प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन २०७९ को पूरा मतपरिणाम लगभग सार्वजनिक भइसकेको छ । सार्वजनिक मतपरिणाम अनुसार कुनैपनि दलको बहुमत आएको छैन । यसबाट के प्रष्ट हुन्छ भने अब बन्ने सरकार कम्तिमा दुई दलको सहकार्यमा गठन हुनेछ । यही सन्देशसहितको मतपरिणाम सार्वजनिक भइरहेका बेला सामाजिक संजालमा दाबीसहितको एउटा सामग्री फैलिएको छ ।
KASHIRAM RAI नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा एउटा अडियोसहितको भिडियो जोडिएको छ । उक्त भिडियोमा केही थमनेलसँगै केपी शर्मा ओली र पुष्पकमल दाहालसमेतको तस्बिर राखिएको छ । उक्त थमनेलमा वर्तमान सत्ता गठबन्धन फुटेको दाबी गरिएको छ ।
भिडियोको थमनेलमा लेखिएको छ- ‘भर्खरै गठबन्धन तोडी प्रचण्ड एमालेमा प्रवेश गरे, एमाले-माओवादी मिलेर सरकार बनाउने तयारी ।’

पूर्णरुपमा मतपरिणाम सार्वजनिक नहुँदै प्रस्तुत दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिएपछि हाम्रो ध्यान अडियो । अहिलेको अवस्थामा एउटा पार्टी अर्को पार्टीसँग मिल्नुले आगामी सरकार गठनको संकेत देखिन्छ । त्यसैले प्रचण्ड एमालेमा प्रवेश गरेको र एमाले-माओवादी मिलेर सरकार बनाउने दाबीमाथि हामीले खोजबिन गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
अहिलेसम्म सार्वजनिक प्रत्यक्षतर्फको मतपरिणाम अनुसार शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस पहिलो स्थान, केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले दोस्रो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र तेस्रो र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी चौथो स्थानमा देखिएका छन् ।
यस निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र सत्ता गठबन्धनमा सम्मिलित एउटा पार्टी हो । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस निर्वाचनमा पहिलो दल बन्ने बाटोतर्फ उन्मुख छ । नेपाली कांग्रेस पनि सोही गठबन्धनको साझेदार दल हो । निर्वाचनअघिको गठबन्धनले निर्वाचनपछि पनि सरकार बनाउन सक्ने मत प्राप्त गरेको छ ।
अर्कोतर्फ यस निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्ड लगायतका गठबन्धनका नेताहरूले प्रधानशत्रुका रुपमा व्याख्या गरेका थिए । यही सेरोफेरोमा गठबन्धन तोडेर प्रचण्ड एमालेमा प्रवेश गरे, एमाले-माओवादी मिलेर सरकार बनाउने तयारी गरिएको दाबी गरिएको सामग्री पोस्ट गरिएको छ ।
प्रस्तुत दाबीको मूल स्रोत टिकटक भने होइन । हामीले उक्त दाबीसहितको भिडियोलाई पुन: एकपटक नियाल्दा त्यहाँ एउटा युट्युब च्यानलको लोगो भेटियो । हामीले सोही लोगोलाई आधार बनाएर NEPALI KHABAR TV नामक युट्युब च्यानलमा तीन दिनअघि पोस्ट गरिएका भिडियो हेर्यौँ । उक्त युट्युब च्यानलले भ्रामक रुपमा सामग्री उत्पादन गरेको पाइयो । सनसनीपूर्ण हेडलाइन राखेर भ्रामक सन्देश दिनेगरी तयार पारिएको उक्त सामग्रीको एउटा अंश टिकटक प्रयोगकर्ताले पोस्ट गरेको देखिन्छ ।
तर, दाबीसहितको सामग्रीमा भनिएजस्तो प्रचण्डले गठबन्धन तोडेर एमालेमा प्रवेश गरेका छैनन् र पूर्ण मतपरिणाम सार्वजनिक भइनसकेको यो अवस्थामा एमाले-माओवादी मिलेर सरकार बनाउने तयारी पनि गरिएको छैन ।
देशभरको मतपरिणाम सार्वजनिक भइरहेको समयमा मंसिर ८ गते केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिएका थिए । ओलीको सचिवालय अनुसार भेट गर्ने प्रशंगमा प्रचण्डले चुनावको अन्तिम परिणाम आइसकेपछि छलफल गर्ने बताएका थिए । फोनमा सहकार्यबारे बलियो ढंगले कुराकानी नभएको ओलीको सचिवालयले न्युजचेकरलाई जानकारी दिएको छ ।
अर्कोतर्फ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले साझेदार दलका शीर्ष नेतृत्वहरूबीच आजै (मंसिर १२) छलफल भएको छ । देउवाले पाँचदलीय गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग छलफल गरेका थिए, जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसमेत रहेका छन् ।
पछिल्लो समय देखिएका राजनीतिक घटनाक्रमहरुले प्रष्ट पार्छन् कि यो सामग्री तयार पार्दासम्म प्रचण्डले गठबन्धन तोडेर एमालेमा प्रवेश गरेका छैनन् र पूर्ण मतपरिणाम सार्वजनिक भइनसकेको यो अवस्थामा एमाले-माओवादी मिलेर सरकार बनाउने तयारी पनि गरिएको छैन । तीन दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्री भ्रामक छ ।
निष्कर्ष
यो सामग्री तयार पार्दासम्म एमाले-माओवादी मिलेर सरकार बनाउने तयारीबारे कुनैपनि आधिकारिक सूचना सार्वजनिक भएको छैन र अर्कोतर्फ प्रचण्डले गठबन्धन तोडेर एमालेमा प्रवेश गरेको दाबी भ्रामक छ । प्रचण्डले गठबन्धनका साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेको खबर संचार माध्यमहरूमा आइरहेका छन् ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co