दाबी: ‘भारतदेखि नेपाल आउँदै गरेको विमान भारतको लुधियानामा दुर्घटनाग्रस्त, २१ नेपाली रहेको पुष्टि बाँकी अपडेट आउन बाँकि’ ।
तथ्य: १२ मार्च २०१८ मा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस-बाङ्ला एयरसाइन्सको जहाज दुर्घटनाको तस्बिरलाई गलत दाबीसहित पोस्ट गरिएको छ ।
जहाज दुर्घटनाग्रस्त भएको तस्बिरसहितको सामग्री सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीमा भारतबाट नेपाल आउँदै गरेको जहाज लुधियानामा दुर्घटनाग्रस्त भएको र जहाजमा २१ नेपाली रहेको दाबी गरिएको छ ।
Samir ghimire नामक टिकटक आइडीमा एउटा लिंक पोस्ट गरिएको छ, जसमा जहाज दुर्घटनाग्रस्त भएको तस्बिर पनि जोडिएको छ । २८ अगस्ट २०२४ मा पोस्ट गरिएको उक्त तस्बिरसँगै लेखिएको छ- ‘भारतदेखि नेपाल आउँदै गरेको विमान भारतको लुधियानामा दुर्घटनाग्रस्त, २१ नेपाली रहेको पुष्टि बाँकी अपडेट आउन बाँकि’ ।

सोही तस्बिर र दाबीसहितको जानकारी Bishnu Prasad Pokharel नामक फेसबुक आइडीबाट Kulman Ghising Fans Club नामक फेसबुक ग्रुपमा पनि पोस्ट गरिएको देखिन्छ । २८ अगस्ट २०२४ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीलाई ४ सयभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको जहाज लुधियानामा दुर्घटनाग्रस्त भएको हो ? दाबीसहित पोस्ट गरिएको तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
जाँचको सुरुवातमा नेपाल आउँदै गरेको विमान भारतको लुधियानामा दुर्घटनाग्रस्त भएको र जहाजमा २१ नेपाली रहेको दाबी दाबीसहित पोस्ट गरिएको तस्बिरको वास्तविक सन्दर्भ पत्ता लगाउने कोशिस गर्यौँ । यसका लागि हामीले तस्बिरको स्क्रिनसटलाई गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप bbc.com मा प्रकाशित समाचार फेला पर्यो । १३ मार्च २०१८ मा पोस्ट गरिएको समाचारमा ४९ जनाको ज्यान जानेगरी नेपालमा भएको जहाज दुर्घटनाबाट बाँचेका प्रत्यक्षदर्शीहरूले अकल्पनीय क्षणबारे वर्णन गरेको जानकारी दिइएको छ ।

समाचार रिपोर्टसँगै उल्लेख गरिएको तस्बिर र नेपाल आउँदै गरेको विमान भारतमा दुर्घटना भएको दाबीसहित पोस्ट गरिएको तस्बिरमा समानता देख्न सकिन्छ ।
थप जाँचका क्रममा abcnews.go.com मा प्रकाशित अर्को समाचार फेला पर्यो । १३ मार्च २०१८ मा प्रकाशित यो समाचारमा पनि सोही तस्बिरसहितको भिडियो संलग्न गरिएको छ ।
फेला परेको समाचार रिपोर्ट अनुसार युएस-बङ्ला एयरलाइन्सको उडान २११ जहाज नेपालको काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो ।

बंगलादेशको ढाकाबाट काठमाडौँ आएको युएस-बाङ्ला एयरसाइन्सको जहाज १२ मार्च २०१८ मा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । सोही दुर्घटनाको तस्बिर पछिल्लो समय गलत जानकारीमा प्रयोग गरिएको देखिन्छ ।
प्रस्तुत जानकारी The Bureau of Aircraft Accidents Archives (B3A) को वेबसाइटमा पनि राखिइको पाइयो । नेपाल आउँदै गरेको विमान भारतमा दुर्घटना भएको दाबीसहित पोस्ट गरिएको तस्बिर पनि यस विमान दुर्घटना अभिलेखमा राखिएको छ ।

फेला परेका तथ्य प्रमाणहरुबाट के पुष्टि हुन्छ भने दाबीसहित सामाजिक संजालमा फैलाइएको तस्बिर १२ मार्च २०१८ मा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनासँग सम्बन्धित छ । अर्को तर्फ भारतबाट नेपाल आउँदै गरेको जहाज लुधियानामा दुर्घटनाग्रस्त भएको दाबीलाई पुष्टि गर्ने कुनै तथ्य प्रमाण फेला परेनन् ।
निष्कर्ष
भारतबाट नेपाल आउँदै गरेको जहाज लुधियानामा दुर्घटनाग्रस्त भएको र जहाजमा २१ नेपाली रहेको दाबीसहित सामाजिक संजालमा फैलाएको तस्बिरले भ्रामक सन्देश प्रवाह गरेको छ । १२ मार्च २०१८ मा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस-बाङ्ला एयरसाइन्सको जहाज दुर्घटनाको तस्बिरलाई गलत दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तस्बिर/समाचार: bbc.com
तस्बिर/समाचार: abcnews.go.com
जहाज दुर्घटना विवरण: The Bureau of Aircraft Accidents Archives (B3A)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]