सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री भेटिएको छ, जसमा स्वतन्त्र मेयर उम्मेदवारलाई अज्ञात समूहले मारेको, प्रहरी र जनताबीच झडप भएको दाबी गरिएको छ । #pujan_neupane नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको दृश्य देखिन्छ ।
नेपाल प्रहरीले बल प्रयोग गर्दै प्रदर्शनकारीलाई तितर-बितर गराइरहेको छ र प्रदर्शनकारीले पनि प्रतिरोध गर्दै भागिरहेको दृश्य दाबीसहितको भिडियो सामग्रीमा देखिन्छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ,‘स्वतन्त्रमा उठेका मेयरलाई अज्ञात समूहले मारेपछि प्रहरी र जनताबीच झडप ।’
नेपाल स्थानीय तह निर्वाचन २०७९ मा होमिएको छ । यो निर्वाचनमा राजनीतिक दलले आ-आफ्ना उम्मेदवारलाई अगडि सारेका छन् भने स्वतन्त्र रुपमा विभिन्न पदमा आकांक्षा राख्ने उम्मेदवारको संख्या पनि कम छैन । मुलुककै सबैभन्दा बढी जनघनत्व रहेको स्थानीयत काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरूले मनाेनयन दर्ता गराएका छन् ।
यही क्रममा माथि उल्लेखित दाबीसहितको सामग्री सामाजिक संजालमा फैलाउन खाेजिएको देखिन्छ । तर, न्युजचेकरको तथ्यजाँचबाट उक्त दाबी र भिडियोको दृश्यमा कुनै सम्बन्ध नरहेको पुष्टि भएको छ । स्वतन्त्र मेयर उम्मेदवारलाई अज्ञात समूहले मारेको दाबीसहितको सामग्री पोस्ट भएको एक दिन नपुग्दै उक्त दाबीमा साढे ५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने सेयर गर्ने प्रयोगकर्ताको संख्या पनि बढ्दो छ ।
यतिमात्र होइन, #pujan_neupane नामक टिकटक आइडीमै स्वतन्त्र मेयर उम्मेदवारलाई अज्ञात समूहले मारेको दाबीको भाग-२ समेत पोस्ट गरिएको छ । उक्त सामग्रीमा दाबी सोही रहेपछि दृश्यहरू पनि अलि फरक राखिएको छ । उक्त भडियोमा प्रदर्शनकारीले प्रहरीविरुद्ध ढुंगामुडा गरिएको दृश्य देखिन्छ र प्रहरीले पनि प्रतिरोध गर्दै प्रदर्शनकारीलाई तितर-बितर पारिरहेको देखिन्छ । स्वतन्त्र मेयर उम्मेदवारलाई अज्ञात समूहले मारेको दाबीको भाग-२ को थमनेलमा लेखिएको छ,‘मेयरलाई मारेपछि झडप, भाग-२ ।’

स्थानीय तह निर्वाचनको मुखैमा स्वतन्त्र मेयर उम्मेदवारलाई अज्ञात समूहले मारेको र आम जनता बिद्रोहमा उत्रिएको दाबी यहाँ देखिन्छ । जसलाई पुष्टि गर्नका निम्ति भिडियो क्लिपहरूसमेत देखाइएको छ । निर्वाचनको माहौल सुरु भइसकेको संवेदनशीन समयमा यस्तो दाबी खतरनाकसमेत हुने गर्दछन् । सोही कारण न्युजचेकरले उल्लेखित दाबीमाथि तथ्यजाँच गरेको छ ।
तथ्य जाँच / प्रमाणीकरण
स्वतन्त्र मेयर उम्मेदवारलाई अज्ञात समूहले मारेपछि प्रहरी र जनताबीच झडप भन्ने दाबीमा केही दृश्य पनि राखिएको छ । यही कारण उक्त दाबीलाई पुष्टि गर्न सघाइरहेका ती भिडियोको वास्तविकता जाँच गर्नु पहिलो काम थियो । न्युजचेकरले तत्काल झडपको मूल भिडियो खोज्ने काम गर्यो । तर, मूल भिडियो खोज्न सजिलो भने भएन ।
‘प्रहरी र प्रदर्शनकारीबीच झडप’, ‘काठमाडौँका सडकमा झडप’, ‘प्रहरीमाथि ढुंगामुडा प्रहार’ लगायतका अनेक वाक्यांशलाई युट्युबदेखि गुगलसम्म सर्च गर्दा केही नभेटिएपछि हामीले जहाँबाट काम सुरु गरेका थियौँ त्यहीँ अडियौँ । भिडियोलाई पुन: अवलोकन गर्दा यो दृश्य पद्मोदय मोडको हो भन्ने संकेतहरू फेला परे ।
प्रदर्शनीमार्ग र पद्मोदय मोडमा विद्यार्थी र प्रहरीबीच झडप भइरहन्छ भन्ने सामान्य बुझाइका आधारमा हामीले युट्युब, गुगल तथा सामाजिक संजालमा नयाँ किवर्ड सर्च गर्यौ । ती मध्ये ‘प्रहरी र विद्यार्थी झडप’ भन्ने वाक्यांश नेपाली र अंग्रेजी भाषामा सर्च गर्न परिणाम निस्कियो ।
माथि दाबीसहितका सामग्रीमा राखिएको दृश्यसहितको मूल भिडियो sacho sacho channel नामक युट्युब च्यानलमा भेटियो । उक्त २८ मार्च २०१७ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक अंग्रेजी भाषामा यस्तो लेखिएको छ-‘tudent and nepal police rr collage’ तर, यो झडपको कारण के भन्ने भन्ने कुरा यहाँ खुलाइएको छैन ।
झडपको कारण पत्ता लगाउन हामीले मूल भिडियोलाई फेरि एकपटक नियाल्यौँ । भिडियोमा त्यो बेला नयाँ पत्रिकामा कार्यरत पत्रकार सन्तोष भट्टराईले भिडियो खिचिरहेको दृश्य देखियो । पाँच वर्षअघि भएको उक्त झडपको कारण पत्ता लगाउन हामीले पत्रकार भट्टराईलाई सम्पर्क गर्यौँ । उनले आफू रिपोर्टिङका लागि झडपस्थलमा पुगेको न्युजचेकरलाई जानकारी दिए ।
झडपको कारणबारे पत्रकार भट्टराई भन्छन्-
०७३ सालमा आर आर क्याम्पसमा स्ववियु निर्वाचनको पक्ष र विपक्षमा विद्यार्थीहरू उत्रिएका थिए । त्यतिबेला नेकपा (एमाले) निकट अनेरास्ववियु र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु क्रान्तिकारी जसरी पनि चुनाव गर्नुपर्छ भन्नेमा थिए । माओवादी केन्द्र निकटको अनेरास्ववियु क्रान्तिकारी आन्दोलनमा थियो । त्यतिबेला एक एसएसपी र ११ जना डिएसपीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी आर आर क्याम्पसमा तैनाथ थिए । त्यतिबेला म नयाँ पत्रिकामा कार्यरत थिए । आरआरको गेटतिरबाट एक आन्दोलनकारीले प्रहरीलाई लक्षित गरि पेट्रोल बम फ्याके । प्रहरी र विद्यार्थीबीच झडपको सुरुवात यहीबाट सुरु भएको थियो । प्रहरीको बाक्लो सुरक्षा, क्रान्तिकारी र नेविसंघले चुनाव बहिष्कार गरिरहेका बेला यहाँ बाक्लो घेरामा प्रहरी तैनाथ गरिएको थियो ।
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने स्वतन्त्र मेयर उम्मेदवारलाई अज्ञात समूहले मारेपछि प्रहरी र जनताबीच झडप भन्दै तयार पारिएको सामग्रीमा प्रयोग भएको भिडियो फरक प्रसंगको हो । विद्यार्थीको निर्वाचनका विषयमा भएको झडपको दृश्यलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाउन खोजिएको देखिन्छ । अर्कोतर्फ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यो सामग्री तयार पार्दासम्म कुनैपनि स्वतन्त्र मेयर पदका उम्मेदवारको हत्या भएको जानकारी छैन ।
निष्कर्ष :
विद्यार्थीको निर्वाचनका विषयमा पाँच वर्षअघि भएको प्रहरी-विद्यार्थी झडपको भिडियोलाई स्थानीय तह निर्वाचनसँग जोडियो भ्रामक बनाइएको छ । स्वतन्त्र मेयर उम्मेदवार मारिएपछि झडप भएको दाबी भ्रामक र असत्य छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
Student and Nepal police RR Collage
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]