दाबी: हवाई जहाज दुर्घटना भएका भिडियो तथा दृश्यहरु हालसालै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
तथ्य: पूराना सन्दर्भका विमान दुर्घटनाका भिडियो तथा दृश्यहरुलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
हवाई जहाज दुर्घटनासँग सम्बन्धित पोस्टहरु सामाजिक संजालमा फेला परेका छन् । हालसालै फैलाइएका ती पोस्टहरुमा हवाई जहाज दुर्घटना भएका भिडियो तथा दृश्यहरु जोडिएको छ ।
Kishor Kc नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा हवाई जहाज दुर्घटनाग्रस्त भएको दृश्य देख्न सकिन्छ । साथै उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘तारा एयरको प्लेन दुर्घटना, यसरी चिप्लिएर ठोक्कियो ।’

चार दिनअघि पोस्ट गरिएको उक्त भिडियो सामग्रीमा करिब साढे ६ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै एक सयभन्दा बढी प्रतिक्रिया आइसकेको उक्त भिडियोलाई करिब ४ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यो तथ्यांकले दाबीसहितको भिडियो सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको प्रष्ट पारेको छ ।
त्यसैगरी Breaking Khabar HD नामक फेसबुक पेजमा पनि हवाई जहाज दुर्घटनासँग सम्बन्धित पोस्ट फेला परेको छ । तस्बिरसहित सामाजिक संजालमा फैलाइएको उक्त पोस्टमा हवाई जहाज दुर्घटनामा परी २२ नेपालीसहित ४९ जनाको मृत्यु भएको दाबी गरिएको छ ।
१९ मार्च (२०२४) मा पोस्ट गरिएको दाबीसहितको पोस्टमा करिब ७ हजार फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । श्रद्धान्जलीसहितका २ सयभन्दा बढी प्रतिक्रिया आएको उक्त पोस्टलाई ५० भन्दा बढी फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

हवाई जहाज दुर्घटनासँग सम्बन्धित पोस्टहरुले सामाजिक संजाल प्रयोगकर्तालाई आतंकित बनाएको देखिन्छ । त्यसैले हालसालै सामाजिक संजालमा फैलाइएका दाबीसहितका भिडियो तथा तस्बिरको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले यो तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणिकरण
सबैभन्दा पहिले हामीले सामाजिक संजालमा फैलाइएको हवाई जहाज दुर्घटनासँग सम्बन्धित भिडियोको सन्दर्भ जाँच गर्यौँ । यसका लागि सबैभन्दा पहिले दाबीसहितको भिडियोलाई पुन: राम्रोसँग नियाल्यौँ । सोही भिडियोमा माइसंसार लेखिएको लोगो देख्न सकिन्छ । यही आधारमा हामीले ‘Tara Air Crash’ ‘Mysansar’ वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप Archive_MySansar नामक युट्युब च्यानलमा तारा एयरको हवाई जहाज दुर्घटनाग्रस्त भएको भिडियो फेला पर्यो । पाँच वर्षअघि अर्थात् ९ जुन २०१९ मा पोस्ट गरिएको भिडियोसँगै नेपालगन्जबाट जुम्लाका लागि उडेको तारा एयरको ट्विनओटर हवाई जहाज (9N-AEV) जुम्ला एयरपोर्टमा दुर्घटना भएको जानकारी दिइएको छ ।
जाँचका क्रममा फेला परेको भिडियो र माथि उल्लेखित दाबीसहितको भिडियोमा देखिएको एउटै हो । यही आधारमा हामीले ‘तारा एयर’ ‘जुम्ला दुर्घटना’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप पाँच वर्षअघि संचार माध्यममा प्रकाशित केही समाचार फेला परे ।
प्रस्तुत समाचारमा नेपालगञ्जबाट जुम्ला पुगेको तारा एयरको विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको र विमानमा सवार १६ यात्रु र तीन चालक दलका सदस्य सकुशल रहेको जानकारी दिइएको छ ।

फेला परेका तथ्यबाट के पुष्टि हुन्छ भने पाँच वर्षअघि तारा एयरको ट्विनओटर हवाई जहाज दुर्घटना भएको र सोही दुर्घटनाको भिडियोलाई वर्तमान सन्दर्भमा सामाजिक संजालमा फैलाइएको पाइयो ।
यही क्रममा हामीले दाबीसहितको दोस्रो दृश्यको जाँच सुरु गर्यौँ । जसमा केही तस्बिरसँगै हवाई जहाज दुर्घटनामा परी २२ नेपालीसहित ४९ जनाको मृत्यु भएको दाबी गरिएको छ । हामीले सबैभन्दा पहिले उक्त पोस्टमा रहेको दाबी ‘विमान दुर्घटना: २२ नेपालीसहित ४९ जनाको मृत्यु, २२ घाइते (नामसहित)’ शिर्षकलाई गुगल सर्च गर्यौँ
सर्चको नतिजास्वरुप onlinekhabar मा प्रकाशित एउटा समाचार फेला पर्यो । २०७४ फागुन २८ गते प्रकाशित उक्त समाचारको शिर्षक र वर्तमान समयमा दाबीसहितको सामग्रीमा जोडिएको शिर्षक हुबहु देखिन्छ ।

उक्त समाचार बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको जानकारी दिइएको छ । साथै उक्त दुर्घटनामा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको र २२ जना घाइते भएको जानकारी दिइएको छ ।
फेला परेको तथ्यबाट के पुष्टि हुन्छ भने वर्तमान सन्दर्भमा पोस्ट गरिएका हवाई जहाज दुर्घटनाका भिडियो तथा दृश्यहरु पूराना हुन् । यी कुनैपनि दृश्यहरु वर्तमान सन्दर्भसँग सम्बन्धित छैनन् ।
निष्कर्ष
हालसालै पोस्ट गरिएका हवाई जहाज दुर्घटनासँग सम्बन्धित भिडियो तथा दृश्यहरुलाई भ्रामक छन् । पूराना सन्दर्भमा भएका विमान दुर्घटनाका भिडियो तथा दृश्यहरुलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, Archive_MySansar
समाचार, Onlinekhabar
समाचार, Annapurnapost
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]