दाबी: लियोनेल मेस्सीले सुवासचन्द्र नेम्वाङप्रति श्रद्धान्जली सन्देशसहितको भिडियो पोस्ट गरेको दाबी ।
तथ्य: मेस्सीले आफ्ना प्रशंसकलाई जन्मदिनको शुभकामना दिएको भिडियोलाई तोडमोड गरी भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।
संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएको छ । भदौ २६ (२०८०) गते बिहान हृदयाघात ७१ वर्षीय नेम्वाङको निधन भएको हो ।
यही सन्दर्भमा सामाजिक संजाल टिकटकमा एउटा भिडियो सामग्री फैलिरहेको छ । उक्त भिडियोमा अर्जेन्टिनाका विश्वविख्यात फुटबल खेलाडी लियोनेल मेस्सीले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेकाे दाबी गरिएको छ ।
Reyan Karki नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा लियोनेल मेस्सी बोलिरहेको एउटा दृश्य देख्न सकिन्छ । यो भिडियोमा मेस्सीले स्पेनिस भाषामा केही बोलिरहेको देखिन्छ । भिडियोसँगै मृतक सुवासचन्द्र नेम्वाङको तस्बिर जोडिएको छ र तस्बिरसँगै थमनेलमा दाबीसहितका वाक्यांश पनि देख्न सकिन्छ ।
भिडियोको थमनेलमा लेखिएको छ- ‘मेस्सीले पनि अर्जेन्टिनाबाट हार्दिक श्रद्धाञ्जली दिएका छन्, मेस्सीले भनेका छन्, साहसी शक्दको अर्थ सुवासचन्द्र नेम्वाङ, उनकै त्यो शब्दले बनेको जस्तो लाग्थ्यो, मेरो जिन्दगी समकालीन नेतामा मलाई प्रिय लाग्ने नेता हार्दिक श्रद्धाञ्जली प्रिय नेता ।’

पोस्ट भएको एक दिन नपुग्दै प्रस्तुत दाबीसहितको सामग्रीमा करिब १० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यही अवधिमा दाबीसहितको सामग्रीलाई करिब दुई सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यसबाट के प्रस्ट हुन्छ भने दाबीसहितको सामग्री द्रुत गतिमा सामाजिक संजालमा फैलिरहेको छ ।
के साँच्चिकै लियोनेल मेस्सीले सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् त ? मेस्सीले भिडियोमा के भनेका हुन् ? यस तथ्यजाँचमार्फत् हामीले वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लेखित भिडियो सामग्रीमा लियोनेल मेस्सी पनि सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेको दाबी गरिएको छ । तर, दाबसहितको सामग्रीमा देखिएको मेस्सीको भिडियो सन्देश अधिकतम् नेपालीले बुझ्न नसकिने खालको छ । यति मात्र होइन, उक्त भिडियो कुन भाषाको हो भन्ने कुरा समेत अधिकांश नेपालीलाई पत्ता लगाउन मुस्किन पर्छ ।
यही सन्दर्भमा हामीले सबैभन्दा पहिले मेस्सीले बोलेको भाषा पत्ता लगाउन कोशिस गर्यौँ । जसका लागि उक्त भिडियोबाट हामीले अडियोलाई मात्र छुट्याएर डाउनलोड गर्यौँ । अडियो मात्र छुट्टिएपछि app.aurisai.io नामक एआइ टुलको सहयोगमा उक्त आवाजलाई शब्दमा रुपान्तरण गर्यौँ । त्यसपछि गुगल ट्रान्सलेट टुलको सहयोगमा रुपान्तरित शब्दहरुलाई चिन्ने कोशिस गर्यौँ ।
मेस्सीले बोलेको भाषा स्पेनिस रहेको पत्ता लाग्यो । उक्त भिडियोमा मेस्सीले कसैलाई श्रद्धाञ्जली व्यक्त गरेको नभई डेविड फर्नान्डेज नामक व्यक्तिलाई जन्मदिनको शुभकामना दिएको तथ्य पत्ता लग्यो ।

फेला परेको प्रस्तुत तथ्यका आधारमा हामीले हामी मूल भिडियो खोज्नतिर लाग्यौँ । यसका लाग सबैभन्दा पहिले गुगलमा ‘Messi wishes David Fernández a happy birthday’ वाक्यांशलाई सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Leo Messi नामक टिकटक आइडीमा पोस्ट गरिएको मूल भिडियो फेला पर्यो ।
तीन दिनअघि पोस्ट गरिएको उक्त भिडियोसँगै डेविड फर्नान्डेज नामक एकजना मेस्सीका फ्यानलाई मेन्सन गरिएको छ । भिडियोमा ती फ्यानले आफूलाई जन्मदिनको शुभकामना पठाउन मेस्सीसँग अनुरोध गरेको स्क्रिनसट पनि जोडिएको छ । मेस्सीको यो पोस्टबाट उनका प्रशंसकहरु खुसी भएको प्रतिक्रियाहरु भिडियोमा देख्न सकिन्छ ।

फेला परेको तथ्यबाट के पुष्टि हुन्छ भने सुवासचन्द्र नेम्वाङप्रति मेस्सीले श्रद्धाञ्जली व्यक्त गरेको गलत छ । फरक सन्दर्भ र फरक सन्देश सहितको भिडियोलाई भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको देखिन्छ । यो सामग्री तयार पार्दासम्म मेस्सीले सुवासचन्द्र नेम्वाङप्रति मेस्सीले श्रद्धाञ्जली व्यक्त गरेको कुनैपनि भिडियो इन्टरनेटमा फेला परेको छैन ।
निष्कर्ष
मृतक सुवासचन्द्र नेम्वाङप्रति लियोनेल मेस्सीले श्रद्धाञ्जली सन्देश पोस्ट गरेको दाबी गलत छ । मेस्सीले आफ्ना प्रशंसकलाई जन्मदिनको शुभकामना दिएको भिडियोलाई तोडमोड गरी भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : गलत
हाम्रा स्रोतहरू
Leo Messi
app.aurisai.io
himalkhabar
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


