दाबी: केही घण्टापछि नेपालमा टिकटक बन्द हुन लागेको दाबी ।
तथ्य: काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पुरानो तस्बिरलाई तोडमोड गरी टिकटममाथि प्रतिबन्ध लागेको सांकेतिक चिन्ह जोडेर सामाजिक संजालमा फैलाइएको छ ।
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा केही घण्टापछि नेपालमा टिकटक बन्द हुन लागेको दाबी गरिएको छ ।
Som Tamang नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको तस्बिर जोडिएको छ । उक्त तस्बिरमा मेयर शाहले टिकटममाथि प्रतिबन्ध लागेको सांकेतिक चिन्ह आफ्नो हातमा समाएको देख्न सकिन्छ ।
साथै तस्बिरको थमनेलमा लेखिएको छ- ‘अबको एक घण्टापछि नेपालमा बन्द हुँदैछ टिकटक । टिकटक आजैदेखि बन्द हुने भएको छ, प्राविधिक काम गर्न एक डेढ घण्टा लाग्ने र त्यसपछि बन्द ।’
२८ नोभेम्बर २०२४ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा ४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । तीन सयभन्दा बढी प्रतिक्रिया आएको सामग्री ९ सयभन्दा बढी पटक सेयर गरिएको देखिन्छ । दुई दिनअघि मात्रै पोस्ट गरिएको दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।

के नेपालमा टिकटक पुन: बन्द हुन लागेको हो त? हालसालै पोस्ट गरिएको दाबीसहितको सामग्रीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
२७ कात्तिक २०८० मा तत्काली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपालमा टिकटकमाथिको प्रतिबन्ध लगाएको थियो । सामाजिक सद्भावमा असर गरेको भन्दै मन्त्रिपरिषद् निर्णयबाट उक्त टिकटक बन्द गरिएको हो । त्यस्तै ६ भदौ २०८१ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।
टिकटकमाथिको प्रतिबन्ध हटिसकेको अवस्थामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको तस्बिरसहित टिकटक बन्द हुन लागेको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ । दाबीसहितको सामग्रीको जाँचका लागि हामीले सबैभन्दा पहिले बालेन शाहको तस्बिरको वास्तविक सन्दर्भ पत्ता लगाउने कोशिस गर्यौँ ।
‘बालेन शाह’ ‘काठमाडौँ महानगरपालिका’ ‘लौरो’ लगायतका वाक्यांश सर्च गर्यौँ । जाँचको नतिजास्वरुप samachardainik.com वेबसाइटमा प्रकाशित पुरानो समाचार फेला पर्यो । १७ बैशाख २०७९ मा प्रकाशित समाचारमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्यापर बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएको जानकारी दिइएको छ ।
फेला परेको समाचारमा उल्लेखित तस्बिर र दाबीसहितको सामग्रीमा जोडिएको तस्बिरमा केही समानता देख्न सकिन्छ । तर, वास्तविक तस्बिरमा शाहले टिकटममाथि प्रतिबन्ध लागेको सांकेतिक चिन्ह समाएका छैनन्, उनले आफ्नो चुनाव चिन्ह ‘लौरो’ अंकित कागज समाएका छन् । वास्तविक तस्बिर onlinekhabar.com मा प्रकाशित समाचारमा पनि उल्लेख गरिएको छ ।

फेला परेका समाचार तथा तस्बिरहरुबाट के प्रष्ट हुन्छ भने बालेन शाहले आफ्नो चुनाव चिन्ह ‘लौरो’ अंकित कागज समाएको तस्बिरलाई तोडमोड गरिएको छ । पुरानो तस्बिरलाई सम्पादन गरी टिकटममाथि प्रतिबन्ध लागेको सांकेतिक चिन्ह जोडिएको पाइयो ।
त्यस्तै नेपालमा टिकटक बन्द हुन लागेको दाबीबारे बुझ्न हामीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुर फोन सम्पर्क गर्यौँ । उनले टिकटक पुन: बन्द गर्ने विषयमा कुनै तयारी वा निर्णय नभएको प्रष्ट पारे । ठाकुरका अनुसार सामाजिक संजालमा फैलाइएको सामग्री भ्रामक छ ।
निष्कर्ष
नेपालमा टिकटक बन्द हुन लागेको दाबी भ्रामक छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पुरानो तस्बिरलाई तोडमोड गरी टिकटममाथि प्रतिबन्ध लागेको सांकेतिक चिन्ह जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तस्बिर, onlinekhabar.com
तस्बिर, samachardainik.com
जानकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।