Fact Check
Fact Check: के शेरबहादुर देउवालाई डडेल्धुरामा ‘जुत्ताको माला लगाएर गाउँ निकाला’ गरिएको हो?

तथ्य: पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुरामा स्थानीय जनताले ‘जुत्ताको माला लगाएर गाउँ निकाला’ गरेको दाबी ।
दाबी: फेब्रुअरी २०१८ को फरक र पुरानो सन्दर्भको घटनालाई शेरबहादुर देउवासँग जोड्दै भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा गृहजिल्ला डडेल्धुरामा रहेका देउवालाई स्थानीय जनताले ‘जुत्ताको माला लगाएर गाउँ निकाला’ गरेको दाबी गरिएको छ ।
Newstimenepal24 नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा मानिसहरुबीच असहज परिपस्थिति सृजना भएको भिडियो जोडिएको छ । उक्त भिडियोसँगै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसमेत जोडिएको देखिन्छ । साथै भिडियोमा जोडिएको अडियोमा गृहजिल्ला डडेल्धुरामा रहेका देउवालाई स्थानीय जनताले ‘जुत्ताको माला लगाएर गाउँ निकाला’ गरेको दाबी गरिएको छ ।
सोही सामग्रीको थमनेलमा लेखिएको छ- ‘Breaking news डडेल्धुरामा रहेका शेरबहादुर देउवालाई त्यहाँका जनताले जुत्ताको माला लगाएर गाउँ निकाला’ ।

दाबीसहितको सामग्रीमा साढे ४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । १ सय ३० भन्दा बढी सेयर भइसकेको उक्त सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखिन्छ ।
के पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई डडेल्धुराका स्थानीय जनताले ‘जुत्ताको माला लगाएर गाउँ निकाला’ गरेका हुन् त? दाबीसहित पोस्ट गरिएको भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
सबैभन्दा पहिले हामीले दाबीसहितको भिडियोलाई राम्रोसँग जाँच गर्यौँ । भिडियोमा कुनै समय डा.गोविन्द केसीको अभियानमा संलग्न व्यक्तिहरुलाई पनि देख्न सकिन्छ । यही आधारमा हामीले हामीले ‘डा.गोविन्द केसीका समर्थक’ ‘झडप’ लगायतका वाक्यांश जाँच गर्यौँ । जाँचको नतिजास्वरुप Nepal Live युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
२० फेब्रुअरी २०१८ मा पोस्ट गरिएको भिडियोमा केही व्यक्तिहरुले नारावाजी गरिरहेको दृश्य देख्न सकिन्छ । साथै भिडियोको शिर्षकमा लेखिएको छ- ‘डा.गोविन्द केसीका समर्थक’ ।
फेला परेको भिडियो र दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियोबीच केही समानता देख्न सकिन्छ ।
थप जाँचका क्रममा ८ फागुन २०७४ (२० फेब्रुअरी २०१८) मै प्रकाशित केही समाचार फेला परे । setopati र pahilopost लगायतका संचार माध्यममा प्रकाशित समाचार अनुसार तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध डा.गोविन्द केसीको समर्थकले काठमाडौँमा प्रदर्शन गरेका थिए ।
सर्वोच्च अदालतमा हाजिर हुन पुगेका डा.केसीका समर्थकहरुले बबरमहलस्थित जिल्ला प्रसाशन कार्यालय घेराउ र नाराबाजीसमेत गरेका थिए । सोही प्रदर्शनमा सहभागि मिलन पाण्डेले आफ्नो फेसबुक आइडीमा तस्बिरहरु पोस्ट गरिएको भेटियो ।

फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने फागुन २०७४ मा डा.गोविन्द केसी अवहेलना मुद्दामा हाजिर हुन सर्वोच्च अदालत पुगेका थिए । यही क्रममा केसीका समर्थकहरुले प्रधानन्यायाधीश पराजुलीविरुद्ध कडा नारावाजी गरेका थिए । साथै प्रदर्शनमा सहभागि भएका युवाहरुलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडिबाट पक्राउ गरेको थियो ।
सोही क्रममा खिचिएको भिडियोलाई पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।
भिडियोसहित पोस्ट गरिएको दाबीबारे थप जाँच गर्ने क्रममा हामीले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा सक्पर्क गर्यौँ । जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख डम्बर बिष्टले सामाजिक संजालमा फैलाइएजस्तो घटना डडेल्धुरामा नघटेको प्रष्ट पारे ।
निष्कर्ष
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुरामा स्थानीय जनताले ‘जुत्ताको माला लगाएर गाउँ निकाला’ गरेको दाबी भ्रामक छ । फेब्रुअरी २०१८ को फरक र पुरानो सन्दर्भको घटनालाई शेरबहादुर देउवासँग जोड्दै भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, Nepal Live
समाचार, setopati
समाचार, pahilopost
फेसबुक आइडी, Milan Pandey
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।