दाबी: सांसदहरुबीच ‘कुटाकुट’ भएको एवं संसदीय समितिमै ‘हानाहान’ भएको दाबी ।
तथ्य: सांसदहरुबीच संसदीय समितिमै ‘कुटाकुट’ र ‘हानाहान’ भएको दाबीसहित पोस्ट गरिएको भिडियो भ्रामक छ ।
सांसदहरुसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा सांसदहरुबीच ‘कुटाकुट’ भएको एवं संसदीय समितिमै ‘हानाहान’ भएको दाबी गरिएको छ ।
Prakash_chettri नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा सांसदहरुबीच सवालजवाफ भइरहेको दृश्य देख्न सकिन्छ । भिडियोमा केही सांसदहरु आक्रोशमासमेत देखिएका छन् ।
उक्त भिडियोको थमनेलमा लेखिएको छ- सांसदहरुबीच भयो कुटाकुट, समितिमै भयो हानाहान । ‘राजकिशोर यादव र प्रेम सुवालबीच समिति बैठकमै चर्काचर्की (यादव जसपा नेपालका सांसद हुन् भने सुवाल नेमकिपाका सांसद हुन्) ‘

के सांसदहरुबीच संसदीय समितिमै ‘कुटाकुट’ र ‘हानाहान’ भएको हो त? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
सांसदहरुबीच ‘हानाहान’ भएको दाबीसहित पोस्ट गरिएको भिडियोमा भिडियोमा सांसदहरु राजकिशोर यादव र प्रेम सुवाल देखिएक छन् । उनीहरुबीच चर्काचर्की भइरहेको छ । यही आधारमा हामीले ‘समिति बैठक’ ‘चर्काचर्की’ लगायतका वाक्यांशको जाँच गर्यौँ ।

जाँचको नतिजास्वरुप Kantipur TV HD युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । ९ जनवरी २०२५ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘जसपा नेपालका सांसद राजकिशोर यादव र नेमकिपाका सांसद प्रेम सुवालबीच चर्काचर्की’ ।
यद्यपी फेला परेको भिडियोमा सांसदहरुबीच ‘कुटाकुट’ वा ‘हानाहान’ भएको दृश्य देखिँदैन । थप जाँचका क्रममा Setopati नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
९ जनवरी २०२५ मा पोस्ट गरिएको भिडियोमा सांसद राजकिशोर यादव र प्रेम सुवालबीच संसदीय समिति बैठकमै चर्काचर्की भएको जानकारी दिइएको छ । यही भिडियोका केही दृश्यांशहरुलाई दाबीसहितको सामग्रीमा जोडिएको पाइयो । तर, यो भिडियोमा पनि सांसदहरुबीच ‘कुटाकुट’ वा ‘हानाहान’ भएको दृश्य देखिँदैन ।

फेला परेका भिडियोकै आधारमा थप जाँच गर्दा annapurnapost.com र onlinekhabar.com लगायतका संचार माध्यममा प्रकाशित समाचार फेला परे ।
२५ पुष २०८१ मा प्रकाशित समाचारमा अनुसार यादव प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद एवं समितिका सदस्य प्रेम सुवालबीच सवालजवाफ जन्य समस्या देखिएको थियो ।
नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल चलिरहेका बेला सभापति यादव र सदस्य सुवालबीच चर्काचर्की भएको हो । बोल्ने समयका विषयमा असहमति भएपछि समितिमा सवालजवाफ भएको समाचारमा उल्लेख छ । अर्कोतर्फ संसदीय समितिमै ‘कुटाकुट’ र ‘हानाहान’ भएको दाबी कुनैपनि तथ्य-प्रमाणबाट प्रमाणित भएन ।
निष्कर्ष
सांसदहरुबीच संसदीय समितिमै ‘कुटाकुट’ र ‘हानाहान’ भएको दाबीसहित पोस्ट गरिएको भिडियो भ्रामक छ । सांसद राजकिशोर यादव र प्रेम सुवालबीच संसदीय समिति बैठकमै चर्काचर्की भएको जानकारी सत्य हो । यद्यपी सोही भिडियोमा ‘कुटाकुट’ र ‘हानाहान’ भएको दाबी भ्रामक छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, Setopati
समाचार, onlinekhabar.com
भिडियो, Kantipur TV HD
समाचार, annapurnapost.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।