Sunday, May 25, 2025
नेपाली

Fact Check

Fact Check: संविधान विरोधी भाषणको भिडियो सामाजिक संजालमा फैलियो, प्रचण्डले ‘गणतन्त्र उल्ट्याउने’ भनेका हुन्?

banner_image

दाबी: प्रधानमन्त्रीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई गणतन्त्र मन नपरेको र मौका आउनसाथ यसलाई उल्ट्याउने अभिव्यक्ति दिएका छन् ।
तथ्य: नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाइएको पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाषणको पूरानो  भिडियोलाई तोडमोड गरी सामाजिक संजालमा
फैलाइएको पाइयो ।

सामाजिक संजालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित एउटा भिडियो सामग्री फेला परेको छ । उक्त भिडियोमा प्रधानमन्त्रीले आफूलाई जिन्दगीभर संघीय लोकतन्त्रिक गणतन्त्र मन नपरेको र मौका आउनसाथ यसलाई उल्ट्याउने अभिव्यक्ति दिएको देखिन्छ ।

Vishnugyawali नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषण गरिरहेको दृश्य देख्न सकिन्छ । उक्त भाषणको थमनेलमा लेखिएको छ- ‘गणतन्त्र मन परेको छैन, बाध्य भएर गरेको हो, मौका आयो भने उल्ट्याउने हो, प्रधानमन्त्री भन्नुहुन्छ- दलित महिलालाई कोटा छुट्याउन पनि मन परेको छैन ।’   

उल्लेखित आशयको भाषण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिडियोमा गरेको देखिन्छ । भिडियोमा प्रधानमन्त्रीले भनेका छन्‘मलाई जिन्दगीभर यो गणतन्त्र मन नै परेको होइन, बाध्य भएर गरेको हो, त्यसकारण मौका आयो भने यो उल्ट्याउने हो । मलाई यो संघीय लोकतन्त्रिक गणतन्त्र पनि मन परेको छैन, मलाई यो समावेशी, समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मन परेको छैन ।’

६ दिनअघि पोस्ट गरिएको प्रस्तुत भिडियोमा करिब ६ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब चार सय प्रतिक्रिया आइसकेको भिडियो सामग्रीलाई करिब एक हजार टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकबाट के प्रष्ट हुन्छ भने उल्लेखित भिडियो सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै संविधान विरोधी अभिव्यक्ति दिएको दाबी गर्ने भिडियो आगामी दिनमा झनै द्रुत गतिमा फैलिने देखिन्छ । यही कारण हामीले प्रधानमन्त्रीको उक्त भाषणको वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र गणतन्त्र विरोधी अभिव्यक्ति दिएको संकेत गर्दै माथि उल्लेखित भिडियो सामग्री सामाजिक संजालमा फैलाइएको छ । प्रधानमन्त्री आफैँले ‘गणतन्त्र मन परेको छैन, बाध्य भएर गरेको हो’ भनेको भिडियो पनि उल्लेखित सामग्रीमा देख्न सकिन्छ । प्रस्तुत भिडियोको वास्तविकता पत्ता लगाउन हामीले यो तथ्यजाँच सुरु गर्‍यौँ । 

जाँचका क्रममा हामीले सबैभन्दा पहिले ‘गणतन्त्र प्रचण्ड’ ‘प्रधानमन्त्री’ ‘पुष्पकमल दाहाल’ लगायतका किवर्ड तयार पार्‍यौँ । यी किवर्डहरूलाई हामीले युट्युबमा सर्च गर्दा केही नतिजाहरू फेला परे । जसमध्ये Naya Patrika नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो हाम्रो नजरमा पर्‍यो । करिब दुई वर्षअघि अर्थात् १ नोभेम्बर २०२१ मा पोस्ट गरिएको भिडियोको शीर्षक छ- ‘ओलीले ज्ञानेन्द्रका मान्छेहरुसँग मौका आए गणतन्त्र उल्ट्याउनुपर्छ भनेछन् : प्रचण्ड’ । 

फेला परेको प्रस्तुत भिडियो र माथि उल्लेखित सामाजिक संजालमा फैलिएको भिडियोमा समानता देखिएको छ । मूल भिडियो‍मा रहेको भाषणलाई छाँटकाँट गरी एउटा अंश मात्र सामाजिक संजालमा फैलाइएको देखिन्छ । मूल भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसरी भाषण गरेका छन्-   

‘ओली प्रवृत्ति भन्छौँ नि हामी गत सालदेखि, हामी एउटा नयाँ खालको एउटा कम्युनिस्ट नामधारी प्रतिक्रियावादी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारीको विरुद्ध लड्न बाध्य भइयो हामी । उनले भन्थे सधैँ- मलाई यो संघीय लोकतान्त्रिक गणतन्त्र नै मन परेको छैन, मलाई यो समावेशी समानुपातिक भनेर दलित महिलालाई कोटा छुट्याएको नै मन परेको छैन, अस्ति त भनेछन्, ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर भने भन्ने सूचना मैले पाएँ, मलाई यो जिन्दगीभरी यो गणतन्त्र मन परेकै होइन, बाध्य भएर गरेको हो । त्यसकारण मौका आयो भने यो उल्टाउने हो भनेछन् ।’

करिब दुई वर्ष पूरानो मूल भिडियोको भाषणलाई तोडमोड गरी सामाजिक संजालमा फैलाइएको प्रस्तुत तथ्यबाट प्रष्ट हुन्छ । यसपछि हामी भिडियो खिचिएको सन्दर्भ पत्ता लगाउनतिर लाग्यौँ । यही क्रममा २०७८ कार्तिक १५ गते प्रकाशित एउटा समाचार फेला पर्‍यो, यो समाचारमा पनि प्रस्तुत मूल भिडियो राखिएको छ ।    

फेला परेको समाचार अनुसार तत्कालीन नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराजा ज्ञानेन्द्रका मानिससँग भेटेर संघीय लोकतान्त्रिक गणतन्त्र आफूलाई मन नपरेकोले मौका आए उल्टाउने बताएको सूचना पाएको दाबी गरेका थिए । 

२०७८ कार्तिक १५ गते कीर्तिपुरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बौल्दै प्रचण्डले प्रस्तुत भाषण गरेको पाइयो । यही सन्दर्भको अर्को समाचार पनि फेला पर्‍यो । NagarikNews मा २०७८ कार्तिक १५ गते प्रकाशित समाचार अनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका थिए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र र संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै सामाजिक संजालमा फैलाइएको भिडियो भ्रामक रहेको पुष्टि भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै बोलिएको करिब दुई वर्ष पूरानो भिडियोलाई तोडमोड गरी सामाजिक संजालमा फैलाइएको देखिन्छ । केपी शर्मा ओलीमाथि प्रस्तुत आरोप लगाएको समय पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भइसकेका थिएनन् ।

निष्कर्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले ‘मलाई गणतन्त्र मन परेको छैन’ भनेको भिडियो भ्रामक छ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाइएको पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाषणको पूरानो  भिडियोलाई तोडमोडगरी सामाजिक संजालमा फैलाइएको पाइयो ।

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

Naya Patrika
NagarikNews
Nayapatrikadaily


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

863

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage
cookie

Our website uses Cookies

We use cookies and similar technologies to help personalise content,tailor and measure ads, and provide a better experience. By clicking OK or turning an option on in Cookie Preferences, you agree to this, as outlined in our Cookie Policy.