Fact Check
गगन थापा चुनाव लड्न नपाउने ‘ब्ल्याक लिस्ट’ दाबी गलत

दाबी: गगन थापालाई चुनाव लड्न नपाउने गरी निर्वाचन आयोगले ब्ल्याक लिस्टमा राखेको दाबीसहितको विवरण ।
तथ्य: निर्वाचन खर्च विवरण समयमा नबुझाउने उम्मेदवारहरूलाई जरिवाना मात्र लगाइएको थियो । यसलाई गलत व्याख्या गरेर ‘ब्ल्याक लिस्ट’ जस्ता शब्दसँग जोडेर पोस्ट गरिएको छ ।
हालसालै नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सम्बन्धित एउटा सूचना सामाजिक संजालमा फैलिएको छ । उक्त जानकारीसँगै ‘गगन थापालाई चुनाव लड्न नपाउने गरी निर्वाचन आयोगले ब्ल्याक लिस्टमा राखेको’ दाबी गरिएको छ ।

Dainik News Nepal नामक फेसबुक पेजमा गगन थापाको तस्बिर पोस्ट गरिएको छ । ३१ डिसेम्बर २०२५ मा गरिएको उक्त पोस्टमा लेखिएको छ-
‘चुनाव लड्न नपाउने गरी गगन थापालाई निर्वाचन आयोगले राख्यो ब्ल्याक लिस्टमा ! प्रधानमन्त्री बन्ने योजनाका साथ सांसदको उम्मेदवार बन्ने तयारीमा रहेका गगन थापालाई निर्वाचन आयोगले चुनाव लड्न नपाउने गरी ब्ल्याक लिस्टमा राखेको छ । २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा तोकिएको समयमा निर्वाचन खर्च नबुझाएको वा सार्वजनिक नगरेको कारण गगनलाई उम्मेदवार बन्न नपाउने गरी ब्यालक लिस्टमा राखेको हो । गगनसँगै चुनावको खर्च नबुझाउने अन्य १ हजार ८० जनालाई आयोगले ब्ल्याक लिस्टमा राखेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, विगतका निर्वाचनमा उम्मेदवार भएका सबै व्यक्तिको विवरण आयोगसँग सुरक्षित छ र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने सबैको नाम कम्प्युटर प्रणालीमार्फत मिलाएर जाँच गरिनेछ । यदि अघिल्लो चुनावमा खर्च विवरण नबुझाएको वा सार्वजनिक नगरेको पाइएको खण्डमा सो उम्मेदवारी अस्वीकार गरिनेछ ।’
त्यस्तै Serajkhan163 नामक टिकटक आइडीमा पनि सोही जानकारी सहितको सामग्री पोस्ट गरिएको छ । गगन थापा देखिने तस्बिरको थमनेलमा ‘चुनाव लड्न नपाउने गरी गगन थापालाई निर्वाचन आयोगले राख्यो ब्ल्याक लिस्टमा’ लेखिएको छ ।

तथ्यजाँच/प्रमाणीकरण
निर्वाचन आयोगले गगन थापा सहित १ हजार ८० जना नेताहरुलाई आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउनेगरी ब्ल्याक लिस्टमा राखेको दाबी हालसालै सामाजिक संजालमा फैलिएको थियो ।
इन-डेफ्थ स्टोरी र अन्नपूर्ण पोस्ट लगायतका केही चर्चित मिडिया आउटलेटहरूले पनि यस जानकारीलाई प्रस्तुत गरेको पाइयो ।
‘इन-डेप्थ स्टोरी’ In-Depth Story ले गत ३० डिसेम्बर २०२५ मा आफ्नो सामाजिक सञ्जालमा ‘गगन थापा ब्ल्याकलिस्टेड (कालोसूचीमा) !’ भन्ने शीर्षकमा एउटा सामग्री पोस्ट गरेको थियो । तर, ३१ डिसेम्बर २०२५ मा In-Depth Story ले क्षमायाचनासहित त्रुटि सच्याइएको जानकारी जारी गर्यो ।
‘इन-डेप्थ स्टोरी’ले लेखेको छ, ‘उक्त पोस्टमा निर्वाचन खर्चको विवरण नबुझाएको वा सार्वजनिक नगरेको आरोपमा निर्वाचन आयोगले गगन थापा, शेरधन राईसहित १,०८० जनालाई आगामी निर्वाचनमा उठ्न नपाउने गरी प्रतिबन्ध लगाएको उल्लेख गरिएको थियो । तथ्यहरूको विस्तृत समीक्षा र प्रमाणीकरण गर्दा उक्त दाबी गलत र भ्रमपूर्ण रहेको पाइएको छ ।’

वास्तवमा, यो दाबी प्रतिनिधिसभा निर्वाचन २०७९ पछि निर्वाचन आयोगले जारी गरेको एउटा सूचीसँग सम्बन्धित छ । १,०४३ उम्मेदवारहरूले निर्वाचन खर्च विवरण समयमा नबुझाएको वा सार्वजनिक नगरेको भन्दै आयोगले उनीहरूलाई निर्वाचन ऐन २०७३ को दफा ३१(४) अनुसार प्रतिव्यक्ति रु. १५,००० जरिवाना लगाएको थियो । यो सूचीमा गगन थापासहित नेपाली कांग्रेस, एमाले, रास्वपा लगायतका अन्य नेताहरूको नाम थियो । तर, यो जरिवाना मात्र थियो, कुनै ‘ब्ल्याक लिस्ट’ ‘कालोसूची’ र ‘निर्वाचन प्रतिबन्ध’ होइन ।

नेपालको निर्वाचन ऐन २०७३ अनुसार, उम्मेदवारहरूले चुनाव समाप्त भएको ३० दिनभित्र निर्वाचन खर्चको विवरण आयोगमा बुझाउनु पर्छ र सार्वजनिक गर्नु पर्छ । यदि समयमा नबुझाएमा वा सार्वजनिक नगरेमा रु. १५,००० जरिवाना लाग्छ । तर, यसमा आयोगले चुनाव लड्न प्रतिबन्ध लगाउने प्रावधान कसैमाथि लागू भन गरिएको छैन ।
यस विषयमा हामीले निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईसमेत सम्पर्क गर्यौँ । उनले आयोगले कुनैपनि उम्मेदवारहरूलाई ब्ल्याक लिस्टमा नराखेको प्रष्ट पारे ।
निष्कर्ष
निर्वाचन आयोगले गगन थापा वा अन्य कुनै उम्मेदवारलाई ब्ल्याक लिस्टमा राखेको वा चुनाव लड्न प्रतिबन्ध लगाएको कुनै निर्णय गरेकै छैन । यो दाबी प्रतिनिधिसभा निर्वाचन २०७९ सँग सम्बन्धित पुरानो सूचीबाट आएको हो, जसमा खर्च विवरण समयमा नबुझाउने उम्मेदवारहरूलाई जरिवाना मात्र लगाइएको थियो । यसलाई गलत व्याख्या गरेर ‘ब्ल्याक लिस्ट’ ‘कालोसूची’ र ‘निर्वाचन प्रतिबन्ध’ जस्ता शब्दसँग जोडेर प्रस्तुत गरिएको पाइयो ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
निर्वाचन आयोग, election.gov.np/np
नेपालको निर्वाचन ऐन २०७३
समाचार, english.khabarhub.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]


