Wednesday, May 14, 2025

Fact Check

Fact Check: पाँच वर्ष पुरानो भिडियोको सन्दर्भ लुकाएर रास्वपासँग जोडियो  

Written By Aakash Chhetri
Sep 12, 2024
banner_image

Claim

image

Fact

image

दाबी: रास्वपाका सभापति रवि लामिछानेको पक्षमा हजारौँ, लाखौँ नेपाली जनता सडकमा आएको दाबी ।  
तथ्य: पुरानो र फरक सन्दर्भमा खिचिएको भिडियोलाई राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोड्दै  वर्तमान सन्दर्भमा पोस्ट गरिएको पाइयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग जोड्दै एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोमा रास्वपाका सभापति लामिछानेको पक्षमा हजारौँ, लाखौँ नेपाली जनता सडकमा आएको दाबी गरिएको छ ।

रा.स्व.पा.समर्थक हामी टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा मानिसहरुको भीड सडकमा उत्रिएको दृश्य देख्न सकिन्छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘जय घण्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको समर्थनमा हजारौँ लाखौँ जनता सडकमा । मिशस ८४ मा नयाँ संविधान जारी गरौँ, अहिलेको संविधान खारेज गरौँ ।’ 

९ सेप्टेम्बर २०२४ मा पोस्ट गरिएको भिडियो सामाजिक संजालमा फैलिनेक्रम जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जोडिएको भिडियो कहिलेको हो त? भिडियोको सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

‘मिशस ८४ मा नयाँ संविधान जारी गरौँ, अहिलेको संविधान खारेज गरौँ’ लेखेर पोस्ट गरिएको भिडियोमा मानिसहरुको भीड देख्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले हामीले उक्त भिडियोको स्क्रिनसटलाई गुगल लेन्समा सर्च गर्‍यौँ ।

जाँचको नतिजास्वरुप Nepali Culture नामक linkedin पेजमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । तर, उक्त भिडियो हालसालै पोस्ट भएको भने होइन । २०१९ मा पोस्ट गरिएको उक्त भिडियोको क्याप्सनमा ‘Rabi Lamichhane Update’ लेखिएको छ । साथै उक्त भिडियोमा ‘रबि दाई हाई हाई’ लगायतका नाराहरु पनि सुन्न सकिन्छ । 

 पाँच वर्षअघि पोस्ट गरिएको भिडियोको जाँचका क्रममा हामीले थुप्रै वाक्यांश जाँच गर्‍यौँ । नतिजाहरु उपलब्ध देखिएनन् । त्यसैले भिडियो खिचिएको स्थान पत्ता लगाउन सेप्टेम्बर २०२३ मा अपडेट गरिएको गुगल म्याप स्ट्रिट भ्यू नियाल्यौँ । नतिजास्वरुप दाबीसहितको भिडियो काठमाडौँको नयाँ बानेश्वरस्थित मदन भण्डारी सडकको बुद्धनगर क्षेत्रसँग मिल्दोजुल्दो देखियो । 

दाबीसहितको भिडियो नयाँ बानेश्वर क्षेत्रमा खिचिएको पत्ता लगेपछि हामीले सामाजिक संजालहरुमा ‘रबि लामिछनेका समर्थक’ ‘नयाँ बानेश्वर’ लगायतका वाक्यांश सर्च गर्‍यौँ । जाँचको नतिजास्वरुप फडिन्द्र श्रेष्ठ नामक फेसबुक आइडीमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । 

फेला परेको भिडियो पनि पाँच वर्ष पहिले नै पोस्ट गरिएको देखिन्छ । २४ अगस्ट २०१९ पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ- ‘रबि लामिछाने लाई रिहा गर । काठमाडौँ बानेश्वर ।Camara- Phadindra Shrestha’

फेला परेका नतिजाका आधारमा हामीले पाँच वर्ष पुरानो घटनाको जाँच गर्‍यौँ । 

त्यो बेला पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा तत्कालीन टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । साथै उनका समर्थकहरुले काठमाडौँसँग विभिन्न ठाउँमा लामिछानेको पक्षमा प्रदर्शन गरेका थिए । 

२४ अगस्ट २०१९ मा spotlight nepal मा  प्रकाशित समाचार अनुसार रवि लामिछानेका समर्थकहरुले नयाँ बानेश्वरमा समेत प्रदर्शन गर्दै रिहाइको माग गरेका थिए । दाबीसहितको भिडियोसँग मिल्ने अन्य भिडियो पोस्ट गरिएको मिति र यो समाचार प्रकाशित भएको मिति एउटै देखिन्छ ।

​​निष्कर्ष

‘मिशस ८४ मा नयाँ संविधान जारी गरौँ, अहिलेको संविधान खारेज गरौँ’ लेखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे पक्षमा हजारौँ, लाखौँ नेपाली जनता सडकमा आएको दाबी भ्रामक छ । पुरानो र फरक सन्दर्भमा पोस्ट गरिएको भिडियोलाई वर्तमान सन्दर्भमा पोस्ट गरिएको पाइयो । पाँच वर्ष पहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना नै भएको थिएन ।   

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

भिडियो, फडिन्द्र श्रेष्ठ
समाचार, spotlight nepal 
गुगल म्याप स्ट्रिट भ्यू, google.com/maps


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage