के विभिन्न सञ्चार माध्यमले चर्चा गरेजस्तै जोन्सन एन्ड जोन्सनको कोभिड खोपले मानवको स्नायु प्रणालीमा एक विरल प्रकारको रोग निम्त्याउछ?
गत १२ जुलाईमा संयुक्त राज्य अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको कोभिड खोपको १५ लाख मात्रा कोभाक्स भनिने अन्तर्राष्ट्रिय सहयोग सुविधा अन्तर्गत सहयोगका रुपमा नेपाल पठाएपछि त्यस्ता प्रश्न उठाइएका हुन्। त्यो अमेरिकाले कुनै एउटा राष्ट्रलाई दिएको सबैभन्दा ठूलो खोप सहयोग भनिएको छ।
त्यसबारेमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले पनि ट्विट सन्देश लेखेका छन्।
संयोगवश त्यही दिन अमेरिकाको औषधि तथा खोप निकाय एफडीएले पनि जोन्सन एन्ड जोन्सनको कोभिड खोपका मानव स्वास्थ्यमा विरलै देखिने खालको स्नायु प्रणाली सम्बन्धी रोग गिलान बारे सिन्ड्रोम लाग्न सक्ने जोमिख रहेको चेतावनी सार्वजनिक गरिदियो। गिलान बारे सिन्ड्रोम रोगले मानिसको स्नायु प्रणालीमा असर पर्न सक्छ।
जोन्सन एन्ड जोन्सनको कोभिड खोप नेपाल आएलगत्तै एफडीएको चेतावनी आएपछि नेपाली मिडिया तथा सर्वसाधारणले सामाजिक सञ्जालमा त्यसबारे चर्चा गर्न थाले।न्यूज 24 नेपाल टेलिभिजनले त्यसबारे प्रसारण गरेको समाचारका अंशलाई नेपाली प्रयोगकर्ताले टिकटकमा समेत राखेका थिए।
टेलिभिजन प्रस्तोता भुषण दाहालले पनि १३ जुलाईमा एक ट्विट गर्दै जोन्सन एन्ड जोन्सनको कोभिड खोपको सुरक्षा चासो सम्बोधन हुनु पर्ने बताएका थिए।
उनको ट्विटमा प्रतिक्रिया दिँदै सार्वजनिक नीतिको क्षेत्रमा कार्यरत अरुप रजौरियाले न्यू योर्क टाइम्स पत्रिकाको एक समाचार अट्याच गर्दै यस्तो लेखे: “त्यस्तो असर निकै थोरै प्रतिशत मानिसमा देखिन सक्छ तर यो खोपको बेफाइदाभन्दा फाइदा धेरै छन्।”
तथ्यजाँच / प्रमाणीकरण
जोन्सन एन्ड जोन्सनको कोभिड खोपका फाइदा र बेफाइदाबारे तथ्यजाँच गर्ने क्रममा हामीले त्यो खोपसँग सम्बन्धित एफडीए, विश्व स्वास्थ्य संगठन, जोन्सन एन्ड जोन्सनका दस्ताबेज केलायौँ। साथै त्यो खोपबारे न्यू योर्क टाइम्स र बीबीसी जस्ता सञ्चारमाध्यमले प्रकाशन गरेका समाचार पनि अध्ययन गर्यौँ।
कोभिडबाट बच्न एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोपलाई सन् एफडीएले १८ वर्ष र त्योभन्दा माथि उमेरका मानिसले लगाउन योग्य भनी २०२१ को २८ फेब्रुअरीमा स्वीकृति दिएको रहेछ।
विश्व स्वास्थ्य संगठनको भनाइ
विश्व स्वास्थ्य संगठनले चाहिँ को जोन्सन एन्ड जोन्सनको खोपलाई आपतकालीन प्रयोगको लागि २०२१ को १२ मार्चमा सूचीकृत गरेको रहेछ। त्यससम्बन्धी एक प्रेस विज्ञप्तिमा त्यो खोप यूरोप, अमेरिका र अन्य देशमा प्रयोग भइरहेको छ र ७ मे सम्ममा अमेरिकामा मात्रै ८० लाख मात्रा दिइसकिएको डब्लूएचओले उल्लेख गरेको छ।
पछि २०२१ को ११ मे मा डब्लूएचओको एक उपसमितिले यदि कसैमा जोन्सन एन्ड जोन्सनका असर देखिएमा ती एस्ट्राजेनेका खोपको जस्तै हुने निष्कर्ष निकालेको थियो। डब्लूएचओको निष्कर्ष यस्तो थियो: “ जोनसन एन्ड जोनसन खोपको बेफाइदाभन्दा फाइदा निकै नै धेरै रहेको पाइएको छ।”
१ जुलाईमा जोन्सन एन्ड जोन्सनले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उसले उत्पादन गरेको कोभिडको खोप कोभिड रोकथाम गर्न ८५ प्रतिशत प्रभावकारी रहेको छ। डब्लूएचओका अनुसार “जोन्सन एन्ड जोन्सनको खोप गम्भीर रोग रोकथाम गर्न ८५ प्रतिशत प्रभावकारी र अस्पताल जानुपर्ने अवस्था रोक्न ९३ प्रतिशत प्रभावकारी पाइएको” छ।
कोभिड रोकथाम गर्ने प्रभावकारी हुने भएकैले अमेरिकामा १ करोड २५ लाखले मानिसले जोन्सन एन्ड जोन्सनको खोप लगाइसकेका छन्। त्यहाँ खोपको नकारात्मक असर निकै कम देखिएको छ। एफडीएका अनुसार त्यत्रो ठूलो जमातलाई खोप लगाइसकेपछि करिब १०० जनामा मात्र नकारात्मक असर देखिएको जनाएको छ।
यूकेमा पनि गत मे महिनामा जोन्सन एन्ड जोन्सनले सुरक्षित रहेको मान्यता पाएपछि त्यो खोपको दुई करोड मात्रा अर्डर गरिसकिएको छ। साथै भारतमा पनि थोरै परिमाणमा त्यो खोप मगाइसकिएको छ।
नेपालमा पनि २०२१ को जनवरी देखि नै कोभिडविरुद्धका एस्ट्राजेनेका (कोभिशिल्ड), भेरोसेल जस्ता खोप दिन थालिसकिएको छ जसका क्रममा २७ लाख मानिसले एक वा दुवै मात्रा लगाइसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डक्टर कृष्णप्रसाद पौडेलका अनुसार “जोन्सन एन्ड जोन्सन खोपका फाइदा नकारात्मक असर भन्दा भन्दा धेरै बढी छ। नेपालमा ल्याइएका सबै कोभिड खोपका फाइदा बढी छन्।”
सरकारले जोन्सन एन्ड जोन्सनको खोप नेपालमा रहेका विदेशी शरणार्थी, अपाङ्गता भएका व्यक्ति र सरसफाइ तथा स्वास्थ्यकर्मीलाई दिने योजना बनाएको छ।
यसैबीच अमेरिकाको न्यू योर्कमा गरिएको नयाँ अध्ययनले जोन्सन एन्ड जोन्सनको खोपले डेल्टा प्रकारविरुद्ध लड्न धेरै प्रभावकारी नहुने निष्कर्ष निकालेको छ। तैपनि अमेरिकी अधिकारीले दोस्रो मात्रा लगाउने सुझाव दिएका छैनन्।
निष्कर्ष:
जोन्सन एन्ड जोन्सनको कोभिड खोपले मानवको स्नायु प्रणालीमा एक विरल प्रकारको रोग निम्त्याउछ भन्ने विवरणहरु भ्रामक र मानिसहरुलाई भयभित तुल्याउने खालका छन् जसमा पूरै सत्यता छैन। यो खोपका बेफाइदाभन्दा फाइदा निकै धेरै छन्।
परिणाम: भ्रामक।
हाम्रा स्रोत:
न्यू योर्क टाइम्स: https://www-nytimes-com.cdn.ampproject.org/c/s/www.nytimes.com/2021/07/12/us/politics/fda-warning-johnson-johnson-vaccine-nerve-syndrome.amp.html
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co