Fact Check
‘पासपोर्ट बिना नेपाल प्रवेश बन्द’ भन्दै भारतीयमाझ फैलिए अतिरंजित पोस्ट
दाबी: ‘अब जस्तोसुकै काममा लागि भारतबाट नेपाल जानुपरे पासपोर्ट अनिवार्य लिएर जानुपर्ने’ ।
तथ्य: भारतीय नागरिकका लागि नेपाल सरकारले पासपोर्ट अनिवार्य गरेको छैन । भन्सार राजस्वलाई सुधार गर्न सरकारले सीमा कडाई गरेको सन्दर्भलाई तोडमोड गरेर प्रस्तुत गरेको देखियो ।
भारतबाट नेपाल आवतजावत सम्बन्धी केही भिडियोहरु सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता भिडियोहरुमा ‘अब जस्तोसुकै काममा लागि भारतबाट नेपाल जानुपरे पासपोर्ट अनिवार्य लिएर जानुपर्ने’ दाबी गरिएको छ ।

Md__imran_01 नामक टिकटक आइडीमा कन्टेन्ट क्रियटरले भारतीय नागरिक नेपाल प्रवेशबारे नयाँ नियमको अस्पष्ट जानकारी दिइएको छ । उक्त भिडियोभित्रको जानकारी र थमनेलमा ‘पासपोर्ट बिना नेपाल प्रवेश बन्द’ ‘नेपाल सरकार नयाँ नियम’ जस्ता वाक्यांशहरु दोहोर्याइएको छ ।
११ अप्रल २०२६ मा पोस्ट गरिएको भिडियो सामाजिक संजालमा फैलिरहेको छ । प्रस्तुत भिडियोको थमनेलमा लेखिएको छ- ‘नेपाल में एंट्री बंद बिना पासपोर्ट NO ENTRY । बिना पासपोर्ट अब इंट्री नहीं नेपाल सरकार लाएगी नियम ? नेपाल में एंट्री बंद !’

त्यस्तै Gadar_tv नामक इन्स्टाग्राम अकाउन्टमा नेपालका वर्तमान प्रधानमन्त्री बालेन शाहको तस्बिरसँगै क्याप्सनमा ‘अब पासपोर्ट बिना नेपालमा प्रवेश बन्द’ लेखिएको छ । ११ अप्रल २०२६ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा हिन्दी भाषामा लेखिएको छ- ‘अब नेपाल में बिना पासपोर्ट एंट्री बंद’
त्यस्तै Insaaf 24 Live नामक फेसबुक पेजमा पनि उस्तै खालको जानकारी दिने भिडियो पोस्ट गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘नेपाल सरकार लाएगी नया नियम, बिना पासपोर्ट नहीं मिलेगा इंट्री । नेपाल जाने के लिए अब पासपोर्ट जरूरी है, नया नियम लागू । नेपाल जाने के लिए अव PASSPORT जरुरी ?’

७ अप्रिल २०२५ मा पोस्ट गरिएको प्रस्तुत थमनेलसहितको भिडियोमा १ लाख ४७ हजार भन्दा बढीले लाइक गरिसकेका छन् । यही अवधिमा ६ हजार८ सयभन्दा बढी सेयर भइसकेको भिडियोलाई लाखौँ फेसबुक प्रयोगकर्ताले हेरेका छन् ।

के नेपाल सरकारले भारतीय नागरिकको नेपालमा प्रवेशबारे कुनै नयाँ नियम ल्याएको हो त? यस विषयमा भारतीय नागरिकको नेपाल प्रवेशको नियम र वर्तमान सीमा अवस्थाबारे तथ्यजाँच गर्यौँ ।
तथ्यजाँच/प्रमाणीकरण
भारतीयहरुका लागि ‘पासपोर्ट बिना नेपाल प्रवेश बन्द’ भएको दाबीको जाँचका क्रममा, हामीले सबैभन्दा पहिले सीमानाका सम्बन्धी पछिल्ला अपडेटहरुको सूची बनायौँ । हालसालै नेपाली संचार माध्यमहरुमा ‘नेपाल-भारत सिमानाका कडाई’ गरिएको समाचारहरु आएका देखिए ।
Avenues Khabar टेलिभिजनमा १८ अप्रिल २०२६ मा पोस्ट गरिएको भिडियो समाचारमा राजस्व चुहावट नियन्त्रणका लागि सर्लाही जिल्लाको भन्सार नाकामा कडाई गरिएको जानकारी दिइएको छ ।
पछिल्लो समय, सरकारले नेपाल-भारत भन्सार नाकामा १०० सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य कर तिर्नुपर्ने नियम कडाइसाथ कार्यान्वयनमा ल्याएको छ ।
यसअघि पनि सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा र अन्य घरायसी प्रयोजनका सामान खरिद गर्न भारतीय सीमावर्ती बजार जाने र स्थानीय बजार सुस्ताएको, साथै मुलुकले राजस्व गुमाइरहेको गुनासो भन्दै सरकारले बेला-बेला भन्सार नाकामा कडाई गर्ने गरेको देखिन्छ ।
वर्तमान सन्दर्भमा, भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णयमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएको समाचारहरु प्रकाशित भएका छन् ।
५ वैशाख २०८२ मा प्रकाशित समाचार अनुसार भन्सार नाका कडाई गर्ने निर्णय सच्च्याउन मागसहित सत्तारुढ सांसदहरु गृहमन्त्री सुधन गुरुङकहाँ पुगेको थिए । भेटमामा सीमानाका तत्काल सहज बनाउन माग गरेको रास्वपा मधेश प्रदेश सभापति एवं सिरहा ४ का सांसद तपेश्वर यादवले ekantipur.com लाई जानकारी दिएका छन् ।

प्रस्तुत समाचारहरु बाहेक, भारतीयलाई नेपाल प्रवेश गर्न कडाई गरिएको वा ‘भारतीयहरुलाई पासपोर्ट अनिवार्य गरेको’ दाबीलाई पुष्टि गर्ने जानकारीहरु फेला परेनन् ।
नेपाल र भारतबीच सन् १९५० मा भएको भारत–नेपाल शान्ति तथा मैत्री सन्धि (Indo-Nepal Treaty of Peace and Friendship)ले दुबै देशका नागरिकहरूलाई भिसा बिना दुबै देश आवतजावत गर्ने अधिकार छ ।
नेपालका तत्कालीन प्रधानमन्त्री मोहन शमशेर र भारतका राजदूत चन्द्रेश्वर नारायण सिंहबाट यो सन्धि सन् १९५० जुलाई ३१ मा काठमाडौंमा हस्ताक्षर भएको थियो । यो सन्धि अझै पनि लागू छ र दुवै देशले यसलाई सम्मान गर्दै आएका छन् ।

प्रस्तुत सन्धिको धारा ७ (Article 7) मा लेखिएको छ- ‘The Governments of India and Nepal agree to grant, on a reciprocal basis, to the nationals of one country in the territories of the other the same privileges in the matter of residence, ownership of property, participation in trade and commerce, movement and other privileges of a similar nature.’
दुवै देशले २०१६ मा प्रबुद्ध व्यक्ति समूह (Eminent Persons Group) गठन गरेर सन्धि पुनरावलोकनको प्रयास पनि गरेका थिए, तर त्यसको रिपोर्ट सार्वजनिक भएको छैन ।
१८५० कै सन्धीको आधारमा भारतीय नागरिकले भिसा वा राहदानी बिना नै सामान्य परिचय-पत्र वा भोटर कार्डले नेपाल आउने जाने गरेका छन् । त्यसैगरी, नेपाली नागरिकहरु पनि भिसा बिना नै नागरिकता वा परिचयपत्रले भारत जाने आउने गर्छन् ।

जाँचकै क्रममा नेपालको अध्यागमन विभाग immigration.gov.np मा प्रकाशित सूचना फेला पर्यो । उक्त सूचनामा ‘Information for Indian Nationals’ शिर्षकको सूचना अनुसार, हवाई मार्गबाट नेपाल आउने वा जाने भारतीय नागरिकहरूका लागि आवश्यक पहिचान दस्तावेजहरूमा ‘Valid National Passport’ पहिलो विकल्पमा उल्लेख गरिएको छ भने दोस्रोमा ‘Election ID card (Voter ID)’ लाई पनि स्वीकार गरिएको छ । यसले पासपोर्ट अनिवार्य नभई वैकल्पिक बनाएको देखिन्छ, किनकि Voter ID कार्डले पनि हवाई यात्राका लागि वैध मानिन्छ तर आधार कार्ड भने स्वीकार्य छैन ।

अध्यागमन विभागको वेबसाइट immigration.gov.np मा रहेको FAQ अनुसार, भारतीय नागरिकले पासपोर्ट वा भारतीय निर्वाचन आयोगले जारी गरेको भोटर कार्ड प्रयोग गरी नेपाल प्रवेश गर्न सक्छन् । पासपोर्ट नभएका भारतीयहरूले भोटर कार्डबाट प्रवेश पाउन सक्ने जानकारी दिइएको छ । विभागले पासपोर्ट बोकेर यात्रा गर्न प्रोत्साहन दिएको छ तर यसलाई अनिवार्य नियम बनाइएको छैन ।
अर्कोतर्फ काठमाडौंस्थित भारतीय दूतावास indembkathmandu.gov.in ले पनि पासपोर्ट वा मूल भोटर आईडी मात्र वैध यात्रा कागजात भएको पुष्टि गरेको छ ।

थप जाँचका क्रममा हामीले नेपाल अध्यागमन विभागका निर्देशक एवं प्रवक्ता टिकाराम ढकाललाई फोन सम्पर्क गर्यौँ । उनले भारतीय नागरिकका लागि पासपोर्ट अनिवार्य गरिएको दाबी भ्रामक रहेको प्रष्ट पारे ।
‘भारतीय नागरिक नेपाल प्रवेशको विषयमा साविककै प्रावधानमा कुनै परिवर्तन भएको छैन र सरकारले यस विषयमा कुनै नयाँ नियम ल्याएको छैन’ प्रवक्ता ढकालले Newschecker नेपालसँग भने ।
प्रस्तुुत तथ्यहरुले के पुष्टि गर्छन् भने भारतीय नागरिकका लागि नेपाल सरकारले पासपोर्ट अनिवार्य गरेको छैन । भन्सार राजस्वलाई सुधार गर्न सरकारले सीमा कडाई गरेको सन्दर्भलाई तोडमोड गरेर प्रस्तुत गरेको पाइयो ।
निष्कर्ष
‘पासपोर्ट बिना नेपाल प्रवेश बन्द’ ‘नेपाल सरकार नयाँ नियम’ जस्ता वाक्यांशहरु लेखिएका भिडियोहरु भ्रामक छन् । नेपाल–भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धिअनुसार दुवै देशका नागरिकले भिसाविना आवतजावत गर्न पाउने व्यवस्था अझै कायम छ । साथै नेपाल सरकारले भारतीय नागरिकका लागि पासपोर्ट अनिवार्य बनाउने कुनै आधिकारिक निर्णय गरेको छैन । पछिल्लो समय सीमा नाकामा कडाइ भने भन्सार राजस्व नियन्त्रणका लागि गरिएको हो, जसलाई तोडमोड गरी पासपोर्ट अनिवार्य भएको संकेत गर्ने पोस्टहरु सामाजिक संजालमा फैलिरहेका देखिए ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
अध्यागमन विभाग, immigration.gov.np
काठमाडौंस्थित भारतीय दूतावास, indembkathmandu.gov.in
समाचार रिपोर्ट, kathmandupost.com
समाचार रिपोर्ट, india.com
समाचार रिपोर्ट, ekantipur.com
समाचार, deshsanchar.com
भिडियो समाचार, Avenues Khabar
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]


