Fact Check
सुदन गुरुङ गृहमन्त्री बन्नुअघिको भिडियो, केपी शर्मा ओली पक्राउपछि भ्रामक

दाबी: यो भिआइपी, कुनैपनि ठुला नेता पक्रिएपछि स्वास्थ्यमा समस्या आइहाल्ने, हस्पिटलमा कुनै न कुनै विमारी रिपोर्ट निकालिहाल्ने अनि हस्पिटलमा भर्ना भएर बस्ने, जेल नबस्ने थियो नि ! यसको ठाडो चेतावनी दिएका छन् अहिलेका गृहमन्त्री सुदन गुरुङले..हस्पिटललाई फोन गरेर…।’ भिडियो
तथ्य: गुरुङ बोलिरहेको दृश्य १४ सेप्टेम्बर २०२५ मा पोस्ट गरिएको पुरानो भिडियो भएको पुष्टि भयो, जो बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित केही व्यक्तिहरूसँगको फोन संवाद थियो । यसको वास्तविक सन्दर्भ केपी शर्मा ओली वा रमेश लेखकको पक्राउसँग सम्बन्धित छैन ।
गृहमन्त्री सुदन गुरुङले ‘म त्यो हस्पिटललाई छोड्दै छोड्दिन’ भन्ने अभिव्यक्ति दिएको भिडियो सामाजिक संजालमा फैलिरहेको छ । प्रस्तुत भिडियोलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको, साथै ओली अस्पतालमा भर्ना भएको सन्दर्भसमेत पोस्ट गरिएको छ ।
निरोज दाइ नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा केपी शर्मा ओली, रमेश लेखक र गृहमन्त्री सुदन गुरुङ देखिने छुट्टाछुट्टै दृश्यहरु देख्न सकिन्छ । २८ मार्च २०२६ मा पोस्ट गरिएको भिडियोमा ठुला नेता पक्राउ परेपछि अस्पतालमा भर्ना हुने विषयमा गृहमन्त्री सुदन गुरुङले फोन गरेर ठाडो आदेश दिएको दाबी गरिएको छ ।

दाबीकर्ता ती व्यक्तिले भनेका छन्- ‘केपी ओली र रमेश लेखक पक्राउ परेका छन् आज । केपी ओली पक्राउ भएको केही घण्टामै उनको स्वास्थ्यमा समस्या देखिएर, उनी स्वास्थ्य चेकअपको लागि गएका थिए र उनी अहिले भर्ना छन् । यो भिआइपी, कुनैपनि ठुला नेता पक्रिएपछि स्वास्थ्यमा समस्या आइहाल्ने, हस्पिटलमा कुनै न कुनै विमारी रिपोर्ट निकालिहाल्ने अनि हस्पिटलमा भर्ना भएर बस्ने, जेल नबस्ने थियो नि ! यसको ठाडो चेतावनी दिएका छन् अहिलेका गृहमन्त्री सुदन गुरुङले..हस्पिटललाई फोन गरेर…।’
त्यस्तै Prakashacharya5280 नामक टिकटक आइडीमा पनि सुदन गुरुङले अस्पताललाई चेतावनी दिइरहेको दृश्य पोस्ट गरिएको छ । प्रस्तुत भिडियोमा गुरुङले भनेका छन्- ‘यो कुरा लेखेर राख्नु कि म त्यो हस्पिटललाई छोड्दै छोड्दिन, आजदेखि तिनिहरुलाई राम्रोसँग काम गर भन्नु है…तुरुन्तै त्यो हस्पिटल म्यानेज चाहियो ।’ प्रस्तुत भिडियोको क्याप्सन र थमनेलमा ‘गृहमन्त्री सुदन गुरुङ’ लेखिएको छ ।
२७ मार्च २०२६ मा पोस्ट गरिएको भिडियोमा ७५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरेका छन् । दुई हजारभन्दा बढी सेयर भइसकेको भिडियोलाई ११ लाखभन्दा बढी टिकटक प्रयोगकर्ताले हेरेका छन् ।

त्यसैगरी ‘गृहमन्त्री सुदन गुरुङ’ लेखिएको भिडियो Social Media Nepal र खिम राज के सि लगायतका फेसबुक आइडीमा पनि पोस्ट गरिएको पाइयो । प्रस्तुत विवरणहरुबाट के पुष्टि हुन्छ भने ‘गृहमन्त्री सुदन गुरुङ’ लेखेर पोस्ट गरिएको भिडियो सामाजिक संजालमा व्यापक फैलिरहेको छ ।

के सुदन गुरुङले गृहमन्त्री नियुक्त भइसकेपछि, केपी शर्मा ओलीलाई पक्राउ गरेर अस्पतालमा राखिएको सन्दर्भमा ‘म त्यो हस्पिटललाई छोड्दै छोड्दिन’ भन्ने अभिव्यक्ति दिएका हुन् त? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
जाँचका क्रममा हामीले सबैभन्दा पहिले, दाबीसहितको भिडियोमा देखिने सुदन गुरुङको दृश्यबाट केही स्क्रिनसटहरु लियौँ । स्क्रिनसट तस्बिरुहरुलाई रिभर्स इमेज सर्च गर्दा केही नतिजाहरु फेला परे । जसमध्ये, Hami Nepal फेसबुक पेजमा पोस्ट गरिएको पुरानो भिडियो महत्वपूर्ण छ ।
१४ सेप्टेम्बर २०२५ मा पोस्ट गरिएको प्रस्तुत भिडियोमा हामी नेपाल संस्थाका तत्कालीन अध्यक्ष सुदन गुरुङले फोन सम्बाद गरिरहेको दृश्य देखिन्छ । यही दृश्यको एउटा अंशमा गुरुङले ‘म त्यो हस्पिटललाई छोड्दै छोड्दिन’ भन्ने अभिव्यक्ति फोनमार्फत् दिइरहेका छन् ।
भिडियोको क्याप्सनमा लेखिएको छ- ‘BPKIHS, we have not forgotten our long-standing movement to protect Ghopa and ensure the hospital serves the public interest. Concerns about mismanagement, negligence, and corruption-especially where patient care and lives have been affected-must be addressed with urgency and transparency. We will continue to monitor progress and push for accountability until the hospital delivers the standards our community deserves.’

वास्तवमा, यो भिडियो जेनजी आन्दोलनको रापतापका सन्दर्भमा पोस्ट गरिएको थियो । ५७ सेकेन्डको दृश्यमा बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित एक व्यक्तिलाई फोन कुराकानीमा सुदनले भनेका छन्-
‘…मैले तपाईंलाई पनि धेरै सम्झाएको थिएँ, मान्छे गनेन है न । एउटा कुरा बुझ्नु भनेदेखि सबैजनालाई भन्दिनु, सुदन जी आउँदै हुनुहुन्छ, जो जो ले पैसा हिनामिना गरेको छ, एक एक जनाको पछाडि आउँदैछ है सुदनजी भनेर भन्दिनु है । जतिजना तिनिहरु के गर्या छ, डाक्टरदेखि लिएर नर्सदेखि लिएर माथिसम्म म एक एक जनाको पछाडि आउँदैछु है न । जतिजना मरेको छ त्यो हस्पिटलमा, एक एक जनाको म बदला लिन्छु भन्या छु है जगत जी । यो कुरा लेखेर राख्नु कि म त्यो हस्पिटललाई छोड्दै छोड्दिन । आजदेखि तिनिहरुलाई राम्रोसँग काम गर भनेर भन्नु है । अहिले नै तपाईं भन्नु, आजदेखि सुध्री, तुरुन्तै अहिले त्यो हस्पिटल मलाई म्यानेज चाहियो, अहिले नै…’
प्रस्तुत तथ्यबाट के पुष्टि हुन्छ भने जेनजी आन्दोलनबाट चर्चित बनेपछि सुदन गुरुङले बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध केही मानिसहरुसँग फोनमा कुराकानी गरेका थिए । गुरुङ यसअघि २०७९ सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार गर्न युवाहरूले संचालन गरेको ‘घोपा बचाउ अभियान’मा संलग्न भएका थिए । त्यहाँ गुरुङ लगायतको टीमले बीपी प्रतिष्ठानमा लामो समयदेखि अनियमितता, भ्रष्टचार बेथिति, बढेको भन्दै त्यसको विरोधमा बेला–बेला आन्दोलन तथा भेला गर्ने गरेको थियो ।

यही क्रममा जेनजी आन्दोलन लगत्तै (१४ सेप्टेम्बर २०२५ ) सुदन गुरुङले बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध मानिसहरुलाई फोन सम्पर्क गरेको देखिन्छ । यही सन्दर्भमा पोस्ट गरिएको एउटा दृश्यलाई वर्तमान घटनाक्रमसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
वर्तमान समयमा सुदन गुरुङ गृहमन्त्रीको भूमिकामा छन्, भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको पुष्टि भइसकेको छ । १४ चैत २०८२ बिहान पक्राउ परेका केपी शर्मा ओलीलाई चिकित्सकको निगरानीमा अस्पतालमै राखिएको समाचार सरकारी संचार माध्यम gorkhapatraonline.com ले प्रकाशित गरेको पाइयो ।

१७ चैत २०८२ मा प्रकाशित समाचार अंशमा यस्तो छ- ‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका अध्यक्ष ओली हाल चिकित्सकको निगरानीमा रहनुभएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिनुभयो ।’
यही सन्दर्भमा सुदन गुरुङ ‘गृहमन्त्री’ नियुक्त हुनु अघिको र फरक सन्दर्भमा ‘म त्यो हस्पिटललाई छोड्दै छोड्दिन’ भन्ने अभिव्यक्ति दिएको भिडियोलाई वर्तमान घटनाक्रमसँग जोडेर सामाजिक संजालमा फैलिएको देखियो । तर उक्त भिडियो वर्तमान घटनाक्रम र ‘ठुला नेता पक्राउ पर्दा अस्पताल भर्ना’ हुने विषयसँग सम्बन्धित छैन ।

निष्कर्ष
गृहमन्त्री सुदन गुरुङले विगतमा ‘म त्यो हस्पिटललाई छोड्दै छोड्दिन’ भनेको दृश्यलाई अतिरंजित बनाएर पोस्ट गरिएको पाइयो । गुरुङ बोलिरहेको दृश्य १४ सेप्टेम्बर २०२५ मा पोस्ट गरिएको पुरानो भिडियो भएको पुष्टि भयो, जो बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित केही व्यक्तिहरूसँगको फोन संवाद थियो । यसको वास्तविक सन्दर्भ केपी शर्मा ओली वा रमेश लेखकको पक्राउसँग सम्बन्धित छैन । वर्तमानमा सुदन गुरुङ गृहमन्त्री हुन् र केपी ओली तथा रमेश लेखक १४ चैत २०८२ मा पक्राउ परेका थिए, जसमा ओली चिकित्सकको निगरानीमा अस्पतालमै राखिएका हुन् । त्यसैले, पुरानो भिडियोको वास्तविक सन्दर्भलाई हालको घटनासँग जोडेर भ्रामक कन्टेन्ट फैलाइएको पाइयो ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, Hami Nepal
समाचार, gorkhapatraonline.com
समाचार, setopati.com समाचार, himalkhabar.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]


