Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: नेपालको जेन जी आन्दोलनबाट उदाएका सुदन गुरुङ भारतीय नागरिक हुन् ।
तथ्य: दार्जिलिङका अभियन्ता सुदन गुरुङ र नेपालका जेनजी आन्दोलनका सुदन गुरुङ फरक व्यक्ति हुन् भन्ने तथ्य प्रमाणित हुन्छ ।
‘हामी नेपाल’का संस्थापक एवं नेपालको जेन जी आन्दोलन (२३ भदौ २०८२–२८ भदौ २०८२) बाट उदाएका सुदन गुरुङ पछिल्लो समय चर्चामा छन् । यही सन्दर्भमा उनी भारतीय नागरिक रहेको दाबी विभिन्न सामाजिक संजालमा फैलिसकेको छ ।
१२ सेप्टेम्बर २०२५ का थुप्रै फेसबुक पोस्टहरुमा सुदन गुरुङ भारतीय नागरिक भएको दाबी गरिएको देखिन्छ । प्रस्तुत भिडियोको क्याप्सनमा दार्जिलिङका पत्रकारले सुदन गुरुङ भारतीय नागरिक हुन् भन्दै प्रमाणस्वरूप भिडियो पठाएको दाबी पोस्ट गरिएको छ ।
त्यस्तै हिन्दु राष्ट्र सनातनी नामक फेसबुक पेजमा पनि सोही दाबीलाई फरक तरिकाले प्रस्तुत गरिएको छ । उक्त सामग्रीमा सुदन गुरुङ ‘भारतको सिक्किम/दार्जिलिङ क्षेत्रमा जन्मेर नेपालमा आएर Activist को काम गरिरहेको’ दाबी गरिएको छ ।
PrincezPreety र amar.extra लगायतका टिकटक आइडीमा पनि सुदन गुरुङ भारतीय नागरिक भएको लगायतका दाबी जोडिएको छ । यी दाबीलाई हजारौँ टिकटक प्रयोकर्ताले रियाक्ट गरिसकेका छन् भने लाखौँले हेरिसकेका छन् । यस तथ्यांकले देखाउँछ कि प्रस्तुत दाबी नेपालमा व्यापक फैलिइसकेको छ ।
सुदन गुरुङ भारतीय नागरिक हुन् भन्ने दाबीलाई हामीले तथ्यजाँच गर्यौँ । तथ्यजाँचका क्रममा नेपालको जेन जी आन्दोलनबाट उदाएका सुदन गुरुङ भारतीय नागरिक हुन भन्ने दाबी गलत रहेको पाइयो ।
जाँचका क्रममा हामीले सबैभन्दा पहिले फैलिएको दाबीलाई नियाल्यौँ । जसमा ‘दार्जिलिङका पत्रकारले सुदन गुरुङ भारतीय नागरिक हुन् भन्दै प्रमाणस्वरूप भिडियो पठाएको’ जानकारी दिइएको छ । उक्त भिडियोमा दार्जिलिङका विधायक नीरज जिम्बा तामाङले सुदन गुरुङ भनिएका व्यक्तिलाई भारतको संविधान उपहार दिएको देख्न सकिन्छ ।
यही आधारमा हामीले ‘नीरज जिम्बा तामाङ’ ‘सुदन गुरुङ’ लगायतका वाक्यांशलाई जाँच गर्यौँ । नतिजास्वरुप GNLF-Gorkha National Liberation Front लगायतका युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । ९ मे २०२५ मा पोस्ट गरिएको उक्त भिडियोमा ‘नीरज जिम्बाले गोर्खा अभियन्ता सुधन गुरुङलाई भेटेको र सुरक्षाको लागि खुकुरी दिएको’ जानकारी दिइएको छ ।
फेला परेको तथ्यबाट के पुष्टि हुन्छ भने भारतको दार्जिलिङ क्षेत्रमा पनि सुदन गुरुङ नामक व्यक्तिले अभियान्ताको रुपमा काम गरिरहेका छन् । तर, यसबाट ती सुदन गुरुङ र नेपालका सुदन गुरुङ एउटै व्यक्ति हुन् भन्ने प्रमाणित हुँदैन ।
त्यसैले हामीले थप जाँच गर्यौँ । जाँचका क्रममा सुदन गुरुङको नागरिकता भन्दै एउटा प्रतिलिपि सामाजिक संजालमा फैलाइएको छ । टेकपाना लगायतका संचार माध्यमले यो कागजलाई स्रोत नै मानेर सामग्री तयार पारेका छन् ।
अर्कोतर्फ Sudhan Gurung Gorkha नामक फेसबुक आइडीमा दार्जिलिङका सुदन गुरुङले एउटा नोट जारी गरेको देखियो । उक्त नोटमा दार्जिलिङका सुदन गुरुङले नेपालको प्रदर्शनमा सहभागी सुदन गुरुङ नेपालको नागरिक रहेको र संयोगले आफ्नो नामसँग मिल्न गएको जानकारी दिएका छन् ।
त्यस्तै सुदन गुरुङले आफू नेपाली नागरिक नै रहेको प्रष्ट पार्दै आएका छन् । रिपोर्टर्स क्लबमा भदौ २९ (२०८२) गते आयोजित पत्रकार सम्मेलनमा पनि सुदन गुरुङले आफू नेपाली नागरिक नै रहेको प्रष्ट पारेका थिए ।
सुदन गुरुङ आफूलाई जेन जी अगुवाको रुपमा प्रस्तुत गर्दै आएका छन् । सुरुमा आफूलाई स्वयंसेवकमात्र बताइरहेका सुदन क्रमश: आफूलाई नेताको रुपमा प्रस्तुत गरेका हुन् । ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालकसमेत रहेका सुदन पछिल्लो समय चर्चासँगै विवादमासमेत घेरिएका छन् ।
गुरुङ अन्तरिम सरकार निर्माणको प्रक्रियामा राष्ट्रपति कार्यालयमा भएको छलफलमा समेत सहभागी भएका थिए । त्यसपछि, सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको शपथ ग्रहण समारोहमा पनि उनी उपस्थित देखिएका थिए ।
सुदन गुरुङ २०१५ को महाभूकम्पपछि स्वयंसेवकको रूपमा सक्रिय भएका थिए । उनले भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र पुनर्निर्माणका लागि महत्त्वपूर्ण योगदान दिएको दाबी गर्दै आएका छन् ।
दार्जिलिङका अभियन्ता सुदन गुरुङ र नेपालका जेनजी आन्दोलनका सुदन गुरुङ फरक व्यक्ति हुन् । फेला परेका प्रमाणहरूबाट के देखिन्छ भने भारतको दार्जिलिङमा पनि सुदन गुरुङ नामका अभियन्ता सक्रिय छन्, उनलाई घाइते अवस्थामा GNLF नेता नीरज जिम्बाले भेटेर सम्मान गरेको भिडियोलाई भ्रामक तरिकाले फैलाइएको देखियो । त्यस्तै, दार्जिलिङका सुदन गुरुङले नै सामाजिक सञ्जालमार्फत् स्पष्ट पारेका छन् कि उनी भारतीय नागरिक हुन् र नेपालमा सक्रिय सुदन गुरुङसँग नाम मात्र मिलेको हो ।
वक्तव्य नोट, Sudhan Gurung Gorkha
समाचार स्टोरी, economictimes.indiatimes.com
भिडियो, GNLF-Gorkha National Liberation Front
समाचार, onlinekhabar.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected] ।
Aakash Chhetri
September 11, 2025
Aakash Chhetri
September 10, 2025
Aakash Chhetri
September 10, 2025