दाबी: गगन थापालाई लक्षित गरी बम विस्फोटन भएको छ ।
तथ्य: वर्तमान सन्दर्भमा गन थापालाई लक्षित गरी बम विस्फोटन भएको छैन । पाँच वर्ष पुरानो घटनालाई पुन: सामाजिक संजालमा फैलाइएको पाइयो ।
सामाजिक संजालमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सम्बन्धित भिडियो सामग्री फेला परेको छ । उक्त सामग्रीमा गगन थापालाई लक्षित गरी बम विस्फोटन भएको दाबी गरिएको छ ।
S U R Y A नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो सामग्रीमा प्रतिनिधि सभाका सांसद, नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापा बम विस्फोटबाट घाइते भएको जानकारी दिइएको छ । दाबीसहितको भिडियो सामग्रीमा थापाको टाउकोमा पट्टी बाँधिएको तस्बीर देख्न सकिन्छ । साथै अडियोमार्फत् गरिएको दाबीमा उक्त विस्फोटबाट थापासहित ११ जना घाइते भएको र थापाको पिठ्यु र टाउकाेमा चोट लागेको बताइएको छ ।

दाबीसहितको सामग्री पोस्ट भएको २४ घन्टा नपुग्दै उक्त सामग्रीमा करिब १ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यही अवधिमा उक्त सामग्रीलाई २० भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । मुलुकको उच्च पदस्थ व्यक्तिमाथि बम आक्रमणको दाबी अत्यन्तै संवेदनशील विषय हो । त्यसैले प्रस्तुत दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लेखित दाबीसहितको सामग्रीमा गगन थापालाई लक्षित गरी बम विस्फोटन भएको दाबी गरिएको छ । त्यसैले हामीले सबैभन्दा पहिले बम विस्फोटको दाबीलाई जाँच गर्ने कोशिस गर्यौँ । यही दाबीसँग मिल्दोजुल्दो सामग्रीमाथि न्युजचेकरले यसअघि नै तथ्यजाँच गरिसकेको छ ।
एक वर्षअघि अर्थात् २०२२ मार्च महिनातिर नेपालको राजधानी काठमाडौँ उपत्यका वरिपरि विस्फोटक पदार्थहरू (बम) फेला परेका थिए । सोही समय गगन थापालाई लक्षित गरी बम विस्फोटन भएको दाबीसहितको सामग्री फेला परेको थियो । अहिले पनि सोही दाबीसहितको सामग्रीसँग मिल्दोजुल्दो सामग्री फेला परेको हो ।
माथि उल्लेखित दाबी अनुसार हामीले युट्युबमा गगन थापा र बस विस्फोटसँग सम्बन्धित विभिन्न किवर्ड सर्च गर्यौँ । सर्चको नतिजास्वरुप हामीले Sailungonline नामक युट्युब च्यानलमा पाँच वर्षअघि पोस्ट गरिएको समाचार रिपोर्ट फेला पार्यौँ ।
फेला परेको समाचार रिपोर्टको एउटा अंश काँटछाँट गरेर टिकटकमा फैलाइएको पाइयो । युट्युबमा पाँच वर्षअघि अर्थात् ४ डिसेम्बर २०१७ मा पोस्ट गरिएको मूल भिडियोमा गगन थापा बम विस्फोटनमा परेको जानकारी दिइएको छ ।
२०७४ मंसिरमा प्रतिनिधि सभाको निर्वाचनको प्रचारप्रसार भइरहेको थियो । काठमाडौँको नारायणस्थानस्थित चपली हाइटमा नेपाली कांग्रेसका तत्कालीन प्रतिनिधि सभाका उम्मेदवार थापालाई लक्षित गरेर बम विस्फोटन भएको थियो ।
तत्कालीन घटनासँग सम्बन्धित समाचार अनुसार गगन थापालाई लक्षित गरी बम विस्फोटन गराएको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव; समूहका ६ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरुको साथबाट चिनियाँ पेस्तोलसहित चार वटा बम समेत बरामद गरिएको थियो । उक्त घटनाबारे त्यो बेलै तयार पारिएको समाचारलाई छाँटकाँटगरी वर्तमान सन्दर्भमा सामाजिक संजालमा फैलाइएको पाइयो ।
निष्कर्ष :
वर्तमान सन्दर्भमा गन थापालाई लक्षित गरी बम विस्फोटन भएको छैन । पाँच वर्ष पुरानो घटनालाई पुन: सामाजिक संजालमा फैलाइएको पाइयो । पूरानो समाचारको अडियोसहितको भिडियोलाई वर्तमान सन्दर्भसँग मिलाएर फैलाइएको देखियो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
Sailungonline
Onlinekhabar
Nepal.newschecker.co
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]