Wednesday, May 14, 2025

Fact Check

चुनावको मुखमा शंकास्पद सैनिक गाडीहरु राजधानी भित्रिएको दाबी, भारतीय सेनाको नागा रेजिमेन्ट रहेको अनुमान

Written By Aakash Chhetri
Oct 14, 2022
banner_image

Claim

image

Fact

image

सामाजिक संजालमा एउटा दाबीसहितको भिडियो सामग्री फेला परेको छ । उक्त सामग्रीमा शंकास्पद सैनिक गाडीहरु नेपालको राजधानी भित्रिरहेको दाबी गरिएको छ । उक्त सामग्रीमा निर्वाचन नजिकिँदै गरेको अवस्थामा देखिएका सैनिक गाडी भारतीय पैदल सेनाको नागा रेजिमेन्टको हुनसक्ने अनुमानसमेत गरिएको छ । 

Prabinghimire7215 नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा सडकमा गुडिरहेका केही गाडीहरुकको दृश्य देखाइएको छ । उक्त गाडीमध्ये एउटा सैनिक गाडीसमेत रहेको छ । उक्त दृश्यको थमनेलमा विभिन्न आशंकायुक्त आशंकाहरु व्यक्त गरिएको देखिन्छ । सन् १९८५ अप्रिलमा सिक्किमको चुनावमा भएजस्तै नेपालको चुनावमा हुनसक्ने सन्देहसमेत दाबीसहितको सामाग्रीमा व्यक्त गरिएको छ । 

दाबीसहितको सामग्रीको थमनेलमा लेखिएको छ – ‘चुनावको मुखमा यस्ता बख्तरबन्द गाडीहरुको ठूलो संख्या राजधानी भित्रिएको छ ।  सन् १९८५ अप्रिलमा सिक्किमको चुनावकै प्रतिलिपी नेपालमा हुन लागेको त होइन ? यसो हेर्दा भारतको नागा रेजिमेन्ट जस्तो छ ।’  

४ दिनअघि पोस्ट गरिएको दाबीसहितको प्रस्तुत सामग्रीमा करिब २ सय टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने दाबीसहितको सामाग्रीलाई करिब २० टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । अहिले भिडियोको फैलावट व्यापक नभएपनि संवेदनशील दाबी भएका कारण भोलिका दिनमा उक्त भिडियोको फैलावट व्यापक हुनसक्ने सम्भावना रहन्छ ।

नेपालमा निर्वाचन नजिकिँदै गर्दा यस्ता सामग्रीहरुले मतदाता तथा उम्मेदवारको दिमागमा गहिरो असर छाड्न सक्छन् । यस गम्भीर दाबीले निर्वाचनमा असर पनि पार्न सक्दछ । यही कारण हामीले प्रस्तुत दाबीमाथि तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

नेपालमा आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मिति तोकिएको छ । यही सन्दर्भमा सामाजिक संजाल टिकटकमा शंकास्पद सैनिक गाडीहरु नेपालको राजधानी भित्रिरहेको जानकारी भिडियोमार्फत् दिइएको हो । उक्त दाबीसँगै ती सैनिक गाडीहरू भारतीय सेनाको नागा रेजिमेन्टको जस्तै देखिएकोसमेत दाबी गरिएको छ । 

नागा रेजिमेन्ट भारतीय सेनाको एक पैदल सेना रेजिमेन्ट हो। यो भारतीय सेनाको सबैभन्दा कान्छो रेजिमेन्टहरू मध्ये एक हो र यसको पहिलो बटालियन १९७० मा रानीखेत, कुमाऊँमा खडा भएको थियो । खतरनाक सैनिक रहेको मानिने यो रेजिमेन्टमा मुख्यतया उत्तरपूर्वी भारतको नागाल्याण्डबाट सैनिकहरु भर्ती गर्ने गरिन्छ ।   

सोही नागा रेजिमेन्टको गाडी नेपालमा भेटिएको दाबीसहितको सामग्रीको हामीले जाँच गर्‍यौँ । जाँचको सुरुमा हामीले सोही भिडियोलाई पटकपटक हेर्‍यौँ । जसको फलस्वरुमा हाम्रो ध्यान गाडीको नम्बरमा सोझियो । उक्त गाडीको नम्बर सामान्य गाडीहरुको भन्दा फरक देखियो । गाडीको नम्बर छ – NA १०५२ ।

नेपाली सेनाले पनि आफ्ना गाडीहरुमा यस्तैगरी NA लेखेर नम्बरहरु राख्ने गरेको तथ्य हामीले नेपाली सेनाका अन्य गाडीहरुको नम्बर हेरेर थाहा पायौँ । यो तथ्य पत्ता लागेपछि हामी नेपाली सेनासँग रहेका गाडीहरुको विवरण खोज्न थाल्यौँ । युट्युबमा ‘nepal army vehicles’ किवर्ड सर्च गर्दा केही भिडियोहरू फेला परे । 

Hamro Motors नामक युट्युब च्यानलले २३ सेप्टेम्बर २०२१ मा पोस्ट गरेको एउटा सामग्रीमा सेनाले प्रयोग गर्ने सवारी साधनको बारेमा जानकारी दिइएको छ । दाबीसहितको सामग्रीमा देखिएको गाडीसँग मिल्दोजुल्दो गाडी भेटियो । रुसमा बनेको ग्याज टाइगर नामक यो गाडीबारे जानकारी दिइएको छ ।नेपाली सेनाका तत्कालीन प्रवक्ता सन्तोष बल्लभ पौडेलको भनाई उदृत गर्दै नेपाली सेनाले उक्त गाडी प्रयोग गरिरहेको जानकारी भिडियोमा दिइएको छ ।  

थप विस्वस्त हुनका लागि हामीले अर्को सर्च गर्‍यौँ । ‘nepal army vehicle’ किवर्डलाई गुगल सर्च गर्दा हामीले नेपाली सेनाले प्रयोग गरिरहेका केही गाडीहरुको तस्बिर फेला पार्‍यौँ । जसमा भिडियोमा उल्लेखित गाडीको तस्बिर पनि भेटियो । उक्त तस्बिर संचार माध्यमहरुलेसमेत प्रयोग गरेको भेटियो । हाम्रो ध्यान फेरि गाडीको नम्बरमै गयो । त्यसको नम्बर छ – NA १०७५ ।

माथि दाबीसहितको सामग्रीमा प्रयोग देखिएको गाडीको नम्बर NA १०५२ देखिएको छ भने नेपाली सेनाको उस्तै गाडीको नम्बर NA १०७५ देखिएको छ । यस तथ्यबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्रीमा प्रयोग गरिएको गाडी नेपाली सेनाकै गाडी हो र उक्त गाडी केही कारणवंश सडकमा देखिएको हो ।

पुनश्च: नेपालको प्रयत्यक निर्वाचनमा सेना परिचान हुने गरेको छ । राष्ट्रिय सुरक्षा परिषदको भदौ १७ गतेको बैठक एवम् मन्त्रिपरिषदको भदौ २७ गतेको सिफारिस तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पत्रका आधारमा राष्ट्रपति भण्डारीले निर्वाचनका दिन सेना परिचालनको स्वीकृति दिइसकेकी छन् । सोही निर्वाचन नजिकिँदै गर्दा सेनाको आफ्ना गतिविधिहरु बढाएको देखिन्छ । यही गतिविधिलाई सामाजिक संजालमा भ्रामक तरिकाले प्रस्तुत गरिएको देखिन्छ ।

निष्कर्ष

दाबीसहितको सामग्रीमा देखिएका बख्तरबन्द गाडी नेपाली सेनाको हो । निर्वाचनको मुखमा विभिन्न आशंकासहित सामाजिक संजालमा पोस्ट गरिएको दाबीसहितको सामग्रीले भ्रामक सूचना प्रवाह गरेको छ ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Indiandefencereview

Himalkhabar

Hamro Motors

Nepalarmy


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage