Fact Check
विमान दुर्घटनाको समाचार भिडियो अहिलेको होइन, पुरानो हो

दाबी: नेपालमा विमान दुर्घटनासँग सम्बन्धित सनसनीपूर्ण समाचार क्लिप सन्दर्भ लुकाएर पोस्ट गरिएको छ ।
तथ्य: भिडियोमा देखिएको घटना २४ जुलाई २०२४ मा भएको सौर्य एयरलाइन्सको दुर्घटना हो ।
समाजिक सञ्जालमा हालै एउटा भिडियो फैलिरहेको छ, नेपालमा विमान दुर्घटनासँग सम्बन्धित सनसनीपूर्ण समाचार क्लिप जोडिएको छ । उक्त भिडियोमा काठमाडौँमा विमान दुर्घटना भएको ब्रेकिङ समाचारको क्लिप जोडिएको छ ।
japhroj raja नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा हिन्दी भाषाको समाचार अंश जोडिएको छ । उक्त भिडियोमा ‘ब्रेकिङ न्युज’को संकेतसहित ‘नेपाल: काठमान्डू में विमान दुर्घटनाग्रस्त’ लेखिएको छ ।
एक साताअघि पोस्ट गरिएको भिडियोलाई करिब ५ लाख पटक हेरिएको छ । त्यस्तै यही अवधिमा दाबीसहितको भिडियोमाथि करिब ८ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।

सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको समाचारको वास्तविकता के हो त? समाचारको मूल स्रोतलाई खोजी गर्दै हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
जाँचका क्रममा हामीले फेरि एकपटक समाचार क्लिकलाई राम्ररी नियाल्यौँ । भिडियो हेर्दा त्यसमा भारतीय टेलिभिजन च्यानल रिपब्लिक भारत (Republic Bharat) को लोगो प्रष्ट देखिन्छ । यही आधारसँगै समाचार क्लिपमा लेखिएको ‘नेपाल: काठमान्डू में विमान दुर्घटनाग्रस्त’ वाक्यांशलाई जाँच गर्यौँ । जाँचको नतिजास्वरुप Republic Bharat युट्युब च्यानलमा पोस्ट गरिएको पुरानो समाचार फेला पर्यो ।
२४ जुलाई २०२४ मा पोस्ट गरिएको समाचार भिडियोको क्याप्सनमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा सौर्य एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको जानकारी दिइएको छ ।
फेला परेको तथ्यबाट पुष्टि हुन्छ कि सामाजिक सञ्जालमा अहिले सेयर भइरहेको भिडियो कुनै नयाँ घटना नभई पुरानो दुर्घटनासँग सम्बन्धित हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का अनुसार, ९ श्रावण २०८१ (२४ जुलाई २०२४) मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडान भर्ने क्रममा सौर्य एयरलाइन्सको CRJ7 विमान दुर्घटनामा परेको थियो ।
प्राधिकरणले तत्कालै विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको थियो । विज्ञप्तिमा भनिएको थियो–
‘सौर्य एअरलाइन्सको CRJ7 (Reg 9NAME) जहाज काठमाण्डूबाट स्थानीय समयानुसार बिहान ११:११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको छ । तत्काल उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिइएको छ । घटनास्थलबाट १८ जनाको शव सङ्कलन गरिएको छ भने एक जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको छ ।’
यस दुःखद दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए भने १ जना मात्र जीवितै उद्धार गरिएको थियो ।
दुर्घटना भएको समय तत्कालै रिपब्लिक भारतलगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले यो समाचार प्रसारण गरेका थिए । तर, सोही पुरानो भिडियो अहिले सन्दर्भ नदिइकन सामाजिक सञ्जालमा पोस्ट गरिएको छ ।
समाचारलाई वर्तमानको जस्तो देखाएर प्रस्तुत गर्दा, प्रयोगकर्ताहरूलाई अहिले काठमाडौंमा अर्को ठूलो विमान दुर्घटना भएको हो कि भन्ने गलत बुझाइ हुन्छ । तर वास्तविकता के हो भने, यो घटना एक वर्षअघि (२०२४ मा) घटिसकेको हो ।
निष्कर्ष
भिडियोमा देखिएको घटना २४ जुलाई २०२४ मा भएको सौर्य एयरलाइन्सको दुर्घटना हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडान भर्ने क्रममा भएको उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । रिपब्लिक भारत (Republic Bharat) टेलिभिजनले तयार पारेको पुरानो समाचारलाई वर्तमानको जस्तो प्रस्तुत गरेर पोस्ट गरिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, Republic Bharat
पुरानो विज्ञप्ति, caanepal.gov.np/news-detail
समाचार, bbc.com/nepali
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो- [email protected]