दाबी: नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि भर्खरै आक्रमण भएको र उनले रवि लामिछानेसँग माफी मागेको दाबी (भिडियो) ।
तथ्य: २०७४ को निर्वाचनमा थापाको र्यालीलाई काठमाडौँमा बम विस्फोट भएको थियो, सोही पुरानो सन्दर्भको भिडियोमा भ्रामक दाबी जोडेर फैलाइएको देखियो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा महामन्त्री ‘थापामाथि भर्खरै आक्रमण’ भएको र रवि लामिछानेसँग माफी मागेको दाबी गरिएको छ ।
Lokeshnewer1997 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा गगन थापा घाइते अवस्थामा देखिएका छन् । भिडियोमा थापाले आफूसँग सम्बन्धित घटनाको विवरणबारे बताइरहेका छन् । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘भर्खरै, गगन थापा माथि आक्रमण, रवि सँग माफी मागे ।’
दाबीसहितको भिडियोमा करिब ५ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । तीन सयभन्दा बढी प्रतिक्रिया आएको दाबीसहितको सामग्रीलाई हजारौँले हेरिसकेका छन् ।

के सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि हालसालै आक्रमण भएको हो त? दाबीसहित पोस्ट गरिएको भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
कांग्रेस महामन्त्री गगन थापामाथि हालसालै आक्रमण भएको र उनले रवि लामिछानेसँग माफी मागेको दाबीलाई हामीले विभिन्न तरिकाबाट जाँच गर्यौँ । जाँचका क्रममा हामीले थापाको सचिवालयमा पनि सम्पर्क गर्यौँ । यद्यपी, थापामाथि हालसालै आक्रमण भएको र उनले रवि लामिछानेसँग माफी मागेको दाबी तथ्य प्रमाणहरुबाट प्रमाणित भएन ।
अर्को दाबीसहित पोस्ट गरिएको भिडियोमा हाम्रो नजर गयो । उक्त भिडियोबारे हामीले यसअघि नै तथ्यजाँच गरेका थियौँ । मंसिर २०७४ मा काठमाडौँको नारायणस्थानस्थित चपली हाइटमा नेपाली कांग्रेसका तत्कालीन प्रतिनिधि सभाका उम्मेदवार थापालाई लक्षित गरेर बम विस्फोटन भएको थियो ।

१८ मंसिर २०७४ इकान्तिपुर डटकममा प्रकाशित समाचार अनुसार उक्त विस्फोटमा गगन थापासहित १२ जना घाइते भएका थिए । घाइते थापा केही समयमै अस्पतालबाट डिस्चार्ज भएका थिए । सोही पुरानो घटनाको भिडियोलाई वर्तमान समयमा पोस्ट गरिएको पाइयो । पायौँ ।
दाबीसहितको सामग्रीमा जोडिएको हुबहु भिडियो खोज्ने क्रममा हामीले ‘गगन थापा बम’ लगायतका वाक्यांश जाँच गर्यौँ । जाँचको नतिजास्वरुप Nagarik Network युट्युब च्यानलमा पोस्ट गरिएको पुरानो भिडियो फेला पर्यो ।
४ डिसेम्बर २०१७ मा पोस्ट गरिएको भिडियोमा गगन थापाले आफूमाथि भएको आक्रमणबारे बताइरहेका छन् । फेला परेको पुरानो भिडियो र दाबीसहितको भिडियोमा हुबहु समानता देख्न सकिन्छ । उक्त भिडियोको शिर्षकमा लेखिएको छ- ‘Gagan Thapa briefs after getting discharged’
फेला परेको तथ्यबाट के प्रष्ट हुन्छ भने रवि लामिछानेसँग माफी मागेको दाबीसहित पोस्ट गरिएको भिडियो वर्तमान सन्दर्भको होइन । अर्कोतर्फ गगन थापाले रवि लामिछानेसँग माफी मागेको दाबीलाई प्रमाणित गर्ने कुनै तथ्य प्रमाण फेला परेनन् ।
निष्कर्ष
नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि भर्खरै आक्रमण भएको र रवि लामिछानेसँग माफी मागेको दाबी भ्रामक छ । २०७४ को निर्वाचनमा काठमाडौँस्थित थापाको र्याली लक्षित बम विस्फोट भएको थियो । सोही पुरानो सन्दर्भको भिडियोमा भ्रामक दाबी जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, Nagarik Network
समाचार, ekantipur.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।