Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: हवाईजहाज दुर्घटनाग्रस्त भएको दृश्य तथा तस्बिरहरुसँगै ‘काठमाडौँबाट दुबईको लागि उडेको जहाजमा आगलागी’ भएको जानकारी ।
तथ्य: फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने फरक फरक दुईवटा पुराना घटनाको जानकारी र तस्बिरलाई वर्तमान समयमा पोस्ट गरिएको छ ।
हवाईजहाज दुर्घटनाग्रस्त भएको दृश्य तथा तस्बिरहरु हालसालै सामाजिक संजालमा पोस्ट भइरहेका छन् । यस्ता पोस्टमा जोडिएको अडियोमा ‘काठमाडौँबाट दुबईको लागि उडेको जहाजमा आगलागी’ भएको जानकारी दिइएको छ ।
Motivex.7 नामक टिकटक आइडीमा पोस्ट गरिएको तस्बिरमा विमानस्थल नजिकै हवाईजहाज दुर्घटनामा परेको दृश्य देखिन्छ । साथै तस्बिरसँगै जोडिएको अडियोको सुरुवातमै यस्तो भनिएको छ- ‘हिजो राति ९ बजेर २३ मिनेट जाँदा, काठमाडौँबाट दुबईको लागि उडेको जहाजमा एकाएक आगलागी भएको दृश्य देखा पर्यो…।’

६ जुन २०२६ मा पोस्ट गरिएको सामग्रीमा ५७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेको देखिन्छ । यही अवधिमा २८ सयभन्दा बढीपटक सेयर भइसकेको दाबीसहितको पोस्टलाई लाखौँ टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् ।
त्यस्तै सोही (Motivex.7) टिकटक आइडीमा अर्को तस्बिर पोस्ट गरिएको छ । उक्त तस्बिरमा दुर्घटनाग्रस्त हवाईजहाजका पार्टपुर्जाहरु यत्रतत्र छरिएको देख्न सकिन्छ ।
यो पोस्टमा पनि सोही अडियो जोडिएको छ, जसमा ‘काठमाडौँबाट दुबईको लागि उडेको जहाजमा आगलागी’ भएको जानकारी दिइएको छ । केही दिनअघि पोस्ट गरिएको भिडियोको थमनेलमा लेखिएको छ- ‘Hijo Rati 9:23 PM, K Vayo Yesto’

के सामाजिक संजालमा पोस्ट भइरहेका तस्बिर हालसालैको हवाईजहाज दुर्घटनासँग सम्बन्धित छन् त? दुर्घटनाका तस्बिर र ‘काठमाडौँबाट दुबईको लागि उडेको जहाजमा आगलागी’ भएको जानकारीको वास्तविकता पत्ता लगाउन यो तथ्यजाँच गरियो ।
जाँचका क्रममा सबैभन्दा पहिले, दाबीसहितको अडियोमा ‘काठमाडौँबाट दुबईको लागि उडेको जहाजमा आगलागी’ भएको जानकारी जोडिएको पाइन्छ । त्यसैले ‘राति ९ बजेर २३ मिनेट’ ‘काठमाडौँबाट दुबईको लागि उडेको जहाज’ ‘आगलागी’ लगायतका वाक्यांशहरु जाँच गर्यौँ ।
जाँचको नतिजास्वरुप gorkhapatraonline.com, reuters.com, economictimes.indiatimes.com लगायतका संचार माध्यममा प्रकाशित पुराना समाचार फेला परे ।
१२ वैशाख २०८० मा प्रकाशित समाचार अनुसार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको एफजेड–५७६ उडान सम्भावित दुर्घटनाबाट जोगिएको जानकारी दिइएको छ ।
सात जना चालक दलका सदस्यसहित १७५ यात्रु बोकेको जहाज उडेको केही समयपछि पाइलटले दायाँ इन्जिनमा समस्या देखिएको जानकारी एयर ट्राफिक कन्ट्रोल टावरलाई दिएको नेपालको सरकारी संचार माध्यम गोरखापत्रले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।
घटनापछि नेपाली संचार माध्यम Kantipur TV HD लगायतले काठमाडौँबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको जानकारीसहित केही भिडियोहरु पोस्ट गरेको पाइइो । २४ अप्रिल २०२३ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी’
त्यस्तै २५ अप्रिल २०२३ मा Government of Dubai Media Office ले हवाईजहाजमा आगलागी भएको विषयमा विज्ञप्ति जारी गरेको पाइयो । फ्लाई दुबईका प्रवक्तालाई उदृत् गर्दै विज्ञप्तिमा लेखिएको छ- ‘A flydubai spokesperson: flydubai flight FZ 576 from Kathmandu Airport (KTM) has safely landed in Dubai International (DXB) at 00:11 local time after experiencing a bird strike during takeoff from Kathmandu. Our experienced flight crew followed standard operating procedure and continued the onward journey after determining that the engine was within normal operating parameters. The aircraft landed normally in Dubai and further inspection will be conducted. The safety of our passengers and crew is our top priority. We apologise for any inconvenience caused to our passengers travel schedule.’
फ्लाई दुबईले प्रष्ट पारेको छ कि काठमाडौँबाट दुबईको लागि उडेको जहाजमा चरा ठोक्किए पनि सुरक्षित अवतरण भएको थियो । यही पुरानो जानकारीको एउटा अंशलाई अतिरंजित बनाएर वर्तमान समयमा सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

थप जाँचका क्रममा, प्रस्तुत पुरानो जानकारीसँगै जोडिएका दुर्घटनाका तस्बिरको वास्तविक सन्दर्भ पत्ता लगाउने कोशिस गर्यौँ । जाँचका क्रममा हवाईजहाज दुर्घटनाग्रस्त भएका तस्बिरहरुलाई रिभर्स इमेज सर्च गर्यौँ ।
पहिलो तस्बिरको जाँच गर्दा नतिजास्वरुप aljazeera.com र edition.cnn.com ले तयार पारेका भिडियो रिपोर्टहरु फेला परे । यी रिपोर्टको थमनेलमा राखिएको तस्बिर र पुरानो समाचारमा जोडिएका तस्बिरमा समानता देखिन्छ । १३ मार्च २०१८ मा पोस्ट गरिएका रिपोर्टहरुमा नेपालको राजधानी काठमाडौँ विमानस्थल नजिकै विदेश हवाईजहाज दुर्घटना भएको जानकारी दिएको छ ।
indianexpress.com मा प्रकाशित समाचार रिपोर्ट अनुसार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा चालक दलका चार सदस्यसहित ७१ यात्रु बोकेको युएस बंगलाको हवाईजहाज दुर्घटनाग्रस्त भएको थियो । यस रिपोर्टमा प्रयोग गरिएको तस्बिर र दाबीसहितको जानकारीमा जोडिएको तस्बिर एउटै हो ।

१३ मार्च २०१८ मा प्रकाशित समाचारको मुख्य तस्बिरसँग जोडिएको क्याप्सनमा यस्तो विवरण उल्लेख गरिएको छ- Nepalese rescuers stand near a passenger plane from Bangladesh that crashed at the airport in Kathmandu, Nepal, Monday, March 12, 2018. (AP Photo/Niranjan Shreshta)
थप जाँचका क्रममा दोस्रो तस्बिर पनि युएस बङ्गला एयरलाइन्सको काठमाडौँ दुर्घटनासँग सम्बन्धित रहेको पत्ता लग्यो । gettyimages.com मा रहेको तस्बिरको क्याप्सनमा लेखिएको छ-
‘An airplane takes off at the international airport in Kathmandu on March 13, 2018, near the wreckage of a US-Bangla Airlines plane that crashed on March 12. – At least 49 people were killed and 22 injured when a Bangladeshi plane crashed and burst into flames near Kathmandu airport on March 12, in the worst aviation disaster to hit Nepal in years. Officials said there were 71 people on board the US-Bangla Airlines plane from Dhaka when it crashed into a field near the airport. (Photo by PRAKASH MATHEMA / AFP) (Photo by PRAKASH MATHEMA/AFP via Getty Images)’

हालसालै काठमाडौँबाट दुबईको लागि उडेको जहाजमा आगलागी भएको घटना घटेको छैन । अर्कोतर्फ फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने फरक फरक दुईवटा पुराना घटनाको जानकारी र तस्बिरलाई वर्तमान समयमा पोस्ट गरिएको छ । तर, फरक मितिमा भएका दुई घटनाको वास्तविक सन्दर्भ भने लुकाएर भ्रामपूर्ण सामग्री पोस्ट गरिएको देखियो ।
काठमाडौँबाट दुबईका लागि उडेको जहाजमा आगलागी भएको जानकारीसँगै पोस्ट गरिएको सामग्री भ्रामक छ । २०२३ को फ्लाई दुबईको एफ ५७६ उडानसँग सम्बन्धित पुरानो जानकारीलाई अतिरंजित बनाइएको पाइयो । अर्कोतर्फ दाबीसँग जोडिएका तस्बिरहरू भने फ्लाई दुबईको घटनासँग सम्बन्धित छैनन् । २०१८ मा काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा भएको युएस–बंगला एयरलाइन्सको हवाईजहाज दुर्घटनासँग सम्बन्धित तस्बिरलाई भ्रामक बनाइएको छ । यसरी पुराना समाचार र फरक घटनाका दृश्यहरूलाई वर्तमान सन्दर्भमा पोस्ट गरिएको पाइयो ।
विज्ञप्ति, Government of Dubai Media Office
तस्बिर, gettyimages.com
तस्बिर, aljazeera.com
तस्बिर, edition.cnn.com
समाचार, gorkhapatraonline.com
समाचार, reuters.com
समाचार, economictimes.indiatimes.com
भिडियो, Kantipur TV HD
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
February 12, 2026

Aakash Chhetri
September 5, 2025

Aakash Chhetri
February 27, 2025