Fact Check
संसद् भवनभित्र ‘३२ जनाको मृत्यु’ भन्दै फैलाइएको तस्बिर भ्रामक

दाबी: ‘हिजोदेखि हराइरहेका ३२ जना संसद भवनभित्र मृतु अवस्थामा भेटिएका छन् ।’
तथ्य: संसद भवनभित्र ‘३२ शव फेला’ परेको दाबीसहित फैलाइएको तस्बिर भ्रामक छ । अर्कोतर्फ संसद भवनभित्र ३२ शव फेला परेको दाबीलाई पुष्टि गर्ने कुनैपनि प्रमाण अहिलेसम्म भेटिएको छैन् ।
नेपालमा जेन्जी (GenZ) प्रदर्शनले झनै उग्ररुप दिइरहेको छ । यही सन्दर्भमा संसद भवनभित्र ३२ शव फेला परेको भन्दै एउटा तस्बिर सामाजिक संजालमा फैलाइएको छ ।
Nepali Online News नामक फेसबुक पेजको पोस्टमा मृत शरीर थुपारिएको जस्तो देखिने तस्बिर जोडिएको छ । साथै ‘हिजोदेखि हराइरहेका ३२ जना संसद भवनभित्र मृत अवस्थामा भेटिएको’ जानकारी दिने वाक्यांश लेखिएको छ ।

९ सेप्टेम्बर, ५ः४९ मा पोस्ट गरिएको दाबी ३ हजार ३ सयभन्दा बढी पटक सेयर भइसकेको छ । यो छोटो अवधि र फैलावटको आकडाले के देखाउन भने दाबीसहितको पोस्ट सामाजिक संजामा व्यापक फैलिरहेको छ ।
त्यस्तै सोही तस्बिरसहितको पोस्ट फेसबुक पेजमा पनि पोस्ट गरिएको छ । उक्त पोस्टमा लेखिएको छ- ‘हिजोदेखि हराइरहेका ३२ जना संसद भवनभित्र मृत अवस्थामा भेटिएका छन् ।’ ९ सेप्टेम्बर, ६ः४९ मा पोस्ट गरिएको दाबी र तस्बिरमा ३ हजारभन्दा बढी लाइक आएका छन् ।

के सामाजिक संजालमा फैलाइएको दाबी सत्य हो त? तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
नेपालमा २३ भदौ २०८२ (सेप्टेम्बर ८) बाट सुरु भएको जेन्जी (GenZ) प्रदर्शनले दुई दिनमै भयावह रुप लिएको छ । भ्रष्टाचार र सामाजिक संजाल प्रतिबन्ध लगायतका विरुद्धमा काठमाडौँको संसद् भवन र माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन छोटो समयमै देशभर चर्कियो । पहिलो दिन, कम्तिमा १९ जना विद्यार्थीको मृत्यु हुनपुग्यो भने ४०० जनाभन्दा बढी घाइते भए । यसको भोलिपल्ट अर्थात् २४ भदौमा नेपालकै अवस्था संकटकालीन बन्न पुग्यो ।
दोस्रो दिन विहानैदेखि कर्फ्यू उल्लङ्घन गर्दै जेन्जी प्रदर्शन चर्कियो । यसअघि, गृहमन्त्री रमेश लेखकले राजिनामा दिइसकेका थिए भने सरकारले सामाजिक संजाल प्रतिबन्ध हटाउने निर्णय गरिसकेको थियो । तरपनि प्रदर्शन झनै हिंसात्मक भइरहेको थियो । प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, मन्त्रालयहरु, प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुका निवास सार्वजनिक कार्यालयहरु र राजनीतिक दलका कार्यालयहरुमा आगो लगाएका थिए ।
यही क्रममा प्रदर्शन झनै चर्कियो, काठमाडौँको एकमात्र विमानस्थल बन्द भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । यही क्रममा संसद भवनभित्र ३२ शव फेला परेको भन्दै एउटा तस्बिर सामाजिक संजालमा फैलाइएको पाइयो ।
सबैभन्दा पहिले हामीले तस्बिरलाई गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप HinduPost नामक एक्स ह्यान्डलमा पोस्ट गरिएको तस्बिर फेला पर्यो ।
७ अगस्ट २०२४ मा पोस्ट गरिएको उक्त तस्बिर अहिले नेपालमा फैलाइएको तस्बिरभन्दा पनि राम्रो क्वालिटीको देखिन्छ । यस्तै पुराना र फरक सन्दर्भका पोस्टहरुबाट नै अहिले नेपालमा फैलिरहेको तस्बिर झिकएको तथ्य यसबाट प्रष्ट हुन्छ ।
यतिमात्र होइन, २०२४ को पुरानो पोस्ट संकास्पद देखिन्छ । किनकि उक्त पोस्टमा ग्राफिक र हिंसात्मक तस्बिरहरूको चेतावनी दिइएछ र बंगलादेशको कुनै घटनासँग जोडिएको छ । तर, फेला परेको तस्बिरलाई कुनै घटनासँग जोड्ने पक्का प्रमाण हामीले फेला पार्न सकेनौँ ।
त्यसैले फेला परेको प्रारम्भीक सामग्रीबाटै प्रष्ट हुन्छ कि फैलाइएको तस्बिर नेपालसँग सम्बन्धित छैन र अहिलेको पनि होइन । उक्त तस्बिरको फैलावटमा केही न केही समस्या छ ।

अर्कोतर्फ काठमाडौँ पछिल्ला केही घण्टाहरुमा हिंसात्मक र संवेदनशील समयबाट गुज्रिरहेको छ । प्रशासनले काठमाडौँ उपत्यकामा अधिकांश क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छ, त्यसैले यहाँ अहिले कहाँ? कति? कस्तो? घटना भएको छ भनेर पक्का प्रमाणसहित प्रमाणित गर्न एकदमै जटिल छ ।
अर्कोतर्फ काठमाडौँमा जारी प्रदर्शन सुरुवातदेखि नै (सेप्टेम्बर ८) संसद भवन र वरिवरीको क्षेत्रमा केन्द्रीत देखिन्छ । पछिल्लो दुई दिन जेन्जी प्रदर्शन मुख्य हब नयाँ बानेश्वरमै रह्यो र अन्तत: प्रदर्शनकारीले संसद भवनमा आयो लगाए । अहिले संसद् भवन जलिसकेको अवस्थामा देख्न सकिन्छ ।
निष्कर्ष
संसद भवनभित्र ‘३२ शव फेला’ परेको दाबीसहित फैलाइएको तस्बिर भ्रामक छ । अर्कोतर्फ संसद भवनभित्र ३२ शव फेला परेको दाबीलाई पुष्टि गर्ने कुनैपनि प्रमाण अहिलेसम्म भेटिएको छैन् । अहिले नेपालमा फैलाइएको तस्बिर नेपालसँग सम्बन्धित छैन । सन् २०२४ मै भारतमा संवेदनशील चेनावनीका पोस्ट गरिएको तस्बिरलाई अहिले नेपालसँग जोड्दै पोस्ट गरिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, nytimes.com
समाचार, reuters.com
समाचार, indiatoday.in
समाचार, edition.cnn.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected] ।


