Fact Check
Fact Check: के हो सिआइबीसँग जोड्दै पोस्ट गरिएको भिडियोको वास्तविकता?

Claim
Fact
दाबी: गगन थापा र धनराज गुरुङलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गोप्य सूचना निकालेको छ ।
तथ्य: सिआइबीसँग असम्बन्धित पुरानो घटनाको भिडियोलाई भ्रामक र अपुष्ट जानकारीसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापासँग सम्बन्धित सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त सामग्रीमा गगन थापा र धनराज गुरुङलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गोप्य सूचना निकालेको दाबी गरिएको छ ।
It’s News Time नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपाल प्रहरीका वरिष्ठ अधिकारी देखिने दृश्य जोडिएक छ । भिडियोमा उनले अग्रपंतिमा आएर केही बोलिरहेको देख्न सकिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘गगन थापा र धनराज गुरुङलाई पक्राउ पर्ने सम्भावना, सिआइबीले गोप्य सूचना निकालेको छ ।’
१७ नोभेम्बर २०२४ मा पोस्ट गरिएको भिडियोमा तीन हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यही अवधिमा एक सयभन्दा बढी प्रतिक्रिया आएको दाबीसहितको सामग्री सय भन्दा बढी पटक सेयर भइसकेको छ ।

के नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गोप्य सूचना निकालेको हो त? दाबीसँगै जोडिएको भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालाई जोडिएको भिडियोमा नेपाल प्रहरीका वरिष्ठ अधिकारीसमेत देखिएका छन् । जाँचका क्रममा उनी नेपाल प्रहरीका एसएसपी श्याम कृष्ण अधिकारी रहेको पत्ता लाग्यो ।
भिडियोको जाँचका क्रममा हामीले गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ । साथै ‘श्यामकृष्ण अधिकारी’ लगायतका विभिन्न वाक्यांशसमेत जाँच गर्यौँ । जाँचको नतिजास्वरुप Online Khojkhabar TV नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । ४ सेप्टेम्बर २०२१ मा पोस्ट गरिएको भिडियोमा ‘बाँके प्रहरीदले नेपालगंज विमानस्थलबाट चार किलो सुनसहित दुईजना पक्राउ’ गरेको दाबी गरिएको छ ।
फेला परेको तीन वर्ष पुरानो भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको दृश्यमासमानता देख्न सकिन्छ । यही क्रममा हामीले थप जाँच गर्यौँ । ‘बाँके प्रहरी’ ‘नेपालगंज विमानस्थल’ ‘४ किलो सुन’ ‘दुई जना पक्राउ’ लगायतका वाक्यांश सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप Nagarik Samaj नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियो फेला पर्यो । ४ सेप्टेम्बर २०२१ मा पोस्ट गरिएको भिडियोमा तत्कालीन बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलाई देख्न सकिन्छ । भिडियोमा उनले नेपालगंज विमानस्थलबाट ४ किलो सुनसहित दुई जना पक्राउ परेको घटनाबारे जानकारी दिइरहेका छन् ।
थप जाँचका क्रममा Dastabej.com नामक फेसबुक पेजमा पनि अर्को भिडियो फेला पर्यो । ७ सेप्टेम्बर २०२१ मा पोस्ट गरिएको यो भिडियो दाबीसहित पोस्ट गरिएको दृश्यसँग मिल्दो छ ।

पुरानो घटनाको जाँचका क्रममा हामीले annapurnapost.com मा प्रकाशित फेला पार्यौँ । १८ भदौ २०७८ मा प्रकाशित समाचार अनुसार बाँके प्रहरीले राँझास्थित नेपालगञ्ज विमानस्थलबाट अवैध सुनसहित दुई जना ब्यक्तिलाई पक्राउ गरेको थियो । उक्त समाचारमा जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रमुख एसपी श्यामकृष्ण अधिकारीको भनाई पनि राखिएको छ ।
फेला परेका तथ्यहरुबाट के प्रष्ट हुन्छ भने अवैध सुन र संलग्न आरोपीलाई सार्वजनिक गरेपछि खिचिएको बाँके जिल्लाका तत्काली प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीसँग सम्बन्धित भिडियोलाई सिआइबीसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
अर्कोतर्फ दाबीसहितको भिडियोमा देखिएका श्याम कृष्ण अधिकारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा छैनन् । पछिल्लो समय श्याम कृष्ण अधिकारी एसएसपी भइसकेका छन् र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रवक्ताको रुपमा कार्यरत छन् ।

२०७८ मा खिचिएको फरक सन्दर्भको घटनासँग सम्बन्धित भिडियोलाई सिआइबी र नेपाली कांग्रेसका नेताद्वय गगन थापा र धनराज गुरुङसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।
निष्कर्ष
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गोप्य सूचना निकालेको भन्दै पोस्ट गरिएको भिडियोले भ्रामक सन्देश दिएको छ । सिआइबीसँग असम्बन्धित पुरानो घटनाको भिडियोलाई भ्रामक र अपुष्ट जानकारीसँग जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, annapurnapost.com
भिडियो, Online Khojkhabar TV
भिडियो, Dastabej.com
भिडियो, Nagarik Samaj
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।