- भैरहवा विमानस्थलमा अचानक प्लेन दुर्घटना (विमान दुर्घटना)
- ५० जनाको ज्यान गयो, १५० जना घाइते
- घाइतेमध्ये ४५ जना सिकिस्त
- तत्काल एम्बुलेन्सबाट युनिभर्स मेडिकल लगियो
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमार्फत् उल्लेखित सूचनासहितको दाबीलाई फैलाउन खोजिएको छ । #reshurajesh नामक टिकटक आइडीमा ११ अप्रिल, ५ बजे पोस्ट गरिएको उक्त भिडियोमा विमान दुर्घटनापछि उद्दार भइरहेको दृश्य देख्न सकिन्छ ।
भिडियोको थमनेलमा लेखिएको छ– ‘प्लेन दुर्घटनाबाट ५० जनाको मृत्यु, १५० जना घाइते, भैरहवा विमानस्थलमा ।’ भिडियोमा नेपाली भाषाको अडियो पनि सुनिन्छ । समाचार शैलीमा तयार पारिएको उक्त अडियोमा माथि उल्लेखित शीर्षकहरू वाचन गरिएको छ ।

न्युजचेकरले तथ्यजाँच गरिरहँदा उक्त भिडियो पोस्ट भएको ३ घण्टा मात्रै भएको थियो । यति छोटो समयमै उक्त भिडियोमाथि करिब ६ हजार सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका थिए । यही अवधिमा उक्त भिडियोलाई करिब १ सय ५० टिकटक प्रयोगकर्ताले सेयर गरिसकेकाे देखिन्थ्यो ।
यतिमात्र होइन, पोस्ट भएको ३ घण्टामै उक्त भिडियोमा राखिएको अडियोबाट धमाधम थप भिडियोहरू पुन:निर्माणसमेत गरिएको देखिन्छ । यो तथ्यले के प्रष्ट पार्छ भने उक्त विमान दुर्घटनाको सूचनाको फैलावट तिब्र छ । हेर्नुहोस्, पुन:निर्मित भिडियो :

विमान दुर्घटनाजस्तो सम्बेदनशील विषय, त्यसमा पनि ५० जनाको ज्यान गएको र १५० जना घाइते भएको सूचना सामाजिक संजालमा द्रुत गतिमा फैलिन थालेपछि न्युजचेकरले उक्त दाबीमाथि तथ्यजाँच गर्ने जमर्को गरेको छ । तथ्यजाँचमा विमान दुर्घटना भएको उक्त सूचना गलत भएको पुष्टि हुन्छ ।
तथ्यजाँच/प्रमाणीकरण
टिकटकमा पोस्ट भएको केही बेरमै न्युजकेकरले विमान दुर्घटना भएको दाबी गर्ने उक्त भिडियो फेला पार्यो । केही समयको निरिक्षणपछि उक्त भिडियो द्रुत गतिमा फैलिन थाल्यो । त्यसपछि तथ्यजाँचको काम सुरु भयो ।
सबैभन्दा पहिले दाबीसहितको भिडियोमा राखिएको तस्बिर र अडियोको मूल स्रोत पत्ता लगाउने कामतिर हामी लाग्यौँ । यसका लागि हामीले भिडियोमा राखिएको तस्बिर र नेपालमा विमान दुर्घटना हुँदा खिचिएका तस्बिरसँगै राखेर पहिचान गर्ने कोशिस गर्यौँ । केही बेरको जाँचपछि दाबीसहितको भिडियोमा प्रयोग गरिएको तस्बिरको मूल स्रोत र सन्दर्भ फेला पर्यो ।
२०७४ सालमा ढाकाबाट काठमाडौँ आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा उक्त तस्बिर खिचिएको थियो । फागुन २८ (२०७४) गते युएस-बाङ्ला एयरसाइन्सको फ्लाइट २११ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । उक्त विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरु मध्य विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको ज्यान गएको थियो भने २० जना घाइते भएका थिए ।
सोही दुर्घटनाको तस्बिर गलत समाचारमा प्रयोग गरिएको देखिन्छ । उक्त दुर्घटनापछि उद्दारकै क्रममा अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका लागि नेपाली फोटो पत्रकार प्रकाश माथेमाले उक्त तस्बिर खिचेका थिए ।

विमान दुर्घटना भएको दाबी गर्ने भिडियोमा प्रयोग गरिएको तस्बिर नै फरक सन्दर्भको तथ्य प्राप्त भएपछि हामीले टिकटक भिडियोको मूल स्राेत प्रत्ता लगाउने काममा जुट्यौँ । भिडियोमा देखिने ccNEPALIKHABARTV को वाटरमार्कले हामीलाई भिडियोको मूल स्रोतसम्म पुर्यायो ।
NEPALI KHABAR TV नामक युट्युब च्यानल खोज्दा सोमबार नै पोस्ट गरिएको एउटा बुटेलिन भेटियो । यही बुलेटिनको एउटा अपूराे अंश टिकटकमा फैलाइएको पाइयो । उक्त अपूराे अंशले सामाजिक संजालमा गलत सूचना प्रवाह गरेको देखिन्छ । सनसनीपूर्ण ढंगले तयार पारिएको युट्युब भिडियोमा भने यो दुर्घटना एउटा अभ्यास मात्रै भएको जानकारी दिइएको छ ।
वास्तविक तथ्य पत्ता लगाउन हामीले पुन: विमान दुर्घटना सम्बन्धी किवर्ड सर्च गर्यौँ । ‘भैरहवा विमानस्थल’, ‘भैरहवा प्लेन दुर्घटना’, ‘विमान दुर्घटना भैरहवा’, ‘भैरहवा विमानस्थल, आगलागी’ लगायतका अंग्रेजी-नेपाली किवर्ड सर्च गर्दा केही परिणाम निस्किए । नेपालका केही संचार माध्यममा ‘भैरहवा विमानस्थलमा अचानक आगलागी हुँदा…’ शीर्षकसहितका ताजा समाचार भेटिए ।

Ekagaj.com मा समेत सोमबार नै (चैत २८) पोस्ट गरिएको समाचरमा उक्त शीर्षक राखिएको छ । सुरुमा दुर्घटना नै भएको हो जसरी लेखिएको समाचारको बिच भागमा ‘यी सबै घटना भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नमुनाको रुपमा आगलागी नियन्त्रण अभ्यासका लागि गरिएको थियो’ लेखिएको छ ।

विमानस्थल क्षेत्रभित्र हुने सम्भावित विमान दुर्घटना र दुर्घटनापछि हुने उद्धारको पूर्वतयारी स्वरुप आइतबार साँझ ७ बजे उक्त अभ्यास गरिएको रहेछ । तर, संचार माध्यम र युट्युब च्यानलहरूले उक्त समाचारलाई सनसनीपूर्ण तरिकाले प्रस्तुत गरेका रहेछन् । जसका कारण सामाजिक संजालमा गलत सूचना फैलिएको हो ।
निष्कर्ष
भिडियोमा दाबी गरेजस्तो भैरहवा विमानस्थल विमान दुर्घटनाका कारण ५० जनाको ज्यान गएको छैन । सम्भावित विमान दुर्घटना र दुर्घटनापछि हुने उद्धारको पूर्वतयारी स्वरुप गरिएको सांकेतिक उद्धारको अभ्यासको सूचनालाई सामाजिक संजालमा भ्रामक तरिकाले फैलाइएको छ ।
नतिजा : भ्रामक/असत्य
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]