Saturday, August 8, 2026

Fact Check

मनसुन भित्रिएसँगै पोस्ट गरियो बाढीमा बस बगेको पुरानो भिडियो 

Written By Aakash Chhetri
Jul 15, 2026
banner_image

दाबी: ४५ जना यात्रु सवार (काठमाडौँदेखि पश्चिमसम्मको लागि हिँडेको) बस आज नवलपरासीको दुम्किबास, विनयीखोलाको डाइभर्सन पार गर्दै गर्दा बाढी आएपछि..’ भिडियोसहित ।
तथ्य: २०८२ को (एक वर्ष पुरानो) घटनालाई २०८३ वर्षको मनसुनी वर्षा सक्रिय हुन थालेको सन्दर्भमा पोस्ट गरिएको पाइयो ।

भेलको बहावमा बस अड्किएको दृश्यसहितको सामग्री सामाजिक संजालमा फैलिरहेको देखिन्छ । भिडियोसँगै काठमाडौँदेखि पश्चिमसम्मका लागि हिँडेको ४५ जना यात्रु सवार बस नवलपरासीको दुम्किबासमा फसेको दाबी गरिएको छ ।

Mahendraloniay3551 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पानीको भेलको बगिरहेको बहावमा बस अड्किएको देखिन्छ । साथै भिडियोमा यात्रु भरिएको बसलाई प्रहरीले संकेत गरिरहेको पनि देखिन्छ ।    

२० जुन २०२६ मा पोस्ट गरिएको भिडियोको थमनेलमा लेखिएको छ- ‘४५ जना यात्रु सवार (काठमाडौँदेखि पश्चिमसम्मको लागि हिँडेको) बस आज नवलपरासीको दुम्किबास, विनयीखोलाको डाइभर्सन पार गर्दै गर्दा बाढी आएपछि..सबै यात्रीहरुको जीवन रक्षा गर ! भगवान’

प्रस्तुत दाबीसहितको सामग्रीलाई ११ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब ६ सय पटक सेयर भइसकेको सामग्रीमा पछिल्ला केहीदिन यता कमेन्टहरु आइरहेका छन् । 

के हो त ४५ जना यात्रु सवार बस बाढीमा अड्किएको घटना? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

१९ जुन २०२६ मा जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपाल भित्रिएको घोषणा गर्‍यो। यसको भोलिपल्ट, २० जुन २०२६ मा, काठमाडौँबाट पश्चिमतर्फ जाँदै गरेको ४५ जना यात्रु सवार बस नवलपरासीको दुम्किबासमा फसेको दाबी गर्ने भिडियो टिकटकमा पोस्ट गरिएको देखिन्छ । 

नेपालमा यस वर्षको मनसुनी वर्षा सुरु भएसँगै बाढी पहिरोजन्य घटनाहरु घटिरहेका छन् । यही वर्षाका कारण नेपालका राजमार्गहरुमा पहिरो जाने र बाढीले अवरुद्ध पार्ने क्रम जारी छ । यही सन्दर्भमा पोस्ट गरिएको भिडियोको जाँचका क्रममा सबैभन्दा पहिले ‘नवलपरासीको दुम्किबास बिनयीखोलाको डाइभर्सन’ ‘बाढी’ ‘बस’ ‘४५ जना यात्रु सवार’ लगायतका किवर्ड सर्च गर्‍यौँ । 

जाँचको नतिजास्वरुप setopati.com मा प्रकाशित पुरानो समाचार फेला पर्‍यो । ६ असार २०८२ मा प्रकाशित समाचार अनुसार पूर्वीनवलपरासीको विनयी खोलामा आएको बाढीले बस बगाएपछि सबै यात्रुको सकुशल उद्धार गरिएको थियो ।

काठमाडौँबाट नेपालगंजका लागि छुटेको भे १ ख ४०८५ नम्बरको बस मध्यराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयत्रिवेणी गाउँपालिका–१ दुम्किबासस्थित विनयी खोलामा आएको बाढीमा अड्किएको थियो । प्रस्तुत समाचारमा उल्लेखित तस्बिर र हालसालै पस्ट गरिएको दृश्यबीच समानता देख्न सकिन्छ ।

घटनाको थप जाँचका क्रममा सरकारी संचार माध्यम risingnepaldaily.com मा प्रकाशित समाचार फेला पर्‍यो । २० जुन २०२५ मा पोस्ट गरिएको समाचार अनुसार ३८ यात्रु बोकेको बस विनयी खोलामा आएको बाढीले बगाएको थियो ।

प्रस्तुत समाचारमा प्रयोग गरिएको तस्बिर र माथि उल्लेखित दाबीसहितको भिडियोमा जोडिएको दृश्यबीच समानता देख्न सकिन्छ ।  

त्यसैगरी myrepublica.nagariknetwork.comkhabarhub.com लगायतका संचार माध्यममा पनि सोही समाचार प्रकाशित भएको पाइयो । फेला परेका समाचामा बाढीले बगाएको बसमा ३८ यात्रु रहेको जानकारी दिइएको छ ।

फेला परेका समाचारहरुले के पुष्टि गर्छन् भने २०८२ को (एक वर्ष पुरानो) घटनालाई २०८३ वर्षको मनसुनी वर्षा सक्रिय हुन थालेको सन्दर्भमा पोस्ट गरिएको छ । साथै दाबीसहितको सामग्रीमा उल्लेखित यात्रु संख्या वास्तविक घटनाकोभन्दा फरक परेको देखिन्छ । 

निष्कर्ष

काठमाडौँदेखि पश्चिमका लागि हिँडेको ४५ जना यात्रु सवार बस नवलपरासीको दुम्किबासमा बाढीमा फसेको दाबीको सन्दर्भ भ्रामक छ । २०८२ साल असारमा पूर्वीनवलपरासीको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले बस बगाएको एक वर्ष पुरानो घटना भएको पुष्टि भयो । त्यसबेला बाढीमा परेको बसमा ४५ यात्रुको होइन, ३८ जना यात्रु तथ्यांक सार्वजनिक भएको थियो, सबै यात्रुहरूको सकुशल उद्धार गरिएको थियो । त्यसैले पुरानो घटनाको भिडियोलाई यस वर्ष (२०८३) को मनसुनी वर्षासँग जोडेर नयाँ जसरी प्रस्तुत गरिएको पाइयो । 

नतिजा: भ्रामक 

हाम्रा स्रोतहरू 

समाचार/तस्बिर, setopati.com
समाचार/तस्बिर, risingnepaldaily.com 
समाचार/तस्बिर, myrepublica.nagariknetwork.com 
समाचार/तस्बिर, khabarhub.com 

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

RESULT
काठमाडौँदेखि पश्चिमका लागि हिँडेको ४५ जना यात्रु सवार बस नवलपरासीको दुम्किबासमा बाढीमा फसेको दाबीको सन्दर्भ भ्रामक छ । २०८२ साल असारमा पूर्वीनवलपरासीको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले बस बगाएको एक वर्ष पुरानो घटना भएको पुष्टि भयो । त्यसबेला बाढीमा परेको बसमा ४५ यात्रुको होइन, ३८ जना यात्रु तथ्यांक सार्वजनिक भएको थियो, सबै यात्रुहरूको सकुशल उद्धार गरिएको थियो । त्यसैले पुरानो घटनाको भिडियोलाई यस वर्ष (२०८३) को मनसुनी वर्षासँग जोडेर नयाँ जसरी प्रस्तुत गरिएको पाइयो ।
image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newschecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

918

Fact checks done

FOLLOW US
imageimageimageimageimageimage