दाबी: ‘गणपति बस’ भन्दै पोस्ट गरिएको भिडियोमा त्रिशुली नदीमा खसेको बसका चालक र सहचालकको शव भेटिएको जानकारी ।
तथ्य: फाल्गुन २०८० मा कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही खोलामा भएको बस दुर्घटनाको तस्बिरलाई सिमलताल दुर्घटनासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
बस दुर्घटनाग्रस्त भएको एउटा तस्बिर सामाजिक संजालमा पोस्ट गरिएको छ । साथै त्रिशुली नदीमा खसेको बसका चालक र सहचालकको शव नेपाल-भारत सिमा क्षेत्रमा फेला परेको जानकारी दिइएको छ ।
New Nepal नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा ‘गणपति बस’ भन्दै एउटा तस्बिर पोस्ट गरिएको छ । उक्त तस्बिरमा एउटा बस खोलामा खसेको अवस्थामा देख्न सकिन्छ । साथै भिडियोको क्याप्सनमा लेखिएको छ- ‘त्रिशुली नदीमा खसेको गणपति बसको चालक र खलासीको शव १०३ केएम टाढा भारत सीमा नाजिकै नारायणी नदीमा भेटिएको छ ।’
१८ जुलाई २०२४ मा पोस्ट गरिएको तस्बिरसहितको रिललाई २ लाख १९ हजारभन्दा बढी पटक हेरिएको छ । उक्त तस्बिरलाई ४२ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् ।

सोही तस्बिरलाई ‘गणपति बस’ भन्दै Md Mokim नामक टिकटक आइडीमा पनि पोस्ट गरिएको छ । तीन दिनअघि पोस्ट गरिएको तस्बिरसहितको भिडियोलाई ४२ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेको देखिन्छ ।
सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको तस्बिर त्रिशुली नदीमा भएको बस दुर्घटनासँग सम्बन्धित छ त ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
२८ असार २०८१ मा नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिकास्थित सिमलताल क्षेत्रबाट लेदोसहितको पहिरोले बगाएर दुईवटा बस त्रिशुली नदीमा खसेका थिए ।
वीरगंजबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस अझै भेटिएका छैनन् । दुर्घटनाको पछिल्लो अपडेट अनुसार त्रिशुलीमा बेपत्ता भएका बसको खोजीमा नेपाली र भारतीय टोलीले काम गरिरहेको छ ।
यसअघि त्रिशुलीमा बेपत्ता गणपति डिलक्स बसका चालक र सहचालकको शव घटनास्थलभन्दा एक सय तीन किलोमिटर तल गण्डक व्यारेज पुलनजिक फेला परेका थिए । यही जानकारीलाई आधार बनाएर सामाजिक संजालमा बस दुर्घटनाको एउटा तस्बिर पोस्ट गरिएको छ ।
जाँचका क्रममा हामीले सबैभन्दा पहिले बस दुर्घटनाको तस्बिरलाई गुगल लेन्समा सर्च गर्यौँ । नतिजास्वरुप Thehimalayan Times मा प्रकाशित एउटा समाचार फेला पर्यो । समाचार अनुसार ३ फाल्गुन २०८० मा कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।

यही सन्दर्भको समाचार Rising Nepal Daily मा समेत प्रकाशित भएको छ । कञ्चनपुर जिल्लास्थित महेन्द्रनगरबाट काठमाडौँका लागि छुटेको सुनौलो महाकाली यातायातको सुप प्र ०२–००१ ख ००९८ नम्बरको बस मध्यराति राजमार्गबाट सुरही खोलामा खसेर दुर्घटनाग्रस्त भएको समाचारमा उल्लेख छ ।
प्रस्तुत दुबै सामाचारमा उल्लेख गरिएको तस्बिर र सामाजिक संजालमा ‘गणपति बस’ भन्दै पोस्ट गरिएको तस्बिरमा समानता देखिन्छ । तर, दुबै दुर्घटना फरक-फरक स्थान र सन्दर्भका हुन् ।
थप जाँचका लागि हामीले ‘कपिलवस्तु बस दुर्घटना’ वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । नतिजास्वरुप bhairahawa television Official मा प्रकाशित भिडियो रिपोर्ट फेला पर्यो । १५ फेब्रुअरी २०२४ मा पोस्ट गरिएको रिपोर्टमा कपिलवस्तुस्थित शिवराज नगरपालिकामा दुर्घटनाग्रस्त बसका दृश्यहरुसमेत देख्न सकिन्छ ।
यो भिडियोमा देखिएका दृश्यहरु र त्रिशुली दुर्घटना भन्दै पोस्ट गरिएको तस्बिरमा पनि समानता छ । यसबाट के प्रष्ट हुन्छ भने फरक र पुरानो दुर्घटनाको तस्बिरलाई त्रिशुली दुर्घटनासँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको छ ।
निष्कर्ष
गणपति बस भन्दै सामाजिक संजालमा पोस्ट गरिएको तस्बिरले भ्रामक सन्देश प्रवाह गरेको छ । गणपति बसका चालक र सहचालकको शव भेटिएको जानकारीसँगै पोस्ट गरिएको तस्बिर सिमलताल दुर्घटना र त्रिशुलीमा हराएको गणपति डिलक्स बससँग सम्बन्धित छैन । फाल्गुन २०८० मा कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही खोलामा भएको बस दुर्घटनाको तस्बिरलाई सिमलताल दुर्घटनासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, Rising Nepal Daily
समाचार, bbc.com/nepali
समाचार, Thehimalayan Times
भिडियो, bhairahawa television Official
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]