतजावत, बसोबास, काम र व्यापारको अधिकार छ । यो ब्रिटिश कालदेखिको परम्परा हो, जसलाई स्वतन्त्र भारतले निरन्तरता दिएको थियो । नेपाल-भारत खुला सीमाका कारण दुबै देशबीच विभिन्न सन्दर्भमा विवादसमेत उत्पन्न हुने गरेको छ । यसले विभिन्न अपराधिक तथा प्राविधिक समस्यासमेत निम्त्याउने गरेको छ ।
यिनै समस्याहरु समाधानका निम्ति २०१६ मा दुवै देशका प्रधानमन्त्री (केपी शर्मा ओली र नरेन्द्र मोदी) को सहमतिमा नेपाल-भारत प्रवुद्ध समूह (ईपीजी) गठन भएको थियो । यसको उद्देश्य नेपाल-भारत सम्बन्धको समग्र समीक्षा गर्नु, पुराना सन्धि-सम्झौता (विशेष गरी १९५० को सन्धि) लाई समयानुकूल बनाउनु, खुला सीमा व्यवस्थापन, सीमा विवाद जस्ता मुद्दाको अध्ययन गर्नु थियो । तर, ईपीजीले तयार पारेको प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने काममा दुबै देशले अग्रसरता देखाएका छैनन् ।

अर्कोतर्फ, विगतमा नेपाल-भारत सीमाका केही निश्चित क्षेत्रमा काँडेतार लगाइने गरेका घटनाहरु फेला परेका छन् । नेपाली संचार माध्यमहरुमा मे २०२० मा प्रकाशित समाचार अनुसार पर्सा जिल्लाको ठोरी गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने नेपाल-भारत सीमा नजिकै नेपाली भूमिमा झन्डै साढे चार किलोमिटर लामो काँडेतारको लगाइएको थियो ।
सिमानामा लगाइएको काँडेतारबारे चर्चा भएपछि ठोरी ३ का वडाध्यक्ष ले बीबीसीसँग कुरा गर्दै (१६ मे २०२० प्रकाशित समाचार) ‘भारतीय पक्षबाट हुने दुर्व्यवहार रोक्न र जङ्गली जनावर नियन्त्रण गर्न’ काँडेतार लगाएको प्रष्ट पारेका थिए ।

विगतमा, नेपाल-भारत सीमामा हुने विवादको विषय उठाउँदै नेपालका केही सांसदले नै सिमानामा काँडेतार लगाउनुपर्ने सुझाव दिँदै आएका छन् ।
मे २०२० मा राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले सदनबाटै सिमानामा काँडेतार लगाउनुपर्ने माग सरकार समक्ष राखेकी थिइन् । उनले यदि सरकार सिमानामा पर्खाल लगाउन तयार भए आफु संसद सचिवालयबाट पाउने एक वर्षको सेवा सुविधा उपलब्ध गराउनेसमेत घोषणा गरेकी थिइन् ।
त्यसैगरी असार २०८१ मा सांसद रघुजी पन्तले सदनमा बोल्दै नेपाल-भारत सिमानामा काँडेतार लगाउनुपर्ने सुझाव दिएका थिए । भारतसँग खुला सीमा भएको कारणले तराईमा आपराधिक घटना बढेको दाबी गर्दै उनले संसदबाटै यस्तो सुझाव दिएका थिए ।
वैशाख २०७७ मा तत्काली सत्तारुढ नेकपाका निकट युवा तथा विद्यार्थी संगठनहरुले परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सिमानामा काँडेतार लगाउन माग गरेका थिए । भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म जोड्ने सडक बनाएर उद्घाटन गरेपछि युवा-विद्यार्थीले सिमानामा काँडेतार लगाउनुपर्ने मागसमेत अगाडि सारेका थिए ।
त्यस्तै असोज २०८० मा संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा विज्ञहरूले मुलुकको सुरक्षाका लागि खुला सीमा रहेको भारततर्फ काँडेतार लगाउनुपर्ने सुझाव दिएको समाचारहरु नेपाली संचार माध्यममा प्रकाशित भएका थिए ।
यसअघि असारमा २०७७ नेपाल-भारत सीमा व्यवस्थापनका लागि राज्यले उचित कानुन बनाएर काँडेतार लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।
फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने नेपाल–भारत सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने माग नेपालभित्र चर्कोगरी उठ्ने गरेको छ । विगतमा, यस मागमाथि चलचित्र बनेको छ र उक्त चलचित्र टीमले दबाबका लागि देशव्यापी हस्ताक्षर संकलन गरेको सत्य हो । तर, ‘नेपाल-भारत सिमानामा काँडेतार लगाउने पक्का’ भएको भन्दै सामाजिक संजालमा फैलाइएका पोस्टहरु अतिरंजित छन् ।
नेपाल–भारत सिमानामा काँडेतार लगाउने विषय नेपालमा बेला–बेलामा उठ्दै आएको राजनीतिक, सुरक्षा र जनचासोको मुद्दा हो । यस सम्बन्धमा ‘काँडेतार’ चलचित्र टिमले देशव्यापी हस्ताक्षर अभियान चलाएर एक लाखभन्दा बढी हस्ताक्षर संकलन गरेको दाबी पनि पुराना समाचारबाट पुष्टि हुन्छ । तर, नेपाल सरकारले हालसम्म नेपाल–भारत सीमामा काँडेतार लगाउने कुनै आधिकारिक निर्णय गरेको प्रमाण फेला परेन । त्यसैले ‘नेपाल–भारत सिमानामा काँडेतार लाग्ने पक्का’ भन्दै सामाजिक संजालमा गरिएका पोस्टहरू भ्रामक तथा अतिरंजित छन् ।
समाचार, onlinekhabar.com
समाचार, ekantipur.com
समाचार, bbc.com
भिडियो,Lokpath TV
समाचार, prasashan.com
समाचार, annapurnapost.com
THE IMPACT OF ‘1950 A.D- PEACE AND FRIENDSHIP TREATY’ IN NEPAL, researchgate.net
The Reality Inside Nepal-India Open Border, nepjol.info
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]
Aakash Chhetri
April 21, 2026

Aakash Chhetri
May 9, 2025

Aakash Chhetri
October 12, 2023