Fact Check
सुदन गुरुङ फेरि गृहमन्त्री भएका छैनन्, संसद्को भिडियोलाई यसरी गरियो तोडमोड

दाबी: सुदन गुरुङ निर्दोष सावित भएको र उनी फेरि गृहमन्त्री भएको दाबी, भिडियो
तथ्य: दाबीसँग जोडिएको भिडियो वास्तवमा २८ वैशाख २०८३ को प्रतिनिधिसभा बैठकको अंश हो, जहाँ राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीहरूको मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढिएको थियो, यो भिडियो सुदन गुरुङ पुनः गृहमन्त्री दाबीसँग सम्बन्धित छैन ।
पूर्वगृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित केही भिडियोहरु सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता भिडियोहरुमा सुदन गुरुङ निर्दोष सावित भएको र उनी फेरि गृहमन्त्री भएको सन्देश दिइएको छ ।
Voiceagainstcorruption नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा सभामुख डोलप्रसाद अर्याल (डीपी)लाई देख्न सकिन्छ ।
भिडियोमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट आएको पत्रलाई प्रस्तुत गरिरहेका छन् । ‘मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन’सँग सम्बन्धित उक्त पत्रमा सुदन गुरुङको नाम गृहमन्त्रीका रुपमा प्रस्तुत गरिएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘खुसीको खबर सुदन गुरुङ फेरि गृहमन्त्री भएर आउँदै ।’

११ मे २०२६ मा पोस्ट गरिएको भिडियोमा १४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै ३ लाखभन्दा बढी पटक हेरिएको दाबीसहितको भिडियो सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।
नेपाल सरकार नामक टिकटक आइडीमा पनि सोही आशयको जानकारी पोस्ट गरिएको छ । उक्त भिडियोमा सुदन गुरुङले राष्ट्रिय झण्डा समाएर समर्थकहरुसँग हिँडिरहेको दृश्य जोडिएको छ । ११ मे २०२६ मा पोस्ट गरिएको प्रस्तुत भिडियोको थमनेलमा लेखिएको छ- ‘गृहमन्त्री सुदन गुरुङ निर्दोष रिएपछि फेरि गृहमन्त्री बनुभयो ।’

के प्रस्तुत भिडियोहरुमा दाबी गरिएजस्तो सुदन गुरुङ निर्दोष सावित भएका हुन् त? उनी निर्दोष भएको दाबीसहित पोस्ट गरिएका भिडियोहरुको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
सबैभन्दा पहिले सभामुख डीपी अर्याल देखिने भिडियोलाई राम्ररी नियाल्यौँ, जसमा अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रलाई प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरिरहेका छन् ।
भिडियोको जाँचका क्रममा प्रतिनिधि सभाका पछिल्ला बैठकहरुको लाइभ भिडियो हेर्यौँ । यही क्रममा २८ वैशाख २०८३ मा बसेको प्रतिनिधि सभा बैठकको एउटा अंशलाई दाबीसहितको सामग्रीमा जोडिएको पाइयो । तर, उक्त बैठकको दृश्य र ‘सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने’ दाबी एकअर्कासँग सम्बन्धित छैनन् ।
२४ चैत २०८२ मा राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको मर्यादाक्रम (वरियता) हेरफेर गरेका थिए । प्रस्तुत मर्यादाक्रम अनुसार सुरुमा तेस्रो वरियतामा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौँ नम्बरमा पुगेका थिए ।
वास्तवमा, यही सन्दर्भसँग सम्बन्धित राष्ट्रपति कार्यालयको पत्रलाई सभामुख डीपी अर्यालले २८ वैशाखको प्रतिनिधि सभा बैठकमा पढेर सुनाएका हुन् । सोही बैठकमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट आएको अर्को पत्र पनि प्रस्तुत गरेका थिए ।
तर, अर्को पत्र पढेको दृश्य भने दाबीसहितको सामग्रीमा देखिँदैन । सभामुख अर्यालले प्रस्तुत गरेको अर्को पत्रमा ‘गृहमन्त्री सुधन गुरुङले राजिनामा दिएको’ जानकारी दिइएको छ । सम्पत्तिको आय र लगानीको स्रोतबारे विभिन्न प्रश्न उठेपछि ९ वैशाख २०८३ मा गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन समक्ष राजिनामा बुझाएका थिए । राष्ट्रपति कार्यालयले संसदलाई पठाएको पत्रमा गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेनलाई नै तोकिएको जानकारी उल्लेख छ ।

प्रस्तुत प्रतिनिधि सभा बैठकलाई Merolagani संचार माध्यमले फेसबुकमा लाइभ गरेको थियो । सोही लाइभबाट एउटा सानो अंशलाई तोडमोड गरेर भ्रामक दाबीका साथ सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
त्यस्तै सुदन गुरुङले राष्ट्रिय झण्डा समाएर समर्थकहरुसँग हिँडिरहेको दृश्यसँगै उनी निर्दोष भएपछि फेरि गृहमन्त्री बनेको दाबी गरिएको छ । तर, जाँचका क्रममा प्रतिनिधि सभा निर्वाचनका बेला खिचिएका केही भिडियोहरु फेला परे ।
१० मार्च २०२६ मा पोस्ट गरिएको भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको दृश्यबीच केही समानता देखिएका छन् । गोरखा-१ को नतिजा सार्वजनिक भएपछि सुदन गुरुङ आफ्ना समर्थकहरुसँग विजयी र्यालीमा सहभागि भएका थिए । सोही सन्दर्भको भिडियोलाई अहिले भ्रामक दाबीसहित पोस्ट गरिएको देखिन्छ ।
अर्कोतर्फ, यो तथ्यजाँच तयार पार्दासम्म सुदन गुरुङमाथि उठेका प्रश्नबारे कुनै पनि छानबिन समिति वा सम्बन्धित निकायले उनलाई निर्दोष ठहर गरेको छैन । अझ, प्रमुख प्रतिपक्षी दलले सुधन गुरुङमाथि हुने छानबिनबारे प्रश्न उठाएको छ ।
२९ वैशाख २०८३ (आज) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै भीष्मराज आङ्देम्बेले तत्कालीन गृहमन्त्री गुरुङमाथिको छानबिनबारे प्रश्न उठाएका हुन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले अरूलाई भ्रष्टाचारको ‘अल्गोरिदम खेदाइ’ गर्ने तर तत्कालीन गृहमन्त्री गुरुङमाथि छानबिन नगर्ने कस्तो सुशासन हो भनेर प्रश्न गरेका थिए ।

निष्कर्ष
सुदन गुरुङ निर्दोष साबित भएर फेरि गृहमन्त्री बने भन्ने आशयको दाबी भ्रामक रहेको पुष्टि भयो । दाबीसँग जोडिएको भिडियो वास्तवमा २८ वैशाख २०८३ को प्रतिनिधिसभा बैठकको अंश हो, जहाँ राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीहरूको मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढिएको थियो । उक्त भिडियोको सुदन गुरुङ पुनः गृहमन्त्री बनेको विषयसँग कुनै सम्बन्ध छैन । त्यस्तै, सुदन गुरुङ समर्थकहरूसँग देखिएको दृश्य पनि हालको घटनाक्रम नभई प्रतिनिधिसभा निर्वाचनपछि गोरखामा निकालिएको विजय र्यालीको पुरानो भिडियो हो । साथै, यो तथ्यजाँच तयार पार्दासम्म सुधन गुरुङ माथि उठेका प्रश्नबारे कुनै आधिकारिक निकायले उनलाई निर्दोष घोषणा गरेको प्रमाण भेटिएन ।
नतिजा: भ्रामक
हाम्रा स्रोतहरू
प्रतिनिधि सभा बैठक, House of Representatives Nepal
राष्ट्रपति कार्यालय, president.gov.np
सुदन गुरुङ समर्थकहरूसँग, भिडियो
समाचार, shilapatra.com
भिडियो, Merolagani
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]


