दाबी: विमानस्थल आइपुग्ने यात्रुका सामानहरूलाई कर्मचारीहरूले लापरवाहीपूर्वक फ्याँकिरहेकाे भिडियो नेपालकै विमानस्थलको हो ।
तथ्य: भिडियोमा देखिएको उक्त दृश्य नेपालकै विमानस्थलको रहेको दाबी भ्रामक छ । अष्ट्रेलियास्थित मेलबोर्न एयरपोर्टमा घटेको घटनालाई भ्रामक तरिकाले नेपालसँग जोडेर सामाजिक संजालमा फैलाइएको छ ।
भिडियोसहितको एउटा सामग्री सामाजिक संजालमा द्रुत गतिले फैलिरहेको छ, जसमा विमानस्थनलको दृश्यांश देख्न सकिन्छ । सो भिडियोमा विमानस्थल आइपुग्ने यात्रुका सामानहरूलाई लापरवाहीपूर्वक फ्याँकिएको छ र उक्त दृश्य नेपालकै विमानस्थलको रहेको दाबी गरिएको छ ।
kamal kaji rakhamihachha नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा तीन जना व्यक्ति देख्न सकिन्छ । विमानस्थलका तथा एयरलाइन्सका कर्मचारी जस्ता देखिने ती व्यक्तिहरूले यात्रुका सामानहरूलाई जथाभावि फ्याँकिरहेका छन् ।
भिडियोसहितको प्रस्तुत सामग्रीमा एउटा अडियो पनि जोडिएको छ, यस अडियोमा नेपालका विमानस्थलमा विदेशबाट आउने सामानहरू यसरी फ्याँकिने गरिएको दाबी गरिएको छ । साथै प्रस्तुत भिडियोलाई नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसम्म पुर्याइिदनसमेत आग्रह गरिएको छ ।
दाबीसहितको अडियोमा भनिएको छ- ‘हाम्रो नेपालको एयरपोर्टमा चाहिँ विदेशबाट आउने सामानहरू हुन्छन् नि त्यो सबै यसरी फ्याँक्दो रहेछ ल हेर त, यो पनि तरिका हो काहिँ ? अनि यहाँ कति टुट्ने फुट्ने सामानहरू हुन्छ, यस्तो पनि गर्ने हो कहिँ ? दिमाग खराब ! यो सबैले सेयर गर्नुहोला है, यसको निगरानी होस्, पर्यटनमन्त्रीसम्म पुगोस्, सुदन किराँतीसम्म पुगोस् यो भिडियो ।’
प्रस्तुत सामग्रीमा रहेको थमनेलमार्फत् समेत सोही व्यहोराकाे दाबी पेस गरिएको देखिन्छ । थमनेलमा लेखिएको छ- ‘नेपालको एयरपोर्टमा काम गर्ने कुकुरहरूको तरिका, मान्छे भएर यस्तो पक्कै गर्दैन, जनावरहरू हुन् ।’
चार दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीको फैलावट व्यापक रहेको देखिन्छ । २ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेको उक्त सामग्रीमा डेढ सयभन्दा बढी प्रयोगकर्ताले प्रतिक्रिया जनाइसकेका छन् । त्यस्तै दाबीसहितको सामग्रीलाई करिब २ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ ।

दाबीसहितको सामग्रीले नेपालका विमानस्थलमा काम गर्ने कर्मचारीबारे मात्र होइन, नेपालका विमानस्थल र त्यहाँको सुरक्षाका विषयमा पनि प्रश्न उठाएको छ । यो दाबी अति नै संवेदनशील विषय भएका कारण हामीले उक्त सामग्रीको वास्तविकताबारे जाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
उल्लेखित दाबीसहितको सामग्रीमा एउटा भिडियो देख्न सकिन्छ, जसमा विमानस्थलका कर्मचारीहरूले यात्रुहरूका सर-सामानलाई लापरबाहीपूर्वक जथाभावी फ्याँकिरहेका छन् । विमानस्थलका कर्मचारीले गरेको लापरबाहीपूर्ण व्यवहारको यो भिडियो नेपालकै विमानस्थलको रहेको दाबी उक्त सामग्रीमा गरिएको छ ।
अब हामीले प्रस्तुत भिडियो नेपालको विमानस्थलमा खिचिएको हो कि होइन भन्ने तथ्य पत्ता लगाउनुपर्ने हुन्छ । वास्तविकता पत्ता लगाउन सबैभन्दा पहिले हामीले केही किवर्ड तयार पार्यौँ र ती किवर्डलाई एक-एक गर्दै युट्युबमा सर्च गर्ने थाल्यौँ । यही खोजी श्रृंखला अन्तर्गत ‘Airport Baggage Loader’ भन्ने वाक्यांश सर्च गर्दा केही महत्वपूर्ण नतिजा भेटिए ।
किवर्ड सर्चको नतिजालाई नियाल्ने क्रममा ABC News (Australia) संचार माध्यमको युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो रिपोर्टमा हाम्रो नजर पर्यो । तीन महिनाअघि अर्थात् ४ डिसेम्बर २०२२ मा पोस्ट गरिएको उक्त भिडियो रिपोर्टको शिर्षक छ- ‘Baggage handlers filmed throwing Qantas luggage at airport stood down’ ।
विमानस्थलको कन्भेयर बेल्टमा सामानलाई जथाभावी फ्याँक्दै र हाँस्दै खिचिएको भिडियोका कारण स्विसपोर्ट कम्पनीले ‘अपमानजनक व्यवहार’ गरेको भन्दै आफ्ना कर्मचारीलाई कारबाही गरेको र उक्त भिडियो अष्ट्रेलियास्थित मेलबोर्न एयरपोर्टमा खिचिएको जानकारी उक्त भिडियो रिपोर्टमा दिइएको छ ।
फेला परेका तथ्यलाई थप पुष्टि गर्न हामीले अन्य स्रोतहरूको खोजीमा लाग्यौँ, जसका लागि हामीले माथि नै फेला परिएका विवरणको साहरा लियौँ । ‘Throwing Qantas luggage Melbourne Airport’ वाक्यांशलाई गुगलमा सर्च गर्ने वित्तिकै महत्वपूर्ण स्रोत फेला पर्यो ।
प्रस्तुत भिडियो मेलबर्न एयरपोर्टमा खिचिएको पुष्टि संचारकै लोकप्रिय संचार माध्यम Theguardian मा प्रकाशित समाचारले गरेको छ । उक्त समाचार अनुसार भिडियोमा जानाजानी सामान कन्वेयर बेल्टमा हानेको, सुटकेसहरू फ्याँकेको र एउटा झोलालाई बलपूर्वक पछारेका कारण स्विसपोर्टका ती कर्मचारीलाई छानविकका क्रममा कारबाही गरिएको थियो ।
तीन महिनाअघि अर्थात् ३ डिसेम्बर २०२२ मा Theguardian मा प्रकाशित समाचारमा लेखिएको छ-
ती पुरुषहरू क्वान्टास उप-कन्ट्र्याक्टर स्विसपोर्टका कर्मचारी हुन्, जसलाई क्वान्टासले मेलबर्न एयरपोर्टमा ‘ग्राउन्ड ह्यान्डलिंग सेवाहरू’ गर्न प्रयोग गर्दछ । ‘यो भिडियोमा भएको व्यवहार स्पष्ट रूपमा स्वीकार्य छैन, र हाम्रो अनुबंधित ग्राउन्ड ह्यान्डलरले तत्काल अनुसन्धान गरिरहेको छ,’ क्वान्टासका प्रवक्ताले गार्जियनलाई भने ।

प्रस्तुत गरिएका तथ्यबाट के पुष्टि हुन्छ भने दाबीसहितको सामग्रीमा प्रयोग गरिएको दृश्य तथा घटना नेपाली विमानस्थलको होइन । अष्ट्रेलियास्थित मेलबोर्न एयरपोर्टमा खिचिएको भिडियोलाई भ्रामक तरिकाले नेपालसँग जोडिएको पाइयो ।
निष्कर्ष
विमानस्थल आइपुग्ने यात्रुका सामानहरूलाई लापरवाहीपूर्वक फ्याँकिएको र लापरबाहीको उक्त दृश्य नेपालकै विमानस्थलको रहेको दाबी भ्रामक छ । अष्ट्रेलियास्थित मेलबोर्न एयरपोर्टमा घटेको घटनालाई भ्रामक तरिकाले नेपालसँग जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
Theguardian, 3 Dec 2022
ABC News (Australia), 4 Dec 2022
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]