Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भन्दै पोस्ट गरिएका तस्बिर ।
तथ्य: पुराना र फरक सन्दर्भका दुर्घटनासँग सम्बन्धित तस्बिरहरुलाई सौर्य एयरलाइन्सको जहाज दुर्घटना (९ श्रावण २०८१, आज) सँग जोड्दै पोस्ट गरिएको पाइयो ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको छ । ९ श्रावण (२०८१ ) विहान काठमाडौँबाट पोखरा उडेको जहाज विमानस्थलभित्रै दुर्घटनामा परेको हो । दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गर्दै १८ जनाको मृत्यु भएको जानकारी दिएको छ ।
प्राधिकरणको विज्ञप्तिमा लेखिएको छ- ‘सौर्य एअरलाइन्सको CRJ7 (Reg 9NAME) जहाज काठमाण्डूबाट स्थानीय समयानुसार बिहान ११:११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव सङ्कलन गरिएको तथा एक घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको जानकारी गराइन्छ ।’
सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकै दिन सन्दर्भमा सामाजिक संजाल फेसबुकमा जहाज दुर्घटनाका केही तस्बिर पोस्ट गरिएको छ ।
कयौँ फेसबुक आइडी, पेज तथा ग्रुपहरुमा एउटै क्याप्सनसहितका तस्बिरहरु पोस्ट गरिएको देखिन्छ । प्रारम्भिक जाँचका क्रममा एउटै क्याप्सनसहित दुर्घटनाका तस्बिरहरु देखिने १० भन्दा बढी पोस्ट फेला परे ।
यी पोस्टहरुमा विभिन्न तस्बिरहरु जोडेर क्याप्सनमा लेखिएको छ- ‘Breaking News, त्रिभुवन विमानस्थल सौर्य एयरलाइन्सको जहाज दुर्घटना भई १८ जनाको मृत्यु, मृतकको परिवारले दुःख सहन सक्ने क्षमता मिलोस् भगवान ।’
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको भन्दै पोस्ट गरिएका सबै तस्बिरहरु आजकै दुर्घटनासँग सम्बन्धित छन् त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको भन्दै पोस्ट गरिएका मध्ये तीनवटा तस्बिरमा हामी केन्द्रीत भएका छौँ । किनकि यी तस्बिरहरु अधिकांश पोस्टमा दोहोरिएका छन् र सौर्य एयरलाइन्सको दुर्घटनासँग असम्बन्धित देखिन्छन् ।
सबैभन्दा पहिले हामीले सामाजिक संजालमा पोस्ट गरिएका तस्बिरहरुलाई एक-एक गर्दै गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप AP News मा प्रकाशित समाचार रिपोर्ट फेला पर्यो ।
१ माघ २०७९ मा काठमाडौँबाट पोखरा पुगेको यति एयरलाइन्सको एटिआर ७२-५०० जहाज (उडान नं. ६९१) अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको उक्त दुर्घटनामा परी चालक दलका चार सदस्यसहित ७२ जनाको निधन भयो ।
यही सन्दर्भमा एपी न्युजले १६ जनवरी २०२३ मा एउटा समाचार रिपोर्ट प्रकाशित गरेको पाइयो । यो रपोर्टमा उल्लेख गरिएको तस्बिर र सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको भन्दै सामाजिक संजालमा पोस्ट गरिएको तस्बिर एउटै हो । यो तस्बिर एपीका लागि अनिश भट्टराईले खिचेका हुन् ।
त्यस्तै जाँचकै क्रममा Higher Ground Times र USA Today मा प्रकाशित तस्बिर तथा समाचार फेला परेका छन् । १२ मार्च २०१८ मा बङ्लादेशको ढाकाबाट काठमाडौँ आएको युएस-बाङ्ला एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । उक्त विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरु मध्य विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको ज्यान गएको थियो भने २० जना घाइते भएका थिए ।
यही युएस-बाङ्ला दुर्घटनाका तस्बिरहरुलाई सौर्य एयरलाइन्सको जहाज दुर्घटनासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । फेला परेका समाचार अनुसार उक्त तस्बिर एपीका लागि निराजन श्रेष्ठले खिचेका थिए ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनासँग जोड्दै पोस्ट गरिएको अर्को तस्बिर पनि युएस-बाङ्ला एयरलाइन्सको जहाज दुर्घटनासँग सम्बन्धित रहेको पाइयो । १२ मार्च २०१८ मा युएस-बाङ्लाको जहाज दुर्घटनापछि उद्दारकै क्रममा अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका लागि प्रकाश माथेमाले उक्त तस्बिर खिचेका थिए । सोही तस्बिरलाई सौर्य एयरलाइन्सको जहाज दुर्घटनासँग जोड्दै पोस्ट गरिएको छ ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेज Nepal Police मा घटनाका वास्तविक तस्बिरहरु पोस्ट गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि सामाजिक संजालमा पोस्ट गरिएका केही तस्बिरहरु यस दुर्घटनासँग सम्बन्धित छैनन् । पुराना र फरक सन्दर्भका दुर्घटनासँग सम्बन्धित तस्बिरहरुलाई सौर्य एयरलाइन्सको जहाज दुर्घटना (९ श्रावण २०८१, आज) सँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
तस्बिर, AP News, January 16, 2023
तस्बिर, Higher Ground Times, March 12, 2018
तस्बिर, USA Today
तस्बिर, perma.cc
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]