पछिल्लो समय नेपालको राजधानी काठमाडौँ उपत्यका वरिपरि विस्फोटक पदार्थहरू (बम) भेटिने गरेका छन् । नेपाली सेनाले डिस्पोज गरिरहेका ती बेवारिसे अवस्थामा फेला परेका विष्फोटक सामग्रीबाट कुनै पनि मानवीय क्षति भएको छैन । यही बेला सामाजिक संजाल टिकटकमा बम विस्फोट हुँदा नेपाली नेता घाइते भएको दाबीसहित एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ ।
बम विस्फोटबाट वर्तमान प्रतिनिधि सभाका सांसद, नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन घाइते भएको दाबी गरिएको छ । अडियोमार्फत् गरिएको दाबीमा उक्त विस्फोटबाट थापासहित ११ जना घाइते भएको र थापाको पिठ्यु र टाउकाेमा चोट लागेको बताइएको छ भने थापाको टाउकोमा पट्टी बाँधिएको तस्बीर भिडियोमा चलाइएको छ ।
समाचार शैलीमा तयार पारिएको उक्त अडियोमा भनिएको छ-

‘गगन थापालाई लक्षित गरी बम विस्फोट भएको छ । विस्फोटमा परी थापासहित ११ जना घाइते भएका छन् । पिठ्यु र टाउका चोट लागेका उम्मेदवार थापा भने एक्सरे लगायतका परीक्षणपछि घर फर्किनुभएको छ । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक, दुई जनाको अवस्था गम्भीर र बाँकि सात जनाको अवस्था सामान्य रहेको चिकित्सक जनाएका छन् ।’
भिडियो फैलावटको कुरा गर्नेको हो भने पोस्ट भएको ४ दिनमै भिडियोमा १७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ४ भन्दा बढी प्रयोगकर्तनले भिडियो सेयर गरिसकेका छन् । त्यस्तै भिडियोमा कमेन्ट गर्ने टिकटक प्रयोगकर्ताको संख्या २३ सयभन्दा बढी रहेको छ ।
उक्त भिडियोमा जोडिएको अडियोबाट अरु टिकटक भिडियोहरू पुन:निर्माणसमेत भएका छन् । भिडियोसहितको अडियो पोस्ट भएको चार दिनमै उक्त अडियोमाथि १२ वटा भिडियोहरू पुन:निर्माण भइसकेकाे देखिन्छ । हेर्नुहोस् पुन:निर्मित भिडियोहरू :

तथ्यजाँच प्रमाणिकरण
राजधानीकै विभिन्न स्थानमा बस फेला परिरहेको यो समयमा सत्तारुढ दल नेपाली कांग्रेसकै प्रभावशाली नेता विस्फोटबाट घाइते बनाएको दाबीले सामाजिक संजाल प्रयोगकर्ताहरूलाई गम्भीर बनाएको छ । यही कारण हामीले उक्त दाबीबारे सत्यथ्य पत्ता लगाउन तथ्यजाँच गर्यौँ ।
टिकटक भिडियोमा भेटिएको संकेत अनुसार हामीले युट्युबमा गगन थापा र बस विस्फोटसँग सम्बन्धित विभिन्न किवर्ड सर्च गर्यौँ । जसको नतिजास्वरुप हामीले दाबीसहितको टिकटक भिडियोको मूल स्रोत फेला पार्यौँ । तर, त्यो समाचार रिपोर्ट वर्तमान समयको भने होइन ।
Sailungonline नामक युट्युब च्यानलमा चार वर्षअघि पोस्ट गरिएको उक्त समाचार रिपोर्ट नै टिकटकमा फैलिएको अहियोसहितको भिडियोको मूल स्रोत भएको हामीले पुष्टि गर्यौँ । ४ डिसेम्बर २०१७ मा पोस्ट गरिएको उक्त भिडियोको हेडलाइन राखिएको छ ‘गगनको घरदैलो कार्यक्रममा बम प्रहार, गगन उपचार पछि घर फर्के, १० जना उपचार हुदै’ ।
चार वर्षअघि पोस्ट गरिएको मूल भिडियो :
काठमाडौंको नारायणस्थानस्थित चपली हाइटमा कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरेर बम विस्फोटन गराउँदा थापासहित १२ जना घाइते भएका छन् । घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।
२०७४ मंसिरमा काठमाडौँको नारायणस्थानस्थित चपली हाइटमा नेपाली कांग्रेसका तत्कालीन प्रतिनिधि सभाका उम्मेदवार थापालाई लक्षित गरेर बम विस्फोटन भएको थियो । उक्त घटनाबारे त्यो बेलै तयार पारिएको समाचारलाई छाँटकाँटगरी अहिले फैलाइएको पाइयो । २०७४ मंसिर १८ गते इकान्तिपुर डटकममा प्रकाशित समाचार अनुसार थापाको चुनावी अभियानका क्रममा उक्त विस्फोट भएको थियो र थापासहित १२ जना घाइते भएका थिए ।
निष्कर्ष :
पूरानो समाचारको अडियोसहितको भिडियोलाई वर्तमान सन्दर्भसँग मिलाएर फैलाइएको देखियो । अडियोमार्फत् दिइएको जानकारी सही भएपनि वर्तमान समयसँग समयमा ‘भर्खरैको खबर’ जसरी फैलाइएका कारण उक्त सामग्री भ्रामक बनेको छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
Ekantipur : गगन थापालाई लक्षित गरेर चपली हाइटमा बम विस्फोट, थापासहित १२ घाइते (अपडेट)
Sailungonline : चार वर्षअघिको मूल भिडियो
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co