Fact Check
के जेनजी आन्दोलनपछि नेपालमा टिकटक बन्द हुन लागेको हो?

दाबी: नेपालमा टिकटक फेरि बन्द हुन लागेको दाबी ।
तथ्य: पुरानो समाचार (१३ नोभेम्बर २०२३) को हो, जसलाई अहिलेको आन्दोलनसँग गलत सन्दर्भमा जोडेर पुनः प्रचार गरिएको छ ।
टिकटक सम्बन्धी दाबीसहितको सामग्री सामाजिक संजालमा तीव्र फैलिएको छ । उक्त सामग्रीमा नेपालमा टिकटक फेरि बन्द हुन लागेको दाबी गरिएको छ ।
Mukhiya.brandjii नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा जेनजी प्रदर्शनका क्रममा खिचिएका दृश्यहरु जोडिएको छ । साथै भिडियोमा दाबीसहितको अडियो पनि जोडिएको छ । उक्त अडियोमा भनिएको छ- ‘अबको एक घन्टापछि नेपालमा बन्द हुँदैछ टिकटक । टिकटक आजैदेखि बन्द हुँदैछ। प्राविधिक तयारीका लागि डेढ घण्टा लाग्नेछ ।’
११ सेप्टेम्बर २०२५ मा पोस्ट गरिएको भिडियोलाई ७३ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै दाबीसहितको सामग्री १० हजारभन्दा बढी पटक सेयर भइसकेको छ ।

त्यस्तै सोही दाबीसहितको अर्को सामग्री ८ सेप्टेम्बर २०२५ मै पोस्ट गरिएको देखिन्छ । टिकटकमा पोस्ट गरिएको उक्त सामग्रीमा १९ हजारभन्दा बढीले रियाक्ट गरिसकेका छन् । यस तथ्यांकबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्री सामाजिक संजालमा व्यापक फैलिएको छ ।
के जेनजी आन्दोलनपछि नेपालमा टिकटक बन्द हुन लागेको हो त? सामाजिक संजालमा भाइरल दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
८–९ सेप्टेम्बर २०२५ मा नेपालको राजधानी काठमाडौँ र अन्य शहरहरूमा जेनजी प्रदर्श भएको थियो । यस प्रदर्शनले हिंसात्मक मोड लिएपछि कम्तीमा ७५ जनाको मृत्यु र २ हजार ३०० भन्दा बढी घाइते भएका थिए ।
जेनजी आन्दोलनपछि नेपालमा टिकटक बन्द हुन लागेको दाबीहरु तिब्र गतिमा पोस्ट भइरहेका छन् । जसमध्ये, एउटा अडियो टिकटकमा व्यापक फैलिएको छ । अडियोमा ‘अबको केही घण्टापछि नेपालमा टिकटक बन्द हुन लागेको दाबी’ गर्ने आवाज जोडिएको छ । उक्त अडियोसँगै जेनजी आन्दोलनका क्रममा खिचिएका केही आजलागी दृश्यसमेत जोडिएको छन् ।
जाँचका क्रममा सबैभन्दा पहिले हामीले दाबीसहितको अडियोबारे पनि छानविन गर्यौँ । जाँचका क्रममा Chautari Media नामक फेसबुक पेजमा पोस्ट गरिएको पुरानो समाचार अडियो फेला पर्यो । १३ नोभेम्बर २०२३ मा पोस्ट गरेको अडियोलाई वर्तमान जेनजी आन्दोलनसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।

२७ कात्तिक २०८० मा तत्काली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपालमा टिकटकमाथिको प्रतिबन्ध लगाएको थियो । अर्कोतर्फ ६ भदौ २०८१ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । यस घटनापछि नेपालमा टिकटकमाथि प्रतिबन्धको कुनै प्रक्रिया अगाडि बढेको छैन ।
यस दाबीका विषयमा हामीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव रबिन्द्र प्रसाद पौड्याललाई सम्पर्क गर्यौँ । तर उनले टिकटक बन्द गर्ने विषयमा कुनै तयारी नभएको प्रष्ट पारे । उनले सामाजिक संजालमा फैलिएको सूचना भ्रामक रहेको बताए ।
नेपालमा टिकटकमाथिको प्रतिबन्ध हटिसकेपछि पनि नोभेम्बर २०२३ समाचार तथा अडियो गलत सन्दर्भमा फैलिने गरेको देखिन्छ । यसअघि २०२४ मा टिकटक प्रतिबन्धबारे फैलाइएको गलत दाबीको तथ्यजाँच nepal.newschecker.co ले प्रकाशित गरेको थियो ।

२८ नोभेम्बर २०२४ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको तस्बिर जोडिएको थियो । उक्त तस्बिरमा मेयर शाहले टिकटममाथि प्रतिबन्ध लागेको सांकेतिक चिन्ह आफ्नो हातमा समाएको देख्न सकिन्थ्यो । र नेपालमा टिकटक बन्द भएको दाबी गर्ने पुरानो अडियो जोडिएको थियो ।
निष्कर्ष
जेनजी आन्दोलनपछि नेपालमा टिकटक बन्द हुन लागेको दाबी भ्रामक छ । जाँचका क्रममा पाइएको अडियो पुरानो समाचार (१३ नोभेम्बर २०२३) को हो, जसलाई अहिलेको आन्दोलनसँग गलत सन्दर्भमा जोडेर पुनः प्रचार गरिएको छ । नेपाल सरकारले २०८० कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाएपनि, पछि २०८१ भदौ ६ गते सरकारले त्यो प्रतिबन्ध हटाइएको थियो । त्यसयता टिकटक बन्द गर्ने कुनै नयाँ निर्णय वा प्रक्रिया अघि बढेको छैन ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
भिडियो समाचार, Chautari Media
समाचार, gorkhapatraonline.com
तथ्यजाँच, nepal.newschecker.co
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, mocit.gov.np
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो,[email protected]


