Fact Check
Fact Check: प्रधानमन्त्री भारतबाट फर्किएपछि भारतीयले नेपाली नागरिकता लिन थालेका हुन्? वास्तविकता पढ्नुहोस्

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएसँगै भारतीय नागरिकले वंशजको आधारमा नेपाली नागरिकता लिन थालेको समाचार आएको छ ।
तथ्य: ‘नागरिकता बनाउनेमा नेपाली भन्दा भारतीय बढी’ शिर्षकको समाचारसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र भ्रमणको पूर्वसन्ध्यामा भएको नागरिकता विधेयक प्रमाणीकरणको कुनै
सम्बन्ध छैन ।
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएसँगै भारतीय नागरिकले वंशजको आधारमा नेपाली नागरिकता लिन थालेको समाचार आएको दाबी गरिएको छ ।
Rabibalenharka नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा एउटा समाचार पत्रको कटिङ पनि जोडिएको छ । उक्त समाचारको शीर्षक छ- ‘नागरिकता बनाउनेमा नेपाली भन्दा भारतीय बढी’ । यो भिडियो सामग्रीको थमनेलमार्फत् दाबी पेश गरिएको छ ।
भिडियोको थमनेलमा लेखिएको छ- ‘नागरिकता विधेयक पारित गरेर इन्डिया भ्रमण गएका प्रचण्ड नेपाल फर्किएको केही समयदेखि नै इन्डियन नागरिकले वंशजको आधारमा नागरिकता लिन थालेको र नेपालीभन्दा भारतीय बढी रहेको समाचार आएको छ ।’

६ दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा करिब २ हजार टिकटिक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । दुई सयभन्दा बढी प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेको उक्त दाबीसहितको सामग्रीलाई ७० भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । प्रस्तुत दाबीसहितको सामग्री आगामी दिनमा झनै फैलिन सक्ने यस तथ्यांकले प्रस्ट पारेछ ।
नागरिकता जस्तो महत्वपूर्ण विषयमा गरिएको दाबी अत्यन्तै संवेदनशील छ । त्यसैले प्रधानमन्त्रीसँग जोडिएको प्रस्तुत संवेदनशील दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० जेठ १७-२० गते भारत भ्रामण गरे थिए । उक्त चारदिने भारत भ्रमणमा नेपालको तर्फबाट ८८ जनाभन्दा धेरै प्रतिनिधि समेटिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पुर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पाैडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयकलाई प्रधानमन्त्रीको भारत भ्रमणको पुर्वसन्ध्यामा प्रमाणिकरण गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरण यही सन्दर्भमा दाबीसहितको सामग्री सामाजिक संजालमा फैलाइएको छ ।
माथि उल्लेखित भिडियो सामग्रीमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएसँगै भारतीय नागरिकले वंशजको आधारमा नेपाली नागरिकता लिन थालेको समाचार आएको दाबी गरिएको छ । नागरिकता विधेयक प्रमाणिकरणसँग जोडेर सामाजिक संजालमा फैलाइएको दाबीसहितको सामग्रीमा एउटा समाचार पत्रको कटिङसमेत जोडिएको देखिन्छ ।
सबैभन्दा पहिले हामीले सोही समाचार पत्रको कटिङबाट जाँचको सुरुवात गर्यौँ । उक्त समाचार पत्रको कटिङमा नागरिकता बनाउनेहरुमध्ये नेपाली भन्दा धेरै भारतीय नागरिक रहेको जानकारी दिइएको छ । उक्त कटिङमा अन्य सूचना भने प्रष्ट तरिकाले देखिएको छैन । यही कारण हामीले ‘नागरिकता बनाउनेमा नेपाली भन्दा भारतीय बढी’ भन्ने शीर्षकलाई इन्टरनेटका मध्यममा सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप भारतीयलाइ नेपाली नागरिकता दिन बन्द गर नामक फेसबुक पेजमा पोस्ट गरिएको अर्को समाचार पत्रको कटिङ फेला पर्यो । १० मार्च २०१५ मा पोस्ट गरिएको उक्त कटिङमा माथि उल्लेखित समाचार अलि फराकिलो तरिकाले देख्न सकिन्छ । तर, उक्त कटिङमा समाचार छापिएको मिति र समाचार पत्रको नाम खुलेको छैन ।

फेसबुक पेजमा पोस्ट गरिएको समाचार पत्रको कटिङमा छापिएका अन्य समाचारतर्फ हाम्रो ध्यान गर्यो । उक्त समाचारमा उक्त समाचारमा ‘अछाम जिल्ला’ ‘उपराष्ट्रपति परमानन्द झा’ ‘खुल्ला दिशामुक्त घोषणा’ लगायतका वाक्यांशहरू देख्न सकिन्छ । यी शब्दावलीबाट के अनुमान लगाउन सकिन्छ भने अछाम जिल्लालाई तत्कालीन उपराष्ट्रपति परमानन्द झाले खुल्ला दिशामुक्त घोषणा रहेका हुन कि ?
सोही अनुमानकै आधारमा हामीले गुगलमा ‘खुल्ला दिशामुक्त जिल्ला घोषणा’ ‘अछाम’ ‘उपराष्ट्रपति परमानन्द झा’ लगायतका वाक्यांश सर्च गर्यौँ । सर्चको नजिजास्वरुप रुपेश के साउँद नामक ब्लगपोस्ट वेबपेजमा प्रकाशित एउटा समाचार फेला पर्यो । आठ वर्षअघि अर्थात् ०८ जुलाई २०१५ मा प्रकाशित उक्त समाचारमा उपराष्ट्रपति परमानन्द झाले अछाम जिल्ला सदरमुकाम मंगलसेनमा आयोजित एक समारोहका बिच जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेका हुन् ।
प्रस्तुत समाचारको डेटलाइनमा २६ बैशाख २०७० को सन्दर्भ मिति राखिएको छ । यसको अर्थ उपराष्ट्रपति परमानन्द झाले अछाम जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेको समाचार छापिएको समाचार पत्रको कटिङ २०७० साल वरिपरिकै हुनसक्छ । तर, त्यो समाचार पत्रको कटिङ आठ वर्ष यताको त हुँदै होइन ।

अर्कोतर्फ हामीले ‘नागरिकता बनाउनेमा नेपाली भन्दा भारतीय बढी’ शीर्षकको समाचार लेख्ने पत्रकारलाई पनि सम्पर्क गर्यौँ । नवलपरासी जिल्लामा केन्द्रीत रहेर रिपोर्टिङ गर्ने हरि शर्माले उल्लेखित समाचार आफैले लेखेको जानकारी न्युजकेकरलाई दिएका छन् । पत्रकार शर्माका अनुसार प्रस्तुत समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित भएको थियो । तर, समाचार लेखेको मिति भने आफूले बिर्सिसकेको र उक्त समाचार २०७० सालतिर छापिएको हुनसक्ने अनुमान उनको छ ।
फेला परेका तथ्यहरूले माथि के पुष्टि गर्दछन् भने भने ‘नागरिकता बनाउनेमा नेपाली भन्दा भारतीय बढी’ शीर्षकको समाचार कम्तिमा आठ वर्ष पूरानो हो । वर्षौँ पूरानो समाचारलाई वर्तमान सन्दर्भसँग जोड्दै भ्रमक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।
निष्कर्ष :
‘नागरिकता बनाउनेमा नेपाली भन्दा भारतीय बढी’ शिर्षकको समाचारसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र भ्रमणको पूर्वसन्ध्यामा भएको नागरिकता विधेयक प्रमाणीकरणको कुनै सम्बन्ध छैन । आठ वर्षअघि प्रकाशित समाचारको कटिङलाई भ्रामक दाबीसँग जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
Ekantipur.com
Nagariknews.nagariknetwork.com
Rupeshksaud.blogspot.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]